२४ घण्टामा साम्बालाई एक करोड ४५ लाख सहयोग, अब सहयोग रोक्न आग्रह (अपिलसहित)

काठमाडौं, १२ फागुन । राष्ट्रिय फूटबल टिमकी कप्तान सावित्री भण्डारी (साम्बा) ले उपचारमा सहयोगको लागि गरेको आह्वानअनुसार २४ घण्टामा एक करोड ४५ लाख रुपैयाँ सहयोग जम्मा भएको भन्दै सहयोग बन्द गर्न अपिल गरेकी छिन् । हिजोमात्रै उनले आफ्नो उपचारकोलागि सहयोगको याचना गरेकी थिईन् । २४ घण्टा नपुग्दै भण्डारीले एक करोड ४५ लाख रुपैयाँ जम्मा भएको भन्दै अब यो रकमले कतारमा उपचारको लागि लाग्ने खर्चमात्रै नभएर आवास र यातायात पनि पुग्ने उल्लेख गरेकी छिन् ।
यस्तो छ उनको अपिल :
आज ’धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनस्र्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।
खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।
मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ–संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।
म आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु ।
यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ । म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।
मेरो तर्फबाट “धन्यवाद” मात्र पर्याप्त हुँदैन । तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ । फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ । चाँडै मैदानमा भेटौंला ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १३, बुधबार ०७:१८पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा
समाचार२०८२ फाल्गुन १३, बुधबार ०६:५७परिवर्तनको रक्षा र विकासको निरन्तरताका लागि नेकपालाई भोट : राम बहादुर भण्डारी
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १२, मंगलवार २१:०८चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुभारम्भ
समाचार२०८२ फाल्गुन १२, मंगलवार २०:४६‘जेन-जी परिषद्’ गठन गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत







