धादिङ–२ बाट निर्वाचित श्रेष्ठः भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता

धादिङ, फागुन २४ गते ।
धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोधनारायण श्रेष्ठले भ्रष्टाचारविरुद्ध कडा रूपमा लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै उहाँले त्यसका लागि सबैले मिलेर संघर्ष गर्नुपर्ने धारणा राख्नुभयो।
धादिङबेँसीमा आयोजित विजय उत्सव तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै श्रेष्ठले देश विकासको आधार “काम, नतिजा र जनताको खुसी” हुने बताउनुभयो। “काम, काम, काम; नतिजा, नतिजा, नतिजा; अनि त्यसपछि जनतामा खुसी, खुसी, खुसी आउँछ,” भन्ने सूत्रका आधारमा आफूले काम गर्ने उहाँको भनाइ थियो ।
श्रेष्ठले नागरिकलाई राजनीतिक नेतृत्वप्रति प्रश्न गर्न नडराउन आग्रह गर्दै जनताको निरन्तर निगरानीले मात्र नेतृत्वलाई सही मार्गमा राख्न सक्ने बताउनुभयो । नेताको प्रशंसा मात्र नगरी आवश्यक पर्दा कडा प्रश्न गर्न नागरिकलाई उहाँले आग्रह गर्नुभयो ।
नागरिकसँग प्रत्यक्ष संवाद र सुझाव संकलनका लागि (bodhanarayanshrestha.com) नामक वेबसाइट सञ्चालनमा ल्याइएको जानकारी पनि उहाँले दिनुभयो। उक्त वेबसाइटमार्फत नागरिकले आफ्ना समस्या, सुझाव तथा गुनासा पठाउन सक्ने र प्राप्त सुझावलाई सम्बन्धित निकायमा उठाइने उहाँले बताउनुभयो।
कार्यक्रममा श्रेष्ठले तत्काल सुरु गरिने तीन प्राथमिक कार्यको घोषणा पनि गर्नुभयो। युवाको सक्रियतामा धादिङ रिसर्च एण्ड इनोभेसन सेन्टर (DRIC) स्थापना गर्ने, स्वास्थ्य बीमाको पहुँच विस्तार गर्ने र धादिङ जिल्ला अस्पतालको सेवा प्रणाली सुधार गरी स्तरोन्नति गर्ने योजना उहाँले सार्वजनिक गर्नुभयो।
श्रेष्ठका अनुसार प्रस्तावित रिसर्च तथा इनोभेसन सेन्टरले कृषि उत्पादन, बजार व्यवस्थापन, पर्यटन, सूचना प्रविधि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्दै नयाँ सम्भावनाको खोजी गर्नेछ। स्थानीय उत्पादनको ब्रान्डिङ र बजार व्यवस्थापनसँगै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उक्त केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो।
स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्य बीमाको दायरा विस्तार गरिने तथा दुर्गम क्षेत्रका नागरिकलाई टेलिमेडिसिनमार्फत सेवा उपलब्ध गराउने सम्भावनाबारे अध्ययन गरिने उहाँको भनाइ छ। साथै धादिङ जिल्ला अस्पतालमा न्यूनतम सेवा सुविधादेखि सेवा व्यवस्थापनसम्म सुधार गरी स्तरोन्नति गर्ने योजना रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा श्रेष्ठले चुनावी अभियानमा खटिएका कार्यकर्ता, युवाहरू तथा विदेशबाट सहयोग गर्ने समर्थकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। निर्वाचन सकिएपछि कसले मत दियो वा दिएन भन्ने आधारमा विभेद नगरी सबै नागरिकलाई समान रूपमा सेवा गर्ने उहाँको प्रतिबद्धता थियो।
उहाँले व्यक्तिगत स्वार्थका लागि नीतिगत भ्रष्टाचार गराउने प्रयास नगर्न चेतावनी दिँदै देश र समाजको हितमा मात्र सहकार्य गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो। पाँच वर्षको कार्यकालमा परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास कायम राख्न निरन्तर मेहनत गर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








