भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन

भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन

काठमाडौँ- भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ ।

मानन्धरलाई अकस्मात हृदयघातसँगै शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि नै चिकित्सकहरूले उहाँलाई मृत घोषित गरेको उहाँका परिवारका सदस्यले राष्ट्रिय समाचार समिति (रासस)लाई जानकारी दिनुभयो ।

उहाँ ‘इनाप’ साप्ताहिकबाट पत्रकारितामा संलग्न हुनुभएको र पछि ‘विश्वभूमि’ दैनिक प्रकाशनबाट पूर्णकालीन पत्रकारका रूपमा काम गर्नुभएको थियो । पछि सन्ध्या टाइम्स दैनिक र त्यसपछि नेपाल भाषा टाइम्स दैनिकमा सम्पादक भएर काम गर्नुभयो । ‘अप्सरा’ फिल्मम्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘थाय्भु’ लगायतका पत्रपत्रिकाको सम्पादक मण्डलमा बसी उहाँले केही समय काम गर्नुभयो ।

उहाँले विसं २०४६ मा जनआन्दोलनको समयमा प्रहरीको कडा घेराभित्र वीर अस्पतालमा भर्ना भइराख्नुभएका जनआन्दोलनका कमाण्डर गणेशमान सिंहसँग साथी सुजिव बज्राचार्यसँगै डाक्टरको भेषमा गई अन्तर्वार्ता लिनुभएको थियो । जुन धेरै चर्चित भएको थियो ।

स्व मानन्धरको ‘नेपालभाषा आन्दोलन’, ‘नेपाल संवत् आन्दोलन’, नेवाः संस्कृतिका साथसाथै विविध विषयमा नेपालभाषा र नेपालीमा लेख रचना प्रकाशित छ । उहाँले गोरखापत्र, कान्तिपुर, नेपाल समाचारपत्र, रातोपाटी, सेतोपाटी, नागरिक दैनिकमा स्तम्भकारका रूपमा समेत लेख रचना लेख्नुका साथै जनआस्थालगायत विविध नेपालभाषाका पत्रपत्रिकामा व्यङ्ग्यकारका रूपमा समेत लेख लेख्दै आउनुभएको थियो ।

स्व मानन्धरको ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’(आधुनिक कविता सङ्ग्रह), ‘पद्मरत्न तुलाधर’ (नेपाल भाषाका अग्रजका साथसाथै मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) प्रकाशित भएको छ । साथसाथै उहाँको सोधपत्र ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’ समेत प्रकाशित छ । उहाँले डा अजयक्रान्ति शाक्य र सन्ध्या बज्राचार्यसँग मिलेर ‘इन्द्रजात्रा’/‘येँयाः’ पुस्तकसमेत लेख्नुभएको छ  ।

स्व मानन्धरको भोलि (बुधबार) बिहान काठमाडौँ इन्द्रयणी घाटमा अत्यष्टि गरिने जानकारी परिवारले दिएको छ । विसं २०२३ कात्तिकमा जन्मनुभएका मानन्धरका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   8   =  

Protected by Spam Master