नीलकण्ठ बहुमुखी क्याम्पसको दोस्रो दीक्षान्त समारोह सम्पन्न, ९० जना विद्यार्थी दीक्षित

धादिङ, १३ चैत्र ।
नीलकण्ठ बहुमुखी क्याम्पसको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । नीलकण्ठ बहुमुखी क्याम्पसले धादिङबेसीस्थित क्रिक रिसोर्टमा सञ्चालन गरेको समारोहमा ९० जना विद्यार्थीलाई दीक्षित भएका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खुल्ला विश्व विद्यालयकी उपकुलपति डा. शिलु मानन्धर बज्राचार्य ले दीक्षित विद्यार्थीलाई बधाई दिँदै शिक्षा जीवनको प्रकाश र ऊर्जाको स्रोत भएको बताउनुभयो।
उच्च शिक्षा प्राप्त गर्ने अवसर सीमित हुने भएकाले यस उपलब्धिलाई जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै उहाँले ज्ञान र सीपलाई केवल प्रमाणपत्र वा रोजगारीमा सीमित नगरी समाज र राष्ट्रको हितमा उपयोग गर्न आग्रह गर्नुभयो।
उहाँले सफल जीवनका लागि सकारात्मक सोच, नैतिक आचरण, आत्मसम्मान, विवेकशीलता र राष्ट्रप्रेम आवश्यक रहेको बताउँदै सफ्ट स्किल्स तथा व्यवहारिक सीप विकासमा जोड दिनुभयो । शिक्षाले सक्षम मात्र नभई जिम्मेवार र मानवीय व्यक्तित्व निर्माण गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो।
कार्यक्रमका विशेष अतिथि नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले अभिभावक र गुरुको अपेक्षा पूरा गर्दै इमानदारी र मेहनतका साथ अघि बढे जीवन सफल हुने बताउनुभयो। उहाँले शिक्षामा पर्याप्त बजेट अभावका कारण अपेक्षित प्रगति हुन नसकेको उल्लेख गर्नुभयो।
नगरपालिकाले कक्षा ० देखि १२ सम्म निःशुल्क शिक्षा लागू गर्दै आफ्नै बजेटको ४० प्रतिशतभन्दा बढी हिस्सा शिक्षामा विनियोजन गरेको जानकारी दिनुभयो ।
उहाँले एमबीबीएस अध्ययनका लागि एक लाख, प्राविधिक शिक्षाका लागि ४० हजार र सामाजिक विषय अध्ययनका लागि वार्षिक सहयोग प्रदान गर्दै आएको बताउनुभयो । सामुदायिक क्याम्पस व्यवस्थापन र निगरानीमा स्पष्टता आवश्यक रहेको औँल्याउँदै प्रदेश सरकारको भूमिका प्रभावकारी हुनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
नीलकण्ठ बहुमुखी क्याम्पसलाई जिल्लाकै गौरवको रूपमा उल्लेख गर्दै नगर प्रमुख ढुंगानाले यहाँबाट दीक्षित विद्यार्थीहरूले भविष्यमा क्याम्पस र नगरको प्रतिष्ठा अझ उचो बनाउने विश्वास व्यक्त गर्नुभयो।
क्याम्पस सञ्चालक समितिका सदस्य शम्भु कुमार श्रेष्ठ ले क्याम्पसले स्नातकोत्तर तहसम्म विद्यार्थी उत्पादन गर्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै दीक्षित विद्यार्थीहरूले व्यक्तिगत उन्नतिसँगै राष्ट्रका लागि योगदान गर्ने भावना विकास गर्नुपर्ने बताउनुभयो।
क्याम्पस प्रमुख मुरारी अधिकारीले क्याम्पसलाई समाज परिवर्तनको केन्द्रका रूपमा व्याख्या गर्दै आर्थिक अभाव र सामाजिक चुनौतीका बीच पनि विद्यार्थीहरूले अध्ययन पूरा गर्नु उल्लेखनीय उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार क्याम्पसमा छात्राहरूको उच्च सहभागिता सामाजिक रूपान्तरणको सकारात्मक संकेत हो।
प्रमुख अधिकारीका अनुसार क्याम्पसले हालसम्म हजारौँ विद्यार्थी उत्पादन गरिसकेको छ, जसले शिक्षा, प्रशासन, अनुसन्धान र सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन्। यसले क्याम्पसलाई केवल शैक्षिक संस्था नभई समाज परिवर्तनको शक्ति केन्द्रका रूपमा स्थापित गरिरहेको उहाँले बताउनुभयो ।
शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै दक्ष प्राध्यापक, अनुसन्धानमुखी अभ्यास र विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाइएको उहाँले जानकारी दिनुभयो । साथै, जीवनोपयोगी सीप, नैतिक मूल्य र सामाजिक उत्तरदायित्व विकासमा पनि जोड दिइएको उहाँको भनाइ छ।
२०५७ सालमा त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको क्याम्पसमा हाल स्नातक तहमा बीएड, बीबीएस, बीए र बीआईसीटी तथा स्नातकोत्तर तहमा एमबीएस र एमएड कार्यक्रम सञ्चालनमा छन्। आगामी शैक्षिक सत्रदेखि बीबीए कार्यक्रम सुरु गर्ने तयारी रहेको क्याम्पसले जनाएको छ। हाल क्याम्पसमा ७२४ छात्रा र ३०६ छात्र गरी कुल १,०३० विद्यार्थी अध्ययनरत छन्।



लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ८, मंगलवार १७:४१पारितोषिका पन्तको परिपक्व प्रस्तुति – ‘पहिलो हाँसो, पहिलो बोली’
समाचार२०८३ बैशाख ८, मंगलवार १६:३५अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने
समाचार२०८३ बैशाख ८, मंगलवार १४:२५क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ
खेलकुद२०८३ बैशाख ८, मंगलवार १०:३७लगातार चार खेल हारेको मुम्बई ९९ रनले विजयी







