घान्द्रुकमा फोहोरमैला सङ्कलन केन्द्र उद्घाटन; दिगो पर्यटनका लागि वातावरण संरक्षणमा जोड

घान्द्रुक । अन्नपूर्ण गाउँपालिका वडा नं. ११ स्थित खोलोभ्रो, घान्द्रुकमा नवनिर्मित फोहोरमैला सङ्कलन केन्द्रको एक विशेष कार्यक्रमका बिच औपचारिक उद्घाटन गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका कार्यालय घान्द्रुक र घान्द्रुक पर्यटन व्यवस्थापन समिति (GTMC) को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले ब्यानर खोलेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका कार्यालय घान्द्रुकका प्रमुख भीमप्रसाद उपाध्याय मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा स्थानीय आमा समूह, बुद्धिजीवी, सञ्चारकर्मी तथा एकापका कर्मचारीहरूको बाक्लो सहभागिता रहेको थियो ।

उद्घाटन मन्तव्य राख्दै ACAP का इलाका कार्यालय प्रमुख भीमप्रसाद उपाध्यायले घान्द्रुक नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइरहेको परिप्रेक्ष्यमा समयमै फोहोरमैला व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । “घान्द्रुकको सुन्दरताले पर्यटकलाई लोभ्याउने गरेको छ, तर बढ्दो पर्यटक सङ्ख्यासँगै फोहोरमैलाको दिगो व्यवस्थापन गर्न नसकिए हाम्रो मान-प्रतिष्ठा र इज्जतमा धक्का पुग्नेछ,” प्रमुख उपाध्यायले भन्नुभयो ।
फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन योजनाका साथ अघि बढाउन आवश्यक रहेको औँल्याउँदै उहाँले विशेष गरी होटल तथा होमस्टे व्यवसायीहरूलाई उत्पादित फोहोर घरबाटै वर्गीकरण (सिसा, प्लास्टिक, कागज, टिन छुट्टाउन) गर्न आग्रह गर्नुभयो । यसरी वर्गीकरण गरिएको फोहोरलाई पोखरास्थित ‘ग्रीन रोड वेस्ट म्यानेजमेन्ट कम्पनी’ मा पठाइने र सो फोहोर सडक निर्माण कार्यमा प्रयोग भइरहेको जानकारी समेत उहाँले दिनुभयो ।

वातावरण संरक्षणलाई प्रभावकारी बनाउन अब घान्द्रुकमा नियमन समेत कडा गरिने भएको छ । प्रत्येक टोलबाट आउने फोहोरको निगरानी गरिने र वर्गीकरण नगरी जथाभाबी फोहोर फालेको पाइएमा प्रमाणका आधारमा जरिवाना तथा दण्ड गरिने एकाप प्रमुख उपाध्यायले चेतावनी दिनुभयो । उक्त सङ्कलन केन्द्र निर्माणका लागि एकापले रु ५ लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो । उद्घाटनकै अवसरमा स्थानीय बासिन्दा र आमा समूहको सक्रियतामा सङ्कलन केन्द्र वरपरको फोहोर वर्गीकरण गरी भण्डारण गरिएको थियो ।
घान्द्रुक आउने पर्यटकहरूको बसाइ सुरक्षित र सहज बनाउन स्थानीय पूर्वाधार विकासले तीव्र गति लिएको छ । घान्द्रुक तल्लो गाउँदेखि सिलकु खोल्सासम्मको अप्ठ्यारो र हिलो बाटोलाई विस्थापन गर्दै आकर्षक पदमार्ग निर्माण गरिएको छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समिति (CAMC) घान्द्रुकका सदस्य जगनमाया गुरुङका अनुसार यसअघि खच्चड र पर्यटक हिँड्ने बाटो एउटै हुँदा पदयात्रीले निकै सास्ती भोग्नुपरेको थियो । ACAP को रु १ लाख आर्थिक सहयोग र स्थानीयको सक्रियतामा पदमार्ग बनेपछि अहिले आवतजावतमा निकै सहज भएको छ ।
पदमार्गलाई थप व्यवस्थित बनाउन डाँडागाउँ म्रुम्जुमा स्थानीय बासिन्दाहरूको श्रमदान र सहयोगमा आकर्षक कटिङ ढुङ्गा प्रयोग गरी कलात्मक सिंढी निर्माण गरिएको छ । CAMC का सचिव अरुण गुरुङले स्थानीय दाताहरूको मुख्य योगदान, श्रमदान र एकापको केही आर्थिक सहयोग गरी हालसम्म झन्डै १ करोड ५० लाख रुपैयाँभन्दा बढीको लागतमा विभिन्न पदमार्गहरू निर्माण सम्पन्न भएको जानकारी दिनुभयो । आगामी दिनमा पनि स्थानीयकै सहभागितामा पदमार्ग विस्तार गरिने सचिव गुरुङले बताउनुभयो ।

घान्द्रुकमा पर्यटकको बसाइ अवधि (स्टे) लम्ब्याउने उद्देश्यका साथ चक्रिय पदमार्ग र ‘बाँलाचे पार्क’ को स्तरोन्नति कार्य अघि बढाइएको छ । ACAP प्रमुख उपाध्यायका अनुसार पार्क क्षेत्रमा गाईभैँसी प्रवेश रोक्न एकापले सुरुवाती चरणमा घेराबारा (फेन्सिङ) को खर्च बेहोरेको र हाल थप रु ३ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपेर हरियाली बनाइनुका साथै सहिदको सालिक समेत स्थापना गरी प्रमुख आकर्षणको केन्द्र बनाइने योजना छ ।
यसैबिच, घान्द्रुकको दिगो पर्यटन र वन संरक्षणमा यहाँको जलविद्युत् इतिहास उदाहरणीय रहेको चर्चा गरिएको छ । सन् १९९२ मा एकापको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण गरिएको ५० किलोवाट क्षमताको घान्द्रुक लघु जलविद्युत् आयोजनाले स्थानीय होटल र घरहरूमा उज्यालो मात्र दिएन, दाउराको खपत घटाएर वन जङ्गल विनाश रोक्न ऐतिहासिक जग बसालेको स्मरण गरिएको थियो ।
गुरुङ समुदायको परम्परागत रीतिरिवाज र मृत्यु संस्कारका सामाजिक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यका साथ घान्द्रुकमा पुरातात्विक शैलीको ‘पेलुसङ भवन’ निर्माणाधीन अवस्थामा रहेको छ । उक्त आकर्षक सांस्कृतिक भवन निर्माणका लागि एकापले चालू आर्थिक वर्षमा रु ५ लाख आर्थिक सहयोग गरेको छ ।

पूर्वाधार विकासका अतिरिक्त ACAP ले स्थानीय समुदायको माग र आवश्यकताका आधारमा कृषि तथा महिलाहरूका लागि सिलाई-कटाई जस्ता सीपमूलक र आयआर्जनका तालिमहरू सञ्चालन गर्दै आएको र यसबाट स्थानीयहरू प्रत्यक्ष लाभान्वित भइरहेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ४, सोमबार १३:१७घान्द्रुकमा फोहोरमैला सङ्कलन केन्द्र उद्घाटन; दिगो पर्यटनका लागि वातावरण संरक्षणमा जोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ४, सोमबार ११:४४उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?
समाचार२०८३ जेष्ठ ३, आईतवार १९:०९गैरी गाउँ माविमा अभिभावक मनोपरामर्श तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
खेलकुद२०८३ जेष्ठ ३, आईतवार १६:१५एनएसएल चौथो संस्करण भदौ २० देखि हुने « रिपोर्टर्स नेपाल








