सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP

सिक्लेसमा संरक्षण र समृद्धिको नयाँ मोडेलमा ACAP

सिक्लेस, कास्की । प्रकृतिको अनुपम उपहार र गुरुङ संस्कृतिको केन्द्र मानिने कास्कीको सिक्लेसमा ‘समुदायमा आधारित संरक्षण’ कार्यक्रमले स्थानीयको जीवनशैलीमा आमूल परिवर्तन ल्याएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) इलाका कार्यालय सिक्लेसको सक्रियतामा जैविक विविधता संरक्षणलाई स्थानीयको आयआर्जनसँग जोडिएपछि यहाँको संरक्षण अभियान थप प्रभावकारी बनेको हो ।

परम्परागत खेती प्रणालीमा रमाएका सिक्लेसका कृषकहरू अहिले व्यावसायिक र प्रविधिमैत्री बन्दै गएका छन्। कार्यालय प्रमुख संग्राम कार्कीका अनुसार, कृषकको मेहनतलाई प्राकृतिक प्रकोपबाट जोगाउन ‘असिना जाली’ (Hailstone Net) वितरण गरिएको छ। गत वर्ष ३५ भन्दा बढी कृषकले यो सुविधा पाएपछि तरकारी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । साथै, स्थानीय कृषक तथा समुदायलाई फलफूल, डाले घाँस बेर्ना उत्पादन गरी वितरण गर्ने, अलैँची सुकाउने आधुनिक मेसिन र निःशुल्क बीउबिजन वितरणले स्थानीयलाई आत्मनिर्भर बन्न थप ऊर्जा प्रदान गरेको छ।

ACAP सिक्लेसद्वारा वितरण गरिएको असिना जालीले जोगाएको कृषकको सपना

इलाका कार्यालयले समय समयमा आमा समूह, होमस्टे संचालक, होटल व्यवसायीका सदस्यलाई वातावरण सम्बन्धी तालिम सचेतना मूलक अभिमुखीकरण प्रशिक्षण दिने गरेको छ । गाउँमा भएका महिला तथा दिदि-बहिनि लगायत विभिन्न टोलमा रहेका आमा समूहका सदस्यहरुलाई विभिन्न अचार बनाउने तथा सिस्नुको पाउडर बनाउने तालिम प्रदान गरे पश्चात उनीहरुले आफ्नो फुर्सदको समयमा अचार बनाई मनग्य आम्दानी गरेका छन् । उनीहरुले बनाएको अचार स्थानीय होटलमा खपत तथा त्यस ठाउँमा आउने पर्यटकले कोसेलीको रुपमा पनि लैजाने समेत गरेका छन् । स्थानीय महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन ACAP ले सिस्नुको पाउडर बनाउने र प्याकेजिङ गर्ने प्रविधि पनि हस्तान्तरण गरेको छ । खेर गइरहेको सिस्नुलाई मेसिनबाट प्रशोधन गरी २०० ग्रामको प्याकेटलाई ३०० रुपैयाँमा बिक्री गर्न थालिएको छ ।

सिक्लेसका महिलाहरू सिस्नुको धुलो तयार पार्ने प्रक्रियामा साथै खेर गइरहेको सिस्नुलाई आधुनिक मेसिनबाट प्रशोधन गरिँदै ।


“हामी सिस्नुलाई अब सिक्लेसको चिनारी र ब्रान्डका रूपमा पोखरा र बाह्य बजारमा पुर्‍याउने योजनामा छौँ,” ACAP सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्कीले कार्कीले बताउनुभयो । साथै, आमा समूहहरूले फुर्सदको समयमा तयार पारेको अचार अहिले यहाँ आउने पर्यटकका लागि लोकप्रिय ‘कोसेली’ बनेको छ । सिस्नुबाट उत्पादित पाउडरले मानिसलाई बहुउपयोगी स्वास्थ्य लाभ हुने, सुगर, प्रेसर लगायतका औषधिको काम गर्ने र विभिन्न स्वास्थ्य समस्याहरु कम गर्ने, प्रचुर मात्रामा भिटामिन, फोस्फोरस, क्याल्सियम जस्ता तत्व पाइने हुँदा यस ठाउँमा घुम्न आउने पाहुनाले खोजी खोजी लग्ने गरेको समेत बताउनु भयो ।

अब सिक्लेसको चिनारी ब्रान्ड बन्दै: बिक्रीका लागि तयार पारिएको सिस्नुको पाउडर स्वस्थ जीवनका आकर्षक प्याकेजिङमा तयार गरिएको पाहुनाको लागि सिक्लेसको उपहार सिस्नुको पाउडर देखाउदै ACAP सिक्लेसका कार्यालय प्रमुख संग्राम कार्की

सिक्लेसको पहिचान बोकेको ‘इको म्युजियम’ अहिले स्वदेशी तथा विदेशी पर्यटकका लागि अध्ययन र अवलोकनको मुख्य थलो बनेको छ। २०७१ सालमा स्थापित यस म्युजियममा गुरुङ समुदायका ऐतिहासिक सामग्री, विभिन्न पुराना सामग्री देखि गुरुङ समुदायका भान्छामा प्रयोग गरिने वस्तु, गुरुङ समुदाय भित्र गरिने चाल चलन रितिरिवाज, संस्कृतिमा पहिरिने पोशाक साथै भेडाको ऊनबाट बनेका राडी र पुराना घरेलु हतियारहरू व्यवस्थित रूपमा प्रदर्शन गरिएका छन् ।

संस्कृतिको धरोहर: सिक्लेसस्थित ‘इको म्युजियम’, जहाँ गुरुङ समुदायको इतिहास र परम्परा संरक्षित छ । पछिल्लो समयमा पर्यटकको आकर्षणको केन्द्रमा गुरुङ संस्कृतिका पुराना सामग्री र ३D नक्सा देख्न सकिने सिक्लेस इको म्युजियम ।


गत आर्थिक वर्ष ०८०/८१ मा मात्रै २,६४९ जनाले यसको अवलोकन गरेका छन्, जसबाट करिब २ लाख ६२ हजार रुपैयाँ आम्दानी भएको छ। म्युजियम अवलोकनको लागि स्वदेशी नागरिकलाई प्रवेश शुल्कमा रु. ५०, स्वदेशी विद्यार्थीलाई परिचय खुल्ने कागजातको आधारमा प्रवेश शुल्क रु. ३० र विदेशी नागरिकको हकमा भने प्रवेश शुल्कमा १५० दस्तुर लाग्ने गरेको उल्लेख गर्नु भयो । यहाँ आउने पाहुनाले ९७० जनाले गुरुङ ड्रेस लगाएका थिए, गुरुङ पोशाक पहिरिँदा प्रति व्यक्ति रु.१५० शुल्क तिर्नु पर्दछ । म्युजियममा अन्नपूर्ण संरक्षण क्षेत्रको 3D नक्सा समेत राखिएको छ । ACAP ले म्युजियमको दीर्घकालीन व्यवस्थापनका लागि १६ लाख रुपैयाँको अक्षय कोष खडा गरी स्थानीय व्यवस्थापन समितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ। साथै ACAP ले म्युजियमलाई बेला बेलामा मर्मत सम्भार गर्दै आएको छ ।


सिक्लेस इलाकामा प्रचुर मात्रामा प्राकृतिक सम्पदा, परम्परागत शैलीमा निर्माण गरिएका पूर्वाधारका संरचना पनि देख्न सकिन्छ । पछिल्लो समयमा सिक्लेस क्षेत्र पर्यटकहरुको लागि आकर्षण केन्द्र विन्दु बन्दै गएको छ । पर्यटकको बढ्दो चापसँगै हुनसक्ने वातावरणीय प्रदूषणलाई रोक्न ‘शून्य फोहोर’ (Zero Waste) को नीति लिइएको छ। आमा समूह र स्थानीय व्यवस्थापन समितिको सक्रियतामा महिनाको दुई पटक अनिवार्य सरसफाइ गरिन्छ। पर्यटन बढ्दै जाँदा वातावरणमा असर नपरोस् भनेर यहाँ फोहोरमैला व्यवस्थापन गरिएको छ । आमा समूह, अन्नपूर्ण संरक्षण व्यवस्थापन तथा स्थानीय बासिन्दाको सक्रियतामा फोहोर संकलन गरिन्छ । होम स्टे, क्याम्प साइट, होटल बाट निस्किएको फोहोरलाई वर्गीकरण गरी छुट्याइन्छ । प्रत्येक महिनाको दुई पटक फोहोर व्यवस्थापन तथा सरसफाई गर्ने गरिन्छ । कुहिने तथा नकुहिने (सिसा जन्य पदार्थ ) फोहोरलाई छुट्याएर फोहोर संकलन केन्द्रमा राखिन्छ । फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरिन्छ भने रिसाइकल हुने सामग्रीलाई पोखरा पठाउने गरिएको छ।

सिक्लेसको परिचय: मौलिक वास्तुकला र ग्रामीण जीवन । परम्परा र प्रकृतिको सुन्दर सङ्गम सिक्लेसको मौलिक पहिचान बोकेका परम्परागत घरहरू र मकैको सुली ।

सिक्लेस क्षेत्रको जैविक विविधतामा महत्वपूर्ण वन पैदावारहरु चिराइतो, च्याउ, सतुवा, पाँच औले लगायतका आदि वन पैदावार पाइन्छ । साथै विभिन्न प्रजातिका साग, जंगली साग प्रचुर मात्रामा पाइने सिक्लेसका कार्यालय प्रमुख कार्कीले जानकारी दिनु भयो । ACAP ले दिगो वनस्पति संकलन योजना बनाएको छ, आवश्यक प्रक्रिया पुरा गरि कति परिमाणमा निकाल्ने ? कुनै पनि वनस्पति संकलनलाई असर नपुग्ने तरिकाले जडिबुटी उत्खनन र व्यावसायिक प्रयोजनका लागि ACAP ले सहजीकरण गर्ने गरेको जानकारी दिनु भयो । वनस्पति नियमावली संरक्षण पालनामा सबैलाई सहयोग गर्न आग्रह गर्नु भयो । चिराइतो, सतुवा र पाँचऔँलेजस्ता बहुमूल्य जडीबुटीको संरक्षणका लागि दिगो संकलन योजना लागू गरिएको छ। इलाका कार्यालय सिक्लेसले संरक्षण क्षेत्र भित्र वन वन्यजन्तु तथा अवैध गतिविधि रोक्न र जैविक विविधतामा खलल नपुगोस् भन्ने उद्देश्यले नियमित गस्ती र ‘हेरालो’ परिचालन गरिएको छ। गस्तीका क्रममा वन्यजन्तुका लागि थापिएका पासोहरू फेला पारी नष्ट गर्ने र स्थानीयमा सचेतना जगाउने कार्यलाई तीव्रता दिइएको छ।

प्रकृतिको सुन्दर आभास: सिक्लेसको यो दृश्यले जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ, घना जङ्गल र पृष्ठभूमिमा अटल उभिएका हिमशृङ्खलाहरू।


ACAP ले यस सिक्लेस क्षेत्रमा खानेपानी तथा पानीको स्रोत संरक्षणका लागि ठूलो योगदान तथा सहयोग गरेको स्थानीयले बताउनु भयो । पहिला खानेपानीको साह्रै नै अभाव रहेको थियो भने हाल पर्याप्त मात्रामा शुद्ध पानी उपलब्ध रहेको स्थानीयले बताउनु भयो । ACAP को सहयोगमा करिब ८०/९० घरधुरीलाई पानी वितरण गरिएको छ । होटल व्यवसायी र होमस्टे संचालकलाई सरसफाई तथा पानीको प्रयोग बढी मात्रामा चाहिने हुँदा हाल पानीको कतै पनि अभाव नभएको बताए । सिक्लेस इलाका कार्यालय मार्फत ७५ हजार बजेट उपलब्ध र स्थानीयको श्रमदानबाट खानेपानी ट्यांकी निर्माण र पानी ट्यांकी व्यवस्थापन भएको बताउनु भयो ।

दिगो संरक्षणको परिणाम: ACAP को सहयोगमा संरक्षित पानीको मुहान र ट्याङ्की, जसले गाउँलाई शुद्ध पानी पुर्‍याएको छ ।

समिति मार्फत कार्यक्रम योजनाहरुको आहावन हुन्छ । विशेष गरी महत्वपूर्ण पद मार्गहरु जस्तै घलेखर्क-सिक्लेस, फुट ट्रयाक, सिक्लेस‍-कपुचे ट्रेक, सिक्लेस-कोरी पदमार्ग, ताङतिङ-कर्पु जस्ता धेरै पदमार्गको सुरक्षाको लागि सुधार मर्मत गर्नको लागि पनि विभिन्न शिर्षकमा बजेटहरु विनियोजित भएका छन् । यस अन्तर्गत गत वर्ष पनि झण्डै १.५ मिटर भन्दा बढी पदमार्ग निर्माण सम्पन्न भएका छन् भने चालु यो वर्ष झण्डै ३ हजार मिटर भन्दा धेरै पदमार्ग मर्मत तथा सुधार हुँदै छन् र केही योजनाहरु भने सम्पन्न भएका छन् । खिलाङ्ग देखि तारा हिल टप सम्मको पदमार्गको स्तरोन्नतीको काम सम्पन्न भएको जानकारी कार्यालय प्रमुख कार्कीले दिनुभयो ।

स्तरोन्नती सम्पन्न भएको खिलाङ्ग देखि तारा हिल टप सम्मको पदमार्ग


त्यस्तै, सिक्लेस देखि कपुचे जाने पदमार्गको मर्मत स्तरोन्नती सम्पन्न भइसकेको उल्लेख गर्नुभयो । यसरी निरन्तरताको साथ आगामी वर्षमा पनि मर्मत सुधार गर्दै यहाँ आउने पदयात्रीहरुको सुरक्षा तथा पदयात्रीहरुलाई सहज रुपमा पदयात्रा गर्नको लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अन्नपूर्ण संरक्षण क्षेत्र समितिहरु, स्थानिय समुदाय, वडा, पालिकासँग समन्य गारि यस्ता कार्यकमहरु सुचारु गर्दै आएको बताउनुभयो ।


कुराकानीको क्रममा प्रमुख कार्कीले अन्नपूर्ण संरक्षण क्षेत्रका प्रणेता स्व. डा. चन्द्रप्रसाद गुरुङको योगदानलाई स्मरण गर्नुभयो। “उहाँको परिकल्पना अनुसार नै आज समुदाय आफैँले आफ्नो गाउँको प्रकृति र संस्कृतिको मालिक बनेर संरक्षण गरिरहेको छ,” उहाँले थप्नुभयो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   2   =  

Protected by Spam Master