गण्डकी प्रदेशका खेलकुद मन्त्रीबाट दीपक मनाङे हटे,विपक्षी गठबन्धनलाई अब सहयोग गर्ने

गण्डकी प्रदेशका खेलकुद मन्त्रीबाट दीपक मनाङे हटे,विपक्षी गठबन्धनलाई अब सहयोग गर्ने
Share this

गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ लाई पदबाट हटाउनुभएको छ । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई हटाउनुभएको हो ।

गुरुङले बिहीवार बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराइ सक्नुभएको छ । हिजो विश्वासको मत लिँदा मन्त्री मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित हुनुभएको थियो ।

यस्तै मन्त्री पदबाट बर्खास्त भएपछि मनाङेले पनि राजीनामा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले राजीनामा पत्र आजै मुख्यमन्त्री गुरुङलाई बुझाउँदै हुनुहुन्छ ।

राजीनामा पत्रमा उहाँले उल्लेख गर्नु भएको विश्वासको मत नपाएको सरकारका मन्त्री हुन नैतिकताले नदिने र अब आफूले विपक्षी गठबन्धनलाई साथ दिने बताउनुभएको छ । राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको बताउनुभएको छ ।
मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनाउनुभएको थियो ।
अब मनाङेले आफूले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्नेसमेत घोषणा गर्नुभएको छ । मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् विघटन गर्ने योजना बनाएपछि संसद् जोगाउनका लागि विपक्षी गठबन्धनमा उभिने घोषणा गरेको उहाँको भनाइ छ ।
सांसद मनाङेले साथ दिएमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुने देखिएको छ ।

 

अन्तिम अपडेट: 2021-June-11 समय 8:10 AM

214 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com