इतिहास बोकेको पाल्पाको चलचित्र हल सधैका लागि बन्द

इतिहास बोकेको पाल्पाको चलचित्र हल सधैका लागि बन्द

कोरोना भाइरस ‘कोभिड १९’ महामारीका कारणले एकपछि अर्को चलचित्र हलहरु बन्द हुदै जान हुन थालेका छन् । काठमाडौ लगाएत मोफसलका विभिन्न जिल्लामा गरेर २ दर्जन हल बन्द भैसकेका छन् । यसैविचमा कोरोना महामारीकै समयमा चार दशकको इतिहास बोकेको पाल्पाको एकमात्र चलचित्र हल अब भने सधैको लागि बन्द भएको छ ।

सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य गरिएको हो । वि.सं २०३८ सालमा यस चलचित्र हलको स्थापना गरिएको थियो । अब चलचित्र हल सधैका लागि बन्द गर्ने निणर्य गरिएको संचालक सन्तोष लिगलले जानकारी दिए ।

‘केही वर्षयता चलचित्र हेर्ने दर्शक समेत घटेका थिए । सामान्य अवस्थामा पनि हलमा दर्शक नहुँदा कर्मचारीलाई तलब दिन र विद्युत महशुल बुझाउन समेत गाह्रो थियो’ लिगलले बताउनु भयो ‘कोरोना महामारीका कारण डेढ वर्षदेखि हल ठप्प छ । यदी खुलेपनि चलाउन गाह्रो हुने भएकाले सधैका लागि बन्द गर्ने निणर्यमा पुगेका हौं ।’
हलमा ३४५ सिट क्षमता रहेको थियो । कुनै समय हलमा चलचित्र हेर्न गाउँ–गाउँबाट दर्शकको बाक्लो भीड लाग्दथ्यो । तर, पछिल्ला केही वर्षयता दर्शकको संख्या घट्दै गएको थियो । सूचना प्रविधिको सहज पहुँचसँगै दर्शकले चलचित्र हेर्ने माध्यमको विकल्प खोज्न थालेपछि हलमै गएर चलचित्र हेर्ने दर्शक घटेको लिगल बताउँछन् । एक दशक अगाडिसम्म दर्शकको भीड लाग्ने हलमा कोरोना महामारी अगाडि १०–१५ जना मात्र दर्शक आउने गरेका थिए ।
हलमा पछिल्लो पटक चलचित्र ‘आमा’ प्रदर्शन भएको थियो । २०७६ चैत्रमा लकडाउन भएसँगै चलचित्र हल बन्द भएको थियो । जिल्लामा रहेका केही हाइभिजन हल यसअघि नै बन्द भईसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *