Home समाचार पिल्लरमै अल्झियो दूधखोलाको मोटरेवल पुल

पिल्लरमै अल्झियो दूधखोलाको मोटरेवल पुल

1
0
पिल्लरमै अल्झियो दूधखोलाको मोटरेवल पुल

मनाङ-    हिमाली जिल्ला मनाङको नासों गाउँपालिका–६ र ७ नम्बर वडा जोड्ने मोटरेवल पुल नहुँदा आवतजावतमा नै सकस परेको छ । मोटर तार्न र स्थानीयले आवतजावतका लागि साँघु बनाएर चल्नुपर्ने अवस्था छ ।

मनसुन सक्रिय भएपछि तिल्चेवासीले मोटर तार्न र स्थानीयले आवतजावतका लागि काठको पुल भत्काउँछन् । सदरमुकामबाट गाउँ जाने बाटोमा पर्ने दुध खोलामा हरेक वर्ष उनीहरुले मनसुन सकिएपछि पुल बनाएर आउजाउ गर्ने गर्दछन् । वर्षा लागेपछि काठे पुल भत्काउने र हिउँद लागेपछि बनाउने तिल्चेवासीको काम हो ।

गुणराज गुरुङ भन्नुहुन्छ, “वर्षा सकियो, गाउँवासी मिलेर पुल बनाउँछौं, हरेक वर्ष वर्षा लागेपछि पुल झिकेर राख्छौं, हिउँद लागेपछि झारा उठाएर हाल्छौं ।” पुलबाट मोटर आउजाउ र स्थानीयलाई हिंड्न सजिलो भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटक पनि यही पुल तरेर लार्केपास निस्कन्छन् ।” अघिल्लो वर्ष स्थानीय सरकार र गाउँलेले चार लाख रुपैँयाभन्दा बढी खर्च गरी पुल निर्माण गरेका थिए ।

नासों गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङले अहिले पुरानो पुल कारण करिब दुई लाख रुपैँया खर्च भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुरुमा काठसहित रु.चार लाख जति खर्च भयो, अहिले काठ किन्न परेन र रु.दुई लाखमै उम्बयो ।”
पुल बनाउन सरकारले पहल नगरेको पनि होइन ।

पुल बनाउन सरकारले पहल नगरेको पनि होइन । ८ वर्षअघि यहाँ पक्की पुल बनाउन ठेक्का लागिसकेको छ । तर ठेकेदार कम्पनी बेपत्ता भएपछि गाउँलेको दुःख ज्यूको त्युँ छ ।

विसं २०७३ असार २० मा सञ्जीवनी खड्का कृष्णा र द क्याराभान कम्पनीले संयुक्त ठेक्का सम्झौता गरेका थिए । विसं २०७४ मङ्सिर २३ गतेसम्म पुल निर्माण गरिसक्नुपर्नेमा कूल ३० प्रतिशत हाराहारी मात्र सकिएको छ ।

पटक पटक बैठक बसी पुल निर्माणको काम पुरा गर्ने प्रतिवद्धता जनाए पनि कुनै काम हुन सकेन । यहाँ खोला तरेर तिल्चेवासीले दैनिकी गुजार्छन् भने पर्यटक लार्के पास गर्छन् । साविक जिल्ला विकास समिति हुँदा नै रु.चार करोड एक लाखमा ठेक्का लागेको पुल पटक–पटक म्याद थप गर्दा पनि सम्पन्न भएको छैन ।

यो पनि पढ्नुहोस् :  तोलामा तीन सयले घट्यो सुनको मूल्य

सङ्घीयता कायम भएपछि अहिले पुलको स्वामित्व पूर्वाधार विकास कार्यालयमा सरेको छ । सम्झौताअनुसारको मितिमा पुल नबनेपछि विसं २०७७ असार २९ मा निर्माण सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप भयो ।

जिल्ला प्रशासन कार्यालयले त्यसअघि पटक–पटक बैठक राखेर पुल बनाउन निर्देशन दियो । थपिएको म्यादमा पनि निर्माण सम्पन्न नभएपछि पुनः विसं २०७८ चैत मसान्तसम्ममा सक्ने गरी दोस्रो पटक म्याद थप भयो ।

त्यसपछि त म्याद थप भएको छ, न कारवाही भएको छ । ठेकेदारले दुईतिर पिलर मात्र ठड्याएर करिब रु.दुई करोड़ निकासा लगिसकेका छन् ।

पिल्लरमै अल्झियो दूधखोलाको मोटरेवल पुल

सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरले भन्नुभयो, “अहिले म्याद थपिएको छैन, माथिबाटै सम्बोधन हुन्छ भनेर हामीले केही गरेका छैनौं, जिल्लामा त यसलाई रुग्ण ठेक्काको रुपमा सूचीकृत गरेका छौं, ठेकेदारलाई बोलाउँदा पनि आउँदैन ।”
अन्तिम पटक क्याराभानका अध्यक्ष चन्द्र थकालीले गएको असारमा पुल बनाइसक्ने प्रतिवद्धता जनाएका थिए ।

पालिका अध्यक्ष गुरुङको पहलमा थकालीले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसी भट्टराई, पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुली समेतको उपस्थितिमा काम गर्ने लिखित प्रतिबद्धता गरेका हुन् । तर, प्रतिबद्धता जनाएको दिनदेखि उनी सम्पर्कविहीन भए ।

त्यसअघि जिल्ला प्रशासन कार्यालयले पटक–पटक बैठक राखेर पुल बनाउन निर्देशन दियो । थकालीले प्रशासनलाई सुनेनन् जनताका दुःख पनि देखेनन् । तीन पटकसम्म बैठक राख्यो । प्रतिवद्धता जनाउने काम नगर्ने समस्या भयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले ठेकेदारले समयमा काम नगरेपछि मिलेको आरोप लाग्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारले काम नगरेपछि हामी पनि मिलेका छौं कि भनेर आरोप खेप्नुपर्ने अवस्था आएको छ, अहिले प्रेसर दिइरहेका छौं, असोज महिनामा काम सुरु नभए बैङ्क ग्यारेण्टी तान्ने प्रक्रियामा छौं ।”

क्याराभानले नै ठेक्का लिएको मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जेस्थित मर्स्याङ्दी नदीमाथिको पुल अलपत्र पारेपछि एड्भान्स पेमेन्ट ग्यारेण्टीवापतको रु.४२ लाख कार्यालयले जफत गरेको विष्टले जानकारी दिनुभयो । उक्त ठेक्काविरुद्ध अहिले अख्तियारमा उजुरी परेकोले छानविन भइरहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् :  सहकारी आन्दोलनलाई जगाउन संचारमाध्यमको भुमिका महत्वपूर्ण : उप-प्रमुख विश्वकर्मा

“एउटा मात्रै होइन, उसले ठेक्का लिएको जति सबै काम अलपत्र छ, दुध खोलामा पनि फाउन्डेसनको काम सकेको छ, कसियो भने एक महिनामै काम सकिन्छ, तर काम गर्न आउदैन, चारैतिर यस्तै छ,” उहाँले भन्नुभयो, “मिटिङमा आउँदा हुन्छ भन्छ पछि फोन अफ गरेर बेपत्ता हुन्छ, अन्तिम पटक अवसर दिएका छौं ।”

असोजभित्र काम नथाले ठेक्का तोड्ने प्रक्रियामा जाने विष्टले जानकारी दिनुभयो । क्याराभानले मनाङका अन्य आयोजनाका काम पनि अलपत्र पारेर छाडेको छ ।।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleराष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
Next articleकोशी टप्पुलाई चितवन राष्ट्रिय निकुञ्जको उपहार: पुष्पा र अञ्जली