फुङ्लिङ- प्राकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौँमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुग्नुभयो । फुङ्लिङबाट आवश्यक सामग्री आफैँले बोकेर मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र लोदेन पुग्नुभयो ।

कठिन यात्राले गर्दा अनिलको तन भारी भए पनि प्राकृतिक सुन्दरताले मन चङ्गा जस्तै उच्च पहाडी क्षेत्रको हावासँगै डुलिरहेको थियो । पदमचाल (केन्जो) फूल देख्नेबित्तिकै त्यसमा उहाँको आँखा पार्‍यो । अनौठो र सुगन्धित त्यस फूल नजिकै गएर एक चुम्बन गर्नुभयो ।

ढकमक्क पदमचाल फूलले सझिएको फाँटहरु देख्दा जो कोही पनि मोहित हुने गर्दछन् । केही छिनमै कुहिरो छोपिदिँदा पृथ्वीको कुनै एक कुनामा हराएको जस्तो अनुभूति हुने गर्दछ । केही क्षणमा ढपक्क कुहिरोले ढाक्ने र बिस्तारै उड्दै जाँदा दुलहीले लजाउँदै घुम्टो उघारे जस्तै लाग्दछ । रोमाञ्चक मौसम र ढकमक्क फूलले स्वर्गीय आनन्द प्राप्त हुन्छ । फूलको सौन्दर्यताका लागि वा फूलप्रतिको प्रेम भावले सबैलाई आनन्द दिन्छ ।

यतिखेर जिल्लाको उच्च पहाडी क्षेत्रहरु गरगहनाले दुलही सजिए जस्तै यस फूलका गुच्छाले ढकमक्क सजिएको पाइन्छ । पत्रैपत्र परेको पिरामिड जस्तो यो फूल देखेर मोहित नहुने सायदै छन् । कतिपय प्रत्यक्ष देखेर मक्ख पर्छन् भने कतिपय फोटो भिडियो हेरेर लोभिन्छन् । केन्जो प्रत्यक्ष देख्नलाई उच्च पहाडी क्षेत्र पुग्नुपर्छ । चट्टान भएको भिरालो पहाडमा फुलेको केन्जोनजिक पुग्न केही कठिन त हुन्छ नै । पछिल्लो समयमा विभिन्न क्षेत्रहरुमा तस्बिरको प्रयोग बढ्दै गएको छ । होटल रेस्टुरेन्ट विभिन्न क्षेत्रहरुमा पनि यस फूलको आकर्षक तस्बिर राखेको देख्न सकिन्छ ।

उच्च पहाडी क्षेत्रमा कतिपयले पदमचाल फूललाई फूलहरुको रानी पनि भन्ने गर्दछन् । मिक्वाखोला गाउँपालिका लुम्बासुम्बाको उच्च पहाडी क्षेत्रमा केन्जो पूmल प्रशस्त देख्न पाइन्छ  । मिक्वाखोला गाउँपालिका-५ लोदेन, तोक्पेगोला र फक्ताङलुङ गाउँपालिका—७ सिङजेमा, देउमा, माउमा क्षेत्रमा कमैरुपमा पाइने कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङले बताउनुभयो । यहाँका उच्च डाँडाहरुमा पहराहरुमा सेताम्य फुल्ने यो फूलको बनावट धरहरा जस्तै ठाडो हुन्छ ।  केन्जो एक दुर्लभ प्रजातिको फूल हो । लेकाली चौर र अग्ला डाँडामा निकै आकर्षक देखिने गरी फूलेको भेटिन्छ ।

यस फूलको व्याख्या पहिलोपल्ट ब्रिटिस वनस्पतिविद् सर जोसेफ टाल्टन हुकरले ‘हिमालयन जर्नलस नोट्स आफ न्याचुरलिस्ट’मा गरेका थिए । उनले पुस्तकमा लेखेका छन्, ‘पदमचाललाई मैले पहिलो पल्ट एक माइल टाढाबाट देखें । लाछेन उपत्यकाको १४ हजार फिट उचाइमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिङ्ग उभिएको थियो ।’

संस्कृत भाषामा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्ने यो फूल नेपालको तीन हजार मिटरदेखि चार हजार मिटरसम्मको उच्च पहाडी भेगमा आफैँ उम्रिएका हुन्छन् । व्यावसायिक खेती भने हालसम्म भएको देखिँदैन । यसको बोटलाई अचारका रुपमा पनि प्रयोग गर्न मिक्वाखोला गाउँपालिका—५ तोक्पोगालाका तेन्जिङ शेर्पाले बताउनुहुन्छ ।

उच्च पहाडी भेगमा फिरफिरे, ठिङ्ग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउछाउमा, थुम्कामा, खुला ठाउँमा र ढुङ्गाको अन्तरमा हुर्किन्छ । एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचाल जरा र जमिनमुनि रहने काण्ड कसिएको गठिलो हुन्छ भने बाहिरी भाग चाउरी परेको हुन्छ । यसबाट सुगन्धित वासना आउँछ । स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पलाएर आएका लामा डाँठ भएका यसका पातहरू ३० सेमी चौडा हुन्छन् । बिरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् । बिरुवा काण्डका टुक्राहरूबाट अथवा बीउबाट उमारिन्छ । विरुवाहरूलाई वसन्त ऋतुमा सार्नुपर्दछ । यसका बिरुवालाई १.५ मी. दूरीमा रहेको खाल्टोमा मल जल गरेर सार्न सकिन्छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आदर्श क्षेत्रीका अनुसार पदमचाल फूल विशेषतः नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङलगायतका जिल्लामा पाइन्छ । यसलाई व्यावसायिक रुपमा लगाएर आर्थिक लाभ लिन सकिने उहाँको भनाइ छ ।

यस फूलको औषधीय महत्व पनि रहेको बताइन्छ । आयुर्वेदमा यसलाई एक महत्वपूर्ण जडीबुटीको रुपमा लिने गरिन्छ । कब्जियत, पखला लागेको, ज्वरो आएको अवस्थामा पदमचालको प्रयोग गर्न सिकन्छ ।  त्यस्तै, शरीरमा जलन भए यसको रस जुसको रुपमा पिउँदा शरीरलाई शीतलता प्रदान गर्छ । डाँठलाई सुकाएर जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । खाना अपच भएको अवस्थामा एक गिलास पानीमा यसको सुकाएको धुलो एक चम्चा मिसाएर खाँदा यसले स्वास्थ्यलाई निकै फाइदा पु¥याउँछ । शरीरको कुनै भाग सुन्निएको छ वा मर्केको, भाँचिएको अवस्थामा यसको जरा कुटेर गाईको गहुँतसँग मिसाई लगाउनाले फाइदा गर्दछ । साथै यस फूलको पात, डाँठ, फूललाई अचार तथा तरकारीमा पनि प्रयोग गरिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *