Home समाचार दुर्गा पक्षको आज आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै

दुर्गा पक्षको आज आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै

0
दुर्गा पक्षको आज आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै

बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ ।

यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँछन् ।

शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गा भवानीको विशेष पूजा गरी आज महाअष्टमी पर्व मनाइन लागिएको हो । यस अवसरमा दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्त्व रहेको धर्मशास्त्रविदहरुको भनाइ छ । राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबलि दिने गरिएको हो ।

आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजा आजा गरिएको छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्र अस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला र नरिवलआदि बलि चढाई पूजा आजा गरेका छन् ।

राति बलिसहित कालरात्रि पूजा गरिँदै

आजैका दिन राति कालरात्रिका रूपमा पशुबलिको विधि र पूजा आराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

महाअष्टमीका दिन आज राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने तयारी भएको छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here