दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर, १७ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि ल्याइएका लाखौँ मूल्यका मेसिन (उपकरण) प्रयोगविहीन अवस्थामा रहेका छन् । उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा मेसिन प्रयोगविहीन अवस्थमा रहेका हुन् ।
स्थानीय बासिन्दाको स्वास्थ्योपचारमा सहयोग पु¥याउन सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड लगायतका मेसिन सञ्चालनमा आउन सकेका छैनन् । “स्वास्थ्य चौकीमा नगरपालिकाका तर्फबाट चिकित्सकको व्यवस्था हुँदासम्म केही मेसिन सञ्चालनमा ल्याइएका थिए”, स्वास्थ्य चौकीका प्रमुख दुर्गादत्त भट्टले भने, “हाल चिकित्सक नहुँदा मेसिन सञ्चालन हुन सकेका छैनन् ।”
स्वास्थ्य चौकीमा उपलब्ध मेसिन सञ्चालन गर्न दक्ष प्राविधिको आवश्यकता पर्ने भए पनि दरबन्दी नहुँदा समस्या भएको उनले बताए । भट्टका अनुसार मेसिन सञ्चालन गर्न दुई जना दक्ष प्राविधिकको आवश्यकता रहेको छ । गर्भवती जाँचका लागि राखिएको पोर्टेवल अल्ट्रासाउण्ड मेसिन भने सञ्चालनमा रहेको उनले जानकारी दिए ।
लाखौँ मूल्य पर्ने मेसिन हुँदा पनि चर्को शुःल्क तिर्दै टाढाका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी बताउँछन् । स्थानीय समाजसेवी करनसिंह ऐरले तत्काल स्वास्थ्य चौकीमा रहेका मेसिन, उपकरण सञ्चालनमा ल्याउनुपर्ने बताए । “स्वास्थ्य चौकीलाई चुस्तरुपमा सञ्चालन गर्ने जिम्मा नगरपालिकाको हो”, उनले भने, “तत्काल दक्ष प्राविधिकको व्यवस्था गरी उपकरण सञ्चालनको व्यवस्था गरी उपचारलाई सहज बनाइनुपर्छ ।”
नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले नगर प्रमुखले चिकित्सक र प्राविधिकको व्यवस्था गर्ने प्रतिबद्धता गरेको बताए । छिट्टै स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरी उपकरण सञ्चालनमा आउने उनको दाबी थियो । “यहाँ रहेका उपकरण सञ्चालन गर्ने प्राविधिकको दरबन्दी नहुँदा समस्या भएको हो”, उनले भने, “नगरपालिकाको तर्फबाट भए पनि प्राविधिकको व्यवस्था गर्नका लागि कार्य अगाडि बढाउँदै छौँ ।”
स्वास्थ्य चौकीमा रहेको प्रयोगशाला परम्परागत तरिकाले सञ्चान हुँदै आएका छन् । प्रयोगशालालाई आधुनिक बनाउन नयाँ मेसिन व्यवस्था गर्नका लागि बारम्बार माग हुँदै आए पनि नगरपालिकाको स्वास्थ्य शाखाबाट अश्वासन मात्रै पाइने गरेको स्वास्थ्य चौकीका कर्मचारीको भनाइ छ । बिरामीलाई छिटोछरितोरुपमा सेवा दिनका लागि प्रयोगशालामा कुल्टरकाउन्टर र एनलाइजरको आवश्यकता रहेको छ ।
स्वास्थ्य शाखा प्रमुख भट्टले प्रयोगशालालाई आधुनिक बनाउनका लागि माग गरिएका मेसिन खरिद गर्न बजेट अपुग रहेकाले उपकरण उपलब्ध गराउन नसकिएको बताए । “एउटै मेसिन खरिद गर्न छ देखि सात लाखसम्म पर्छ”, उनले भने, “जुन तरिकाले भए पनि मेसिन खरिद प्रक्रिया अगाडि बढाउछौँ । शाखाका लागि विनियोजित बजेट र त्यसबाट हुन नसके प्रदेशबाट मेसिनको व्यवस्था गर्छौं ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २४, आईतवार ०९:०८सन्तोष र प्रियनाको ‘बयान’ ले मिलियन भ्युज पार्यो
समाचार२०८२ कार्तिक २४, आईतवार ०६:४९सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवमा राष्ट्रपति पौडेल सहभागी हुने
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न







