झापामा बढ्दै दादुराको प्रकोप

झापा, ५ माघ । पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले झापा गाउँपालिका र विर्तामोड नगरपालिकामा दादुराको प्रकोप देखिएको बताए ।
उनले गत वर्ष बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिबाट फैलिएको दादुराको प्रकोप यस वर्ष झापासम्म आइपुगेको जानकारी दिए । जिल्लामा दुई हप्ताको अन्तरालमा सात जनामा दादुराको सङ्क्रमण देखिएको उनले बताए ।
उनका अनुसार झापा गाउँपालिकामा छ जना र विर्तामोड नगरपालिकामा एक जनामा दादुरा देखिएको छ । झापा गाउँपालिका–७ मदरगाँछका दुई जना सन्थाल, तीन जना थापा र एक जना बराइली थरका व्यक्तिमा दादुराको सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनले सात वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट सङ्क्रमित भएको जानकारी दिए । उनीहरुको शरणामती हेल्थपोस्टमा रक्त नमुना परीक्षण गर्दा दादुरा देखिएको हो । रक्त परीक्षणमा दादुराको प्रकोप एकै घरका तीन जनासम्ममा देखा परेको थियो ।
यसैगरी विर्तामोड नगरपालिका–३ की पाँच वर्षीया बालिकामा पनि दादुराको सङ्क्रमण देखा परेको छ । उपचारका लागि दुई दिनअघि बिर्तामोड नगर अस्पताल ल्याइकी बालिकाको रगत परीक्षण गर्दा दादुरा पुष्टि भएको थियो । हाल बालिकालाई आइसोलेसनमा राखिएको उनले जानकारी दिए ।
सरकारले सन् २०२३ सम्ममा नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य राखेको थियो । तर हरेक वर्ष मुलुकका विभिन्न जिल्लामा देखिने दादुरा प्रकोपका कारण लक्ष्यप्राप्ति हुन नसकेको बताइएको छ । सरकारले नौ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई नियमित खोप दिइरहेको छ । तर, झापा गाउँपालिकामा मात्र सात वर्षको अवधिमा एक हजार सात सय ८७ जनाले नियमती खोप नलगाएको तथ्याङ्क फेला परेको अधिकृत पोखरेलले बताए ।
उनले गत साउन, भदौमा कोशीको मोरङ र सुनसरी जिल्लामासमेत दादुरा देखिएको बताए । “हामीले यसलाई झापा गाउँपालिकामा महामारीका रुपमा लिएका छौँ”, उनले भने, “सामान्य ज्वरो मात्र आएको छ भने पनि नजिकैको स्वास्थ्यचौकीमा गएर रगत परीक्षण गर्न सबैलाई अनुरोध गर्दछौँ ।”
उनले दादुरा सङ्क्रमितको थुक, खकारबाटसमेत अर्को व्यक्तिमा सर्ने हुँदा झापा गाउँपालिकाका जनप्रतिनिधिलाई नै राखेर दादुरा रोगको लक्षण, यसको जलिटता, अन्य असर र समुदायमा पार्ने प्रभावका बारेमा समेत जानकारी दिएको बताए ।
दादुरा प्रायः पाँच वर्षमुनिका बालबालिकामा लाग्छ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । यो रोग खोक्दा वा हाच्छ्यूँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कणले यो रोग अरू स्वस्थ व्यक्तिमा फैलाउने गर्दछन् । उनले आफ्नो घर वा छिमेकमा ज्वरो आएको बच्चा छ भने तत्काल रक्त परीक्षण गर्न आग्रह गरे । सङ्क्रमित अध्ययन गर्ने विद्यालयका सबै विद्यार्थीको रगत परीक्षण गरिरहेको जानकारी पनि दिए ।
अधिकृत पोखरेलले दादुराको उपचार भनेको दादुरा आउन नदिने खोपमात्र भएका कारण सरकारले फागुनदेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुराविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिरहेको पनि बताए । नेपालमा दादुराको खोप अभियान सन् २००४ देखि सुरु भएको हो । धेरैले पहिलो डोज लगाएपछि दोस्रोे डोज नलगाएकाले पनि यो रोग निवारणमा चुनौती थपिएको उनको भनाइ छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २७, शुक्रबार १०:५६आइतबार पनि ओपीडी सेवा खोल्न अस्पताललाई सरकारको निर्देशन
समाचार२०८२ चैत्र २७, शुक्रबार १०:३६संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुने
समाचार२०८२ चैत्र २७, शुक्रबार १०:२६नीलकण्ठमा आमा समूहका लागि नेतृत्व विकास तालिम
समाचार२०८२ चैत्र २६, बिहीबार १९:२३नेपाली सेनाका नयाँ अधिकृतहरुलाई राष्ट्र सेवामा समर्पित हुन प्रधानमन्त्री शाहको आग्रह







