Home समाचार दरबन्दी र जनशक्तिबिनै पाँचथर अस्पताल स्तरोन्नति

दरबन्दी र जनशक्तिबिनै पाँचथर अस्पताल स्तरोन्नति

0
Google search engine

पाँचथर, माघ ६ । पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन् ।

कोशी प्रदेश सरकारले यस जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । पाँचथरसँगै जिल्ला अस्पताल तेह्रथुमको समेत स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर स्तरोन्नतिअनुसार आवश्यक जनशक्तिको दरबन्दी प्रदेश सरकारले अहिलेसम्म स्वीकृत गर्न सकेको छैन । विगतमा १५ श्ययामा सञ्चालित अस्पतालको स्वीकृत ३२ जना जनशक्तिको दरबन्दीमा अहिले १७ जना कर्मचारीको पद रिक्त रहेको छ । ‘

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.वुद्धिबहादुर थापाका अनुसार प्रशासनिक संरचना बदलिँदा प्रदेश सरकार मातहत सञ्चालनमा रहेको अस्पतालका लागि आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाह गुणस्तरीय बन्न सकेको छैन । विसं २०४५ मा स्थापित जिल्ला अस्पतालमा ०६९ मा संशोधित व्यवस्थाअनुसार ३२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी छ । जसमध्ये हाल १७ पद रिक्त छ । तर अस्पतालले दरबन्दी करारमा १४ जना, प्रदेश करारमा १० जना, छात्रवृत्ति करारमा छ जना, कार्यक्रम करारमा १० जना, स्वास्थ्यकर्मी करारमा तीन जना र अस्पताल विकास समिति करारमा ३१ जना कर्मचारी नियुक्त गरी ५० शय्याको सेवा दिँदै आएको छ ।

स्तरोन्नतिअनुसार दरबन्दी र जनशक्ति नहुँदा गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भएको मेडिकल सुपरिटेन्डेन्ट डा थापाको भनाइ छ । दरबन्दी सिर्जनाका लागि प्रदेश सरकारले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण नै गर्न सकेको छैन । कोशी प्रदेश सरकारले मातहतका निकायहरूका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य नै नथालेको स्वास्थ्यकर्मी बताउँछन् ।

जनशक्ति अभावकै कारण विशेषज्ञ सेवा सञ्चालन, उपलब्ध भएका भेन्टिलेटर र सघन उपचार कक्ष (आइसियु)को सञ्चालन समेत हुन नसकेको डा थापाले जानकारी दिनुभयो । पाँचथरसहित छिमेकका तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीलाई नियमित सेवा दिइरहेको जिल्ला अस्पतालको स्तरोन्नति र जनशक्ति व्यवस्थापनका यहाँका सरोकारवालाले निरन्तर पहल गरे पनि सार्थक हुन सकेको छैन ।

गत आर्थिक वर्ष २०७९/०८० मा यस अस्पतालमा आएका सेवाग्राहीको तथ्याङ्कले पनि यस अस्पतालको सुधार अपरिहार्य रहेको देखाउँछ । गत आवमा आकस्मिक सेवाबाट २९ हजार नौ सय ४२ जना, बहिरङ्ग सेवाबाट ७२ हजार एक सय ९५ जना, अन्तरङ्ग सेवाबाट तीन हजार तीन सय १० जना, आमा सुरक्षा कार्यक्रम सेवाबाट एक हजार एक सय २१ जना लाभान्वित भएको अस्पतालको तथ्याङ्क छ ।

यस्तै सुरक्षित गर्भपतन सेवाबाट छ सय ८६ जना, नवजात शिशु विशेष उपचार सेवाबाट ५८ जना, शल्यक्रिया सेवाबाट दुई हजार १७ जना, रेडियोलोजी सेवाबाट २१ हजार छ सय ६५ जना, ल्याब सेवाबाट १८ हजार ४२ जना, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र सेवाबाट ५५ जना, सामाजिक सेवा एकाइबाट एक हजार छ सय ७० जना, मेडिको लिगल सेवाबाट दुई सय ३४ जना, हेमोडायलाइसिस सेवाबाट चार जना सेवाग्राही लाभान्वित भएका छन् ।

गत वैशाखदेखि सञ्चालनमा आएको अस्पतालको नयाँ भवन सेवा प्रवाहमा भौतिक क्षेत्रमा भने केही सहज बनाएको मेडिकल सुपरिटेन्डेन्ट डा थापाको भनाइ छ । सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट तथा सहरी विकास तथा भवन निर्माण विभागबाट ५० शय्या सञ्चालनका लागि रु २१ करोड ३४ लाख एक हजार नौ सय ८२ को लागतमा नयाँ भवन निर्माण भएको हो । २०७४ कात्तिक १६ गतेदेखि निर्माण सुरु भएको भवन गत वर्षको चैत २२ गते अस्पताल विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।

सेवा प्रवाहको क्षेत्र ठूलो रहेको अस्पतालमा दरबन्दी र जनशक्ति अभाव, कर्मचारी आवासको उपयुक्त व्यवस्था नहुनु, समयसापेक्ष तालिमको अभाव, अस्पतालको घेराबारा हुन नसक्नु, अस्पतालमा पर्याप्त एम्बुलेन्स अभावजस्ता समस्या रहेको मेडिकल सुपरिटेण्डेण्ट डा थापाले बताए । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here