बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण
![बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण बाबियाचौर स्वास्थ्य चौकी भवन निर्माण](https://asalkhabar.com/wp-content/uploads/2024/02/post.png)
म्याग्दी, २५ माघ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो । दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए ।
“बाबियाचौर स्वास्थ्य चौकी स्थापनाकालदेखि नै सहश्रधारामा रहेको सामुदायिक भवनको एउटा साँघुरो कोठाबाट सञ्चालन हुँदै आएको थियो”, उनले भने, “निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको भवनमा विद्युत् जडान गरेर केही दिनमै प्रयोगमा ल्याउने तयारीमा छौँ ।”
भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ । भवन निर्माणका लागि विसं २०७८ माघ २० गते ग्राण्ड–खाम्पाचे एसके जेभी काठमाडौँसँग एक करोड ४९ लाख २८ हजार तीन सय ७२ मा ठेक्का सम्झौता भएको छ ।
भेरियसन अर्डर गर्दा लागत घटेर एक करोड ४३ लाख भएको भवनको ९२ प्रतिशत भौतिक प्रगति भएको र एक करोड ३० लाखमात्र भुक्तानी भएको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए ।
“मूल्याङ्कनका क्रममा डिजाइनअनुसारको सबै संरचना निर्माण नगरेकाले भुक्तानीका क्रममा रकम घटाएको हो”, उनले भने, “दुई वर्षको ठेक्का अवधिभित्रै भवन निर्माण सकिएको छ ।” भवन परिसरमा घेराबार र प्रवेशद्वार निर्माणको काम बाँकी छ ।
रणवाङका ललितबहादुर मल्ल, डम्मरबहादुर मल्ल, होमबहादुर सेन, तिलकबहादुर सिंह, भगवान सुवेदी र स्व मातृकाप्रसाद गौचनले स्वास्थ्य चौकीको भवन बनाउन पाँच रोपनी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खातीले बताए ।
यसअघि अस्थायी र साँघुरो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण शर्माले बताए । पाँचवटा वडा रहेको मङ्गलाको चारवटा वडाको स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन बनेको छ । वडा नं ५ को अर्मन स्वास्थ्य चौकीको भवन सङ्घीयताअघि नै निर्माण भएको थियो । वडा नं ३ को बरङ्जा र वडा नं १ कुहुँको स्वास्थ्य चौकी भवन अघिल्लो कार्यकालमा निर्माण भएको हो ।
हाल बुकेनीस्थित वडा नं ४ को भवनबाट सञ्चालन भइरहेको सामुदायिक स्वास्थ्य एकाइलाई स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने र भवन बनाउन पहल गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास