मधुमेहबारे व्याप्त भ्रम चिर्न आवश्यक छ : डा भट्टराई

मधुमेहबारे व्याप्त भ्रम चिर्न आवश्यक छ : डा भट्टराई

काठमाडौँ, ६ फागुन । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन् ।

राष्ट्रिय समाचार समिति (रासस)को ६३औँ वार्षिकोत्सवको सन्दर्भमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा डा भट्टराईले मधुमेहबारे समाजमा व्याप्त भ्रम रहेको भन्दै उक्त भ्रम चिर्न आवश्यक रहेको बताइन् । मधुमेह भएकाले सन्तुलित खानापानमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

पछिल्लो समय मधुमेहका बिरामीको सङ्ख्यासँगै यसको जोखिम पनि बढ्दै गइरहेकोबारे सचेत गराउँदै डा भट्टराईले मधुमेहका बिरामीले चिकित्सकको सल्लाहबमोजिम मात्र खानपान र औषधिको प्रयोग गर्न सुझाव दिइन्।

“मधुमेह रोगबारे हाम्रो समाजमा धेरै भ्रम र अन्योलता छ । हरियो घाँसमा खालीखुट्टा हिँड्नुपर्छ भन्ने कुरा बिरामीले सुनाउनुहुन्छ । यस्ता बिरामीले स्पोर्टस् जुत्ता लगाउन उपयुक्त हुन्छ । धेरै कस्सिएको र असहज हुने जुत्ता नलगाउने, खुट्टाको नियमित सरसफाइमा ध्यान दिनुपर्छ”, उनले भनिन्, “सुगर फ्रि (चिनीरहित भनिएका चामल, बिस्कुट वा कुनै पनि परिकारले मधुमेह निको हुँदैन । यस्ता विज्ञापनका आधारमा खाना उपभोग गर्नु हुँदैन । यसले फाइदा कम बेफाइदा बढी हुन्छन् ।”

डा भट्टराईले बजारमा पाइने सुगर फ्रि भनिएका खाद्यान्न खानुभन्दा गाउँघरमा उत्पादित अन्न खानु स्वास्थ्यका लागि स्वस्थकर हुने बताउँदै सरकारले किसानलाई प्राङ्गारिक उत्पादनमा गर्न प्रोत्साहन हुने किसिमका नीति बनाउनुपर्नेमा जोड दिइन् । “मकै, भटमास, गेडागुडी, साग, रेसादार फलफुल सेवन गर्नु पर्दछ”, उनले भनिन्, “मदिरा, बजारमा पाइने पेय पद्धार्थ, चुरोटलगायत हानिकारक वस्तुको प्रयोग नगर्ने हो भने पनि मधुमेहको जोखिमबाट बच्न सकिन्छ ।”

डा भट्टराईले मधुमेह वंशाणुत र वातावरण गरी दुई कारणले हुने उल्लेख गर्दै स्वस्थ्य जीवनशैली अपनाउँदा यसको नियन्त्रण गर्न सकिने बताइन् । उनले उच्च मधुमेहले टाउकोदेखि खुट्टासम्मका विभिन्न भागमा असर पार्ने बताइन् । “मुख्यतः मधुमेहका कारण अन्धोपन, मिर्गौलामा समस्या, मुटुरोग, खुट्टा, खुँडा र पैतलामा समस्या हुने गर्दछ”, उनले भनिन् ।

मधुमेहका बिरामीमा थकाई, आलस्य, पिसाब धेरै लाग्ने, तौल घट्ने, खुट्टा पोल्ने, मुख सुख्खा हुने, कमजोरी र घाउ छिटो निको नहुने लक्षण देखिने डा भट्टराईले जानकारी दिइन् । समयमा नै यो रोग नियन्त्रण गर्न सके सक्रिय जीवनशैली अपनाउन सकिने उनले बताइन् । झण्डै ५० प्रतिशत बिरामीमा यसको लक्षण नदेखिने उनको भनाइ थियो ।

मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा भट्टराईले मोटो मानिसलाई मात्र मधुमेह हुन्छ भन्ने आम बुझाइ रहेको भन्दै दुब्लो व्यक्तिमा समस्या हुनसक्ने भएकाले सबैले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताइन् । “मधुमेह जुनसुकै व्यक्तिलाई हुनसक्छ । नियमित परीक्षण गराउनु, सन्तुलित खाना खानु, तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम गर्नु नै यसको प्रभावकारी उपचार विधि हो”, उनले भनिन्, “प्रत्येक व्यक्तिले सकेसम्म वर्षमा एकपटक यसको परीक्षण गराउनुपर्दछ ।”

बालबालिकामा टाइप–एक र युवाअवस्थामा टाइप–दुई मधुमेहको समस्या धेरै देखिनडा भट्टराईको भनाइ थियो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा रासस सञ्चालक समितिका सदस्य एवं आलेख प्रमुख कृष्ण अधिकारीले स्वस्थ जीवनशैलीका लागि चिकित्सकसँग सल्लाह लिनुपर्ने बताइन् । उनले कर्मचारीका लागि यस्ता अन्तक्र्रिया प्रभावकारी हुने भन्दै महिनामा एकपटक स्वास्थ्य सम्बन्धी अन्तक्र्रिया गरिनुपर्ने आवश्यकता औँल्याइन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =  

Protected by Spam Master