पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन

पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो ।
यसअघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्दै आएकामा सोमबारदेखि थप पाँच घण्टा सेवा विस्तार गरी ओपिडी सञ्चालन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
दिउँसोमा मात्र ओपिडी सेवा सञ्चालन गर्दा बिहान र बेलुका बिरामी निजी क्लिनिकमा गएर औषधोपचार गर्नुपर्ने बाध्यता बढेको गुनासो हाउन थालेपछि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म ओपिडी सञ्चालन गर्न थालिएको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए । बिहानदेखि साँझ अबेरसम्म सेवा सञ्चालन हुँदा दैनिक मजदुरीमा जाने, शिक्षक तथा अन्य कर्मचारीलेसमेत सहजरुपमा स्वास्थ्य परीक्षण गराउन पाउने उनको भनाइ छ ।
विशेषगरी मजदुर, कर्मचारी, शिक्षक लगायतको सुविधाका लागि यो सेवा सुरु गरिएको हो । पर्वत अस्पतालले बिहान र बेलुकाका समयमा ओपिडी’ सेवा सुरु गरेपछि दिवासत्रमा स्वास्थ्य सेवा लिन समस्या भोग्दै आएकालाई राहत हुने उनले बताए ।
दिउँसो मात्र सेवा प्रदान गर्दा बिरामीको घुइँचो बढी हुनुका साथै सेवाग्राहीलाई पनि समस्या हुने भएपछि सेवा विस्तार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए । उनका अनुसार दिवासत्रका रूपमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने गरेकामा अब बिहान ७ बजेदेखि सुरु भई साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । थप भएको समयमा सेवा लिँदा कुनै पनि थप शुल्क नलाग्ने उनको भनाइ छ ।
सेवाग्राहीको सहजताका लागि कर्मचारी तथा चिकित्सक थप समय अस्पतालमा खटिन तयार भएपछि समय पनि थप गरिएको डा बास्तोलाले बताए । शनिबार र सार्वजनिक बिदाका दिनमा भने ओपिडी सेवा पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए । उनका अनुसार थप गरिएको समयमा पनि स्वास्थ्य बिमितलाई बीमामार्फत सेवा उपलब्ध गराइनेछ ।
विस्तारित सेवामा आउँदा बीमा कार्ड अनिवार्यरुपमा ल्याएको हुनुपर्ने अस्पतालले सुचना जारी गर्दै जानकारी गराएको छ । सार्वजनिक बिदाका दिनमा ओपिडी सेवा बन्द हुने भए पनि आकस्मिक सेवा २४सै घण्टा सञ्चालन हुनेछ । मजदुर, शिक्षक, कर्मचारीलगायतले दैनिक काम छोडेर उपचारका लागि समय खचिर्नुपर्ने बाध्यता अन्त्य भएको डा बास्तोलाले बताए ।
योसँगै चिकित्सक तथा सेवाग्राहीबीचको परामर्श सेवामा यथेष्ट समय मिल्ने, बिहानै खाली पेटमा रगत परीक्षण गर्नुपर्ने सबै बिरामीलाई सहज हुने, भिडभाडमा कमी भई सेवाग्राहीलाई लामो समय लाइनमा बस्नु नपर्ने, ‘ओपिडी रिफर’ हुनुपर्ने बिरामीले समयमा नै रिफर भएर जान पाउनेलगायत सुविधा हुने उनको भनाइ छ ।
गत आइतबार मात्रै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका खगराज अधिकारीले पहिलो मन्त्रिपरिषद् बैठकबाट जिल्ला अस्पतालको ओपिडी सेवालाई विस्तार गर्ने निर्णय गरेका थिए । उनको निर्णय कार्यान्वयन नहुँदै पर्वत अस्पतालले भने आफ्नो पूर्वतयारी अनुसारको सेवा विस्तार गरेको जनाएको छ ।
सेवा विस्तार भएसँगै बिहानमा तीन घण्टा र साँझ दुई घण्टा गरी थप पाँच घण्टा कर्मचारी तथा चिकित्सक खट्नुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गिरीले जानकारी दिए । सेवा विस्तार गरे थप जनशक्ति व्यवस्थापन पनि गनृ नसकिएको उनले बताए । प्रदेश सरकारले केही जनशक्ति थप गरिदिनुपर्ने उनको माग छ ।
पर्वत अस्पतालमा दैनिक दुई सय ५० देखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा








