‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’, गरिन् परीक्षा र एलेक्सको प्रशंसा

काठमाडौं । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ । चलचित्रमा समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले प्रस्तुत गरेको प्रभावशाली नृत्यसँगै वरिष्ठ कलाकार दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान व्यक्त गरिएको छ ।

गीत रिलिज भएको केही समयमै दर्शकमाझ लोकप्रिय बन्न थालेको छ भने यसले चलचित्रप्रति दर्शकको उत्साह अझै बढाएको देखिएको छ । एक समय नेपाली सिनेमा क्षेत्रमा आफ्नो राज जमाएकी अभिनेत्री निरुता सिंहले पनि उक्त गीतमा देखिएको कलाकार द्वयको प्रस्तुतिको खुलेर प्रशंसा गरेकी छन् ।

भारतको मुम्बईमा रहेकी सिंहले कलाकार परीक्षा लिम्बू र एलेक्स पारससँग टेलिफोन संवादमा सिंहले भिडियो आफूलाई अत्यन्त मन परेको जनाइन् । उनले परीक्षाको नृत्य देख्दा आफूलाई त्यही क्षणमा फर्किएको महसुस भएको बताउँदै युवा कलाकारहरूले आफूलाई गीत समर्पण गरेकोमा आभार प्रकट गरिन् । एलेक्स पारसको नृत्यले दिलीप रायमाझीको झल्को दिएको उनले उल्लेख गरिन् ।

गीतको भिडियोमा परीक्षा र एलेक्सलाई सन् २००१ मा सार्वजनिक भएको सुपरहिट फिल्म ‘दर्पण छाया’ को झल्को दिने शैलीमा प्रस्तुत गरिएको छ । विशेषतः नृत्यको हुकस्टेप पनि त्यही फिल्मको चर्चित गीत ‘त्यो डाँडा पारी’ सँग मेल खाने खालको राखिएको छ । चलचित्रमा एलेक्स पारसले दिलीप रायमाझीको प्रशंसकको भूमिका निर्वाह गरेका छन् ।

यसैबीच, बुद्ध जयन्तीको अवसरमा परेको सोमबारको सार्वजनिक बिदाको दिन ‘ऊनको स्वीटर’ ले देशभर व्यापक दर्शक आकर्षण गरेको छ । अधिकांश हलमा चलचित्रका शो हाउसफुल देखिएका छन् ।

शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले आइतबारसम्म दैनिक ३ सयभन्दा बढी शो गरिरहेको र सोमवार थप शो प्राप्त गरेको वितरक गोविन्द शाहीले जनाएका छन् । सोमबारको बिदाका लागि देशभर थप शोहरू तोकिएको र चलचित्रको व्यापार अझ आक्रामक भएको छ । चलचित्रको ट्रेलरले पनि युट्युब ट्रेन्डिङमा पहिलो स्थान ओगटेको छ ।

यो पनि पढ्नुहोस् :  नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक

नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । ट्रेलर, टिजर र गीतहरूको सकारात्मक प्रभावले गर्दा ‘ऊनको स्वीटर’ अहिले नेपाली बक्स अफिसमा चर्चा र सफलता दुवैले सुशोभित भइरहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   7   =  

Protected by Spam Master