नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले आफ्नो डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’ को पहिलो झलक सार्वजनिक गरेकी छन्। निर्माण पक्षले शुक्रबार आयोजित विशेष कार्यक्रममा चलचित्रका दुई आकर्षक पोस्टर सार्वजनिक गरेको हो, जसले दर्शकमाझ उत्सुकता र चर्चा दुवै बढाएको छ।
सार्वजनिक पोस्टरहरूले नीतालाई एकदमै फरक, गम्भीर र चुनौतीपूर्ण भूमिकामा प्रस्तुत गरेका छन्। पहिलो पोस्टरमा उनी स्कुले छात्राको पोसाकमा देखिएकी छन्। छोटो कपाल, घाँटीमा कालो धागो र नीलो पिनाफोरमा प्रस्तुत उनको ‘डी–ग्लाम’ अवतारले नेपाली चलचित्रमा प्रायः देखिने परम्परागत नायिका छविभन्दा पूर्णतः भिन्न अनुभूति दिन्छ। उनको हेराइ र मुस्कानमा झल्किने निर्दोषताले पात्र ‘पार्वती’ कुनै विशेष मानसिक वा सामाजिक अवस्थासँग संघर्षरत रहेको संकेत गर्छ। पोस्टरले उनी समाजले परिभाषित गरेको ‘सामान्य’ पात्र नभई आफ्नै संसारमा बाँच्ने संवेदनशील चरित्र भएको आभास दिन्छ।
दोस्रो पोस्टरमा अशोक दर्जीले नीतालाई पिठ्युँमा बोकेको दृश्य देखिन्छ। उमेरले सानो भए पनि अशोकको पात्रले नीताको पात्रलाई सहारा दिइरहेको प्रतीकात्मक दृश्यले चलचित्रमा उनीहरूको सम्बन्ध निकै भावनात्मक र निस्वार्थ रहेको संकेत गर्छ। दुवैको अनुहारमा देखिएको उन्मुक्त हाँसोले कथाको संवेदनशीलता झल्काउँछ भने नीताले आकाशतर्फ देखाएको औँलाले पात्रका सपना, आशा र कल्पनाशीलताको प्रतिनिधित्व गरेको अनुभूति हुन्छ।
चलचित्र आगामी २०८३ सालको रक्षाबन्धन, भदौ १२ गते प्रदर्शन हुने तय गरिएको छ। पोस्टरमा दिदी–भाइजस्तो सम्बन्ध चित्रण गरिनु र रक्षाबन्धनकै अवसरमा प्रदर्शन मिति तय गरिनुले चलचित्र भावनात्मक पारिवारिक सम्बन्ध र सामाजिक जिम्मेवारीको कथामा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ।
चलचित्रमा नीता र अशोकसहित दीपाश्री निरौला, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ।
नीता ढुंगाना फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रका निर्माता हरिहर अधिकारी हुन्। सफल चलचित्रहरूमा काम गरिसकेका छायांकार सुदिप बराल डिओपीको भूमिकामा छन् भने संवाद शिवम् अधिकारीले तयार पारेका हुन्।
चलचित्रको वितरण जिम्मा रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनी ले लिएका छन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









