‘ऊनको स्वीटर’को जादू: हलमा किशोर दर्शकको ओइरो, निर्देशक भन्छन्, ‘भावनाले उमेर नभन्ने रहेछ’

काठमाडौं। हाल विश्वभरका सिनेमा हलहरूमा दर्शकको व्यापक उपस्थिति सहित प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रको कलाकार टोली हाल नेपाल भ्रमणमा छन्, जसमा अभिनेताहरू विपिन कार्की र एलेक्स पारस, अभिनेत्री परीक्षा लिम्बु, गायक सुजन चापागाईँ र कार्यकारी निर्माता तथा कलाकार मिलन खत्री रहेका छन् ।
उक्त टोलीले हालै दमौली, पोखरा, बुटवल र चितवनका विभिन्न सिनेमा हलहरूमा पुगी ‘ऊनको स्वीटर’ हेर्न आएका दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ । दर्शकहरू आफ्ना प्रिय कलाकारहरूलाई प्रत्यक्ष भेट्न पाउँदा निकै उत्साहित देखिएका थिए भने कलाकारहरू पनि दर्शकको माया र उत्साह देखेर दङ्ग थिए ।
हल-हलको यो भ्रमण चलिरहँदा, चलचित्र युनिटले अप्रत्याशित रूपमा दर्शकहरूको ठुलो चाप अनुभव गरिरहेको छ । विशेष गरी किशोर उमेर समूहका दर्शकहरूले चलचित्रलाई कसरी लिन्छन् भन्ने विषयमा दोधारमा रहेको निर्माण टोली स्वयं यो माया देखेर आश्चर्यचकित भएको छ । सोमबार बिहानी शो मा चितवनको इन्द्रदेव हलमा पुगेका कलाकारहरूले किशोर दर्शकहरूको सागर नै उर्लिएको पाए । यो दृश्यले सम्पूर्ण टोलीलाई अचम्मित तुल्यायो । चितवन मात्र नभई विश्वभर नै किशोर दर्शकहरूले ‘ऊनको स्वीटर’ लाई अत्यधिक मन पराइरहेका छन् ।
‘ऊनको स्वीटर’ ले पुस्तान्तरको भावनालाई जोड्न सफल भएको छ र दर्शकहरूको यो अभूतपूर्व मायाले चलचित्र युनिटलाई थप उत्साहित बनाएको छ । चलचित्रका निर्देशक नवीन चौहानले ‘ऊनको स्वीटर’ पुरानो पुस्ताको कथामा आधारित भएकाले अहिलेको पुस्ताले यसलाई कस्तो प्रतिक्रिया दिने भन्ने बारे प्रारम्भमा आफूमा ठुलो डर र शङ्का रहेको तर अहिले आफ्नो भ्रम हट्दै गएको बताए ।
“यो चलचित्र केही पुरानो पुस्ताको कथामा आधारित छ । त्यसैले मलाई यो विषयलाई अहिलेको पुस्ताले कसरी ग्रहण गर्छ भन्ने ठुलो डर र शङ्का थियो । चलचित्रमा प्रस्तुत गरिएको माया, प्रेम र अन्य प्रसङ्गहरू पनि पुरानै शैलीका छन् । तर अचम्मको कुरा के भयो भने, यो चलचित्रलाई केवल एक वा दुई ठाउँमा मात्र नभई संसारभरका नयाँ पुस्ताका दर्शकहरूले अत्यन्तै धेरै मन पराएका छन्,” उनले भने “चलचित्र हेरेपछि किशोर उमेर समूहका दर्शकहरू यसका ठुला प्रशंसक बनेका छन् र यसलाई उत्सवको रूपमा मनाइरहेका छन् । यसबाट मैले के बुझेँ भने, भावनाहरू समय र परिस्थितिको बन्धनमा रहँदैनन् । केही पुराना पुस्ताका दर्शकहरूले यसलाई मन पराउनु त स्वाभाविक थियो नै, तर साना-साना बालबालिकाहरूले समेत यो चलचित्रलाई उत्तिकै माया देखाइरहेका छन् ।”
कलाकारहरूको नेपाल भ्रमण अझै जारी रहनेछ र उनीहरू देशका अन्य भागहरूमा पनि दर्शकहरूसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । चलचित्रले पहिलो हप्ता नै ५ करोड ७५ लाख ग्रस कलेक्सन गरेको थियो भने हाल उक्त आँकडा बढेर निकै माथि पुगिसकेको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २९, आईतवार १२:३६प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली
समाचार२०८२ भाद्र २९, आईतवार १२:२५जेन-जी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने, घाइतेको निशुल्क उपचार
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १८:५९नेपालमा प्रधानमन्त्री शुशिला कार्कीको आगमन महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण- मोदी