उपचारका लागि अब नाडी छाम्न पर्दैन « रिपोर्टर्स नेपाल

बागलुङ, असार २२ । मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था थपिए। साविकको चार गाविस मिलेर बनेको निसीखोला गाउँपालिकामा २०७२ सालअघि जम्मा चारवटा स्वास्थ्य चौकी थिए।
तत्कालीन गाविसअन्तर्गतका देविस्थान, बोहोरागाउँ, निसी र राजकुत स्वास्थ्य चौकी रहेका निसीखोलामा १० वर्षमा जनतालाई स्वास्थ्यको पहुँच विस्तार गर्दै सातवटा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ केन्द्र थपिएका छन् भने एउटा आधारभूत अस्पताल पनि निर्माणाधीन छ। एक महिनाअघि मात्र निसीखोला–७ स्थित कुँडुलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ।
गाउँपालिकाले हालै कुडुँलामा सामुदायिक स्वास्थ्य सेवा एकाइ सञ्चालनमा ल्याएको छ। दूरदराजका नागरिकलाई स्वास्थ्यको पहुँच विस्तार गर्न र सातवटै वडामा स्वास्थ्यको पहुँच विस्तार तथा स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ थपिएको निसीखोला गाउँपालिकाको स्वास्थ्य शाखाका कसिन्द्र शाहीले जानकारी दिए।
साविकको गाविसमा स्वास्थ्य चौकी रहे पनि अन्य सबै वडामा स्वास्थ्य संस्थाका लागि आधारभूत स्वास्थ्य केन्द्र थपिएको र स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेको निसेलढोरजस्ता ठाउँमा चारवटा स्वास्थ्य एकाइ स्थापना गरिएको हो। बोहोरागाउँ स्वास्थ्य चौकीको प्रमुख भएर लामो समय काम गरिसकेका शाहीले स्वास्थ्यकर्मीले उपकरण, प्रयोगशाला अभावमा धामी झाँक्रीले जस्तो नाडी छाम्ने अवस्थाको अन्त्य भएको बताए। उनका अनुसार प्रयोगशालाको अभावमा रोग पत्ता लगाउन समस्या भए पनि अहिले गाउँपालिकाभित्रै तीनवटा प्रयोगशाला स्थापना भइसकेका छन्।
‘निसीखोलामा स्वास्थ्य क्षेत्रले फड्को मारेको छ, उपकरण, औषधि तथा स्वास्थ्य संस्थाको अभावमा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको छ, गाउँपालिका स्थापनापश्चात पालिकाले ठूलो लगानी स्वास्थ्य क्षेत्रमै गरेको छ,’ शाहीले भने, ‘हातको नाडी छामेर उपचार गर्नुपर्ने बाध्यता अन्त्य भएको छ, सामान्य रोग पालिकाभित्रका तीनवटै प्रयोगशालामा पत्ता लगाउन सकिन्छ।’
निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरका अनुसार गाउँपालिकामा अहिले ११ स्वास्थ्य संस्था, १७ खोप क्लिनिक तथा ११ गाउँघर क्लिनिक छन्। स्वास्थ्यको पहुँच विस्तारमा गाउँपालिकामा २५ स्वास्थ्य क्षेत्रका कर्मचारी करारमा राखेर काम गरिरहेका छन्। गाउँपालिकाभित्र बोहोरागाउँ स्वास्थ्य चौकी, निसीखोला स्वास्थ्य चौकी र राजकुत स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनापछि परीक्षणकै लागि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ आउनुपर्ने अवस्थाको अन्त्य भएको छ।
यस्तै विकट गाउँ निसीखोलाका अन्य चार स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ। सबैभन्दा विकट गाउँ निसेलढोरका लेवाङ, अर्नाकोट र कुडुलामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। सामान्य उपाचारका लागि पालिकाभन्दा बाहिर जानुपर्ने अवस्था अन्त्य भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए।
एउटै परिवारद्वारा १६ लाखको अक्षयकोष स्थापना
आफ्ना दिवङ्गत परिवारको सम्झनामा छुट्टाछुट्टै उद्देश्य राखेर रु १६ लाखको कोष स्थापना गरिएको छ भने रु पाँच लाख सहयोग गरिएको छ। हरिलक्ष्मी स्मृति कोषद्वारा रु १६ लाखको कोष स्थापनासँगै मानव सेवा आश्रमलाई भवन निर्माणका लागि रु पाँच लाख ११ हजार ५११ प्रदान गरिएको छ।
नेपाल पत्रकार महासङ्घ बागलुङमा २०७३ सालमा स्थापना गरिएको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता कोषलाई पुण्यतिथिको अवसरमा कोष वृद्धि गरी रु सात लाख पुर्याइएको छ। ओम शान्ति ब्रह्माकुमारी इश्वरीय विद्यालय बागलुङ शाखामा रु तीन–तीन लाखको दुर्गालक्ष्मी स्मृति तथा हरिलक्ष्मी नारायण स्मृति अक्षयकोष स्थापना गरिएको छ।
मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि सहयोग गरिएको कोषका संरक्षक श्रीजय श्रेष्ठले जानकारी दिए। उनले यसअघि धवलागिरि बहुमुखी क्याम्पसमा गरिब तथा जेहेन्दर विद्यार्थीका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिएको बताए। उनले कोषले पत्रकार लेखनवृत्ति कोषका लागि रु २५ हजार र पत्रकार महासङ्घको रजतजयन्तीका अवसरमा तीन पत्रकारलाई पुरस्कृत गर्नेगरी रु एक लाखसमेत हस्तान्तरण गरेको बताए। रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार २१:०९भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा
समाचार२०८२ चैत्र २१, शनिबार १९:३२एडभान्स एकेडेमीमा प्री-प्राइमरी ग्राजुएसन समारोह भव्य रूपमा सम्पन्न
समाचार२०८२ चैत्र २१, शनिबार १८:५७युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal








