रसुवा बाढी अपडेटः तीन प्रहरीसहित १५ जना बेपत्ता, बाढीमा फसेका नौ जनाको उद्धार

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर तीन प्रहरी सहित १५ जना बेपत्ता भएका छन् । चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर प्रहरी र चिनिया कामदार गरी १५ जना बेपत्ता भएका हुन् ।
रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको भने उद्धार गरीएको छ । अहिले उद्धार तथा खोजका लागि सुरक्षाकर्मी परिचालन भइसकेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।
रसुवाको केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्याएको छ । करिब तीन बजे आएको बाढीले रसुवास्थित टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि क्षति पुगेको छ ।
भन्सार जाँच पास गर्न राखिएका र भइसकेका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ । रसुवागढीस्थित चीनतर्फ जोड्ने मितेरी पुललाई पनि बाढीले बगाएको छ । यसैबीच स्थानीय प्रशासनले त्रिशुलीका तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।
यसैबीच त्रिशूली नदीको उच्च वहावमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङ त्रिशूली नदीको किनारामा दाउरा काट्न जाँदा चीनमा भएको वर्षाका कारण एक्कासी त्रिशूलीमा आएको बाढीमा फसेका थिए ।
सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको र अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ५, बिहीबार १९:३६लैङ्गिक उत्तरदायी बजेट विषयक अन्तरक्रिया कार्यक्रम धादिङबेसीमा सम्पन्न
समाचार२०८२ भाद्र ५, बिहीबार १९:०९पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ५, बिहीबार १७:२९‘चिठ्ठी’ निर्देशक भन्छन् अनेक फण्डाबाजी गर्न हामीसँग पर्याप्त विषय छन् तर त्यो सस्तो शैली हाम्रो रोजाइमा छैन
स्वास्थ्य/जानकारी टिप्स२०८२ भाद्र ५, बिहीबार १३:१४बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै « रिपोर्टर्स नेपाल