वाग्मती प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिने

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशलाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने भएको छ । आज भक्तपुरको गठ्ठाघरस्थित कार्यक्रमस्थलमा प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठ्ठाघरमा शुक्रबार आयोजना गर्ने घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले प्रधानमन्त्री ओलीबाट प्रदेशस्तरीय पूर्णखोप सुनिश्चितता घोषणा, वाग्मती डिजिटल हेल्थ सेवा र टेलिमेडिसिन हबको एकैसाथ उद्घाटन गर्ने गरी तयारी पूरा भएको जानकारी दिनुभयो । वाग्मती प्रदेशका १३ वटा जिल्लालाई गत असार ३० गतेसम्ममा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिसकेकाले प्रदेश पनि घोषणा गर्न लागेको बताउँदै उहाँले अब कोही पनि बालबालिका खोपबाट वञ्चित नहुने बताउनुभयो ।
त्यसैगरी मन्त्रालयले टेलिमेडिसिन हबका माध्यमबाट प्रदेशका अस्पतालमा चौबिसै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने भएको छ । उहाँले साउन १६ गते प्रधानमन्त्रीबाट उद्घाटन भएसँगै भक्तपुर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटाँैडाबाट यो सेवा सुरु गरिने जानकारी दिनुभयो । क्यामरा जोडेर स्क्रिनको माध्यमबाट चिकित्सकको अगाडि ‘स्क्रिन’ राखी सम्बन्धित अस्पतालको बिरामीको अवस्था र रोगका बारेमा सबै जानकारी गराएर विशेषज्ञ चिकित्सकले टेलिस्क्रिनमार्फत निर्देश गर्दै उपचार गराउने स्वास्थ्यमन्त्री थापाले बताउनुभयो । यो सेवा अन्य अस्पतालमा पनि विस्तार गर्दै जाने उहाँको भनाइ छ । मन्त्रालयले वाग्मती डिजिटल हेल्थ सेवा पनि शुभारम्भ गर्ने भएको छ । यसमा बिरामीले घरमै बसेर अस्पतालको अवस्थाबारे जानकारी लिन सक्ने छन् । मन्त्री थापाले भन्नुभयो, “वाग्मती डिजिटल हेल्थ सेवाका लागि मोबाइल एप्स निर्माण गरिएको छ । अब आमनागरिकले आफ्नो घरमै बसेर एप्सको माध्यमबाट कुन अस्पतालमा शय्या कति खाली छन्, वा खाली छैनन् ।
आफूले खोजेको सेवाका लागि कुन अस्पतालमा सहज हुन्छ, कुन अस्पतालमा भीड छ, कुन अस्पतालमा कति बिरामी छन्, टिकट छ कि छैन सबै एप्सबाटै हेर्न मिल्छ । यसले बिरामीलाई आफूले खोजेको सेवा लिन सहज हुनेछ ।” वाग्मती प्रदेश मन्त्रालयले एप्सबाटै १३ वटै जिल्लाका अस्पतालमा दिनभर कति सङ्ख्यामा बिरामी आए, आकस्मिकमा कति, ओपिडीमा कति, भर्ना भएका कति, कति फर्किए, टिकट कतिवटा गयो, कुन विरामीलाई कुन औषधि कति बिक्री भयो, कति रकम सङ्कलन भयो, को कर्मचारी बिदामा छन्, सबै मन्त्रालय वा जुनसुकै ठउँमा बसेर पनि हेर्न सकिने मन्त्री थापाले जानकारी दिनुभयो । त्यसैगरी, अब ल्याबको रिपोर्ट लिन अस्पताल धाउनु नपर्ने भएको छ । ल्याबको रसिद काट्दा रसिदमा क्यआर कोड दिने र त्यसैबाट ल्याबको रिपोर्ट घरबाटै हेर्न र प्रिन्ट निकाल्न सकिने गरी व्यवस्था गरिएको उहाँले बताउनुभयो । मन्त्रालयले अस्पतालको सेवामा सेवाग्राहीले गुनासो राख्न सक्ने गरी इगुनासो एप्स पनि सार्वजनिक गर्ने भएको छ ।
यसमा सेवाग्राहीले घरमै बसेर क्युआर कोडबाटै गुनासोको फोटो, भिडियो, अडियो, अक्षर लेखेर र आवाजबाट गुनासो पठाउन सकिने गरी व्यवस्था गरेको उहाँले बताउनुभयो । साथै प्रदेश मन्त्रालयले प्रदेशअन्तर्गतको अस्पतालमा ‘फास्टट्र्याक ओपिडी’ सेवा पनि सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयले वाग्मती प्रदेशभरिका पत्रकारलाई स्वास्थ्य बिमामा समेट्ने भएको छ । मन्त्री थापाले प्रदेशका पत्रकारको यस वर्षदेखि बिमाको ‘प्रिमियम’ प्रदेशले स्वास्थ्य मन्त्रालयले तिरिदिने र स्वास्थ्य बिमामा पत्रकारलाई समेट्ने गरी बजेटको व्यवस्थापन गरेको जानकारी दिनुभयो ।
वाग्मती प्रदेश १३ वटै प्रादेशिक अस्पतालमा ‘डायलासिस’ सेवा विस्तार गर्ने उद्देश्यका साथ प्रदेश सरकारले खरिद गरेको १६ वटा डायलासिस मेसिन अस्पतालमा जडान गरेको जनाउँदै उहाँले बाँकी रहेका रसुवा, काठमाडौँको टोखा अस्पतालमा पनि डायलासिस मेसिन जडान गर्नेगरी तयारी गरेको बताउनुभयो । कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव डा सुमित्रा गौतमले वाग्मती प्रदेशभित्रका १३ जिल्लाका ११९ स्थानीय तह, एक हजार १२१ वडा र दुई हजार ५०० भन्दा बढी खोप केन्द्रमार्फत बालबालिकालाई पूर्णखोप लगाइएको जानकारी दिनुभयो । उहाँले जन्मेदेखि १५ महिनासम्मका बालबालिका र त्यो अवधिमा खोप लगाउन छुटेका १६ देखि २३ महिनाभित्रका एक लाख २८ हजार ४२१ बालबालिकालाई पूर्णखोप लगाएकाले पूर्णखोप सुनिश्चितता प्रदेश घोषणाको तयारी गरिएका बताउनुभयो । मन्त्रालयले यो वर्ष मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ जस्ता कार्यक्रम प्रदेशभर लागू गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा







