बानियाँ सरकारमा तीन मन्त्री पाउने वचनपछि आज राजीनामा दिँदै लामा

बागमती प्रदेशमा नयाँ बन्ने मन्त्रिपरिषद्मा आफूले रोजेका तीन मन्त्रीलाई पहिलो चरणमै शपथ खुवाउने सर्तमा सहमति जुटेपछि मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिँदै छन् । पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा लामाले आन्तरिक विवादका क्रममा आफूलाई संसदीय दलको नेताका लागि साथ दिने तीन सांसद गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई अब बन्ने इन्द्र बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री नियुक्त गर्ने ‘पक्का’ गरेका हुन् ।
पार्टीले लामालाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउन खोजेपछि विवाद चुलिएको थियो । विवादबिच संसदीय दलको नेताका लागि बानियाँ र लामा दुवैले उम्मेदवारी दिएका थिए । तर, लामा पराजित भए पनि संविधानको धारा १६८ (२) अनुसार कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा मुख्यमन्त्री बन्न संसदीय दलको नेता हुनैपर्ने बाध्यकारी व्यवस्था नभएको भन्दै राजीनामा दिन इन्कार गर्दै आएका थिए । बरु, दलको नेताको निर्वाचनमा खुलेर आफूलाई साथ दिएका लम्साललाई आन्तरिक मामिला तथा कानुन, गुरुङलाई सहकारी तथा गरिबी निवारण र श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए । यद्यपि सपथ हुन सकेको छैन ।
मुख्यमन्त्री लामाले आफूले राखेको सर्त पूरा हुने भएपछि आइतबार राजीनामा दिन लागेको बताए । ‘मैले बुधबार नियुक्त गरेका तीन मन्त्रीलाई आगामी मन्त्रिपरिषद्को पहिलो चरणमा शपथ गराउनुपर्ने सर्त राखेको थिएँ । पार्टी सभापतिको अगाडि इन्द्रजीले सहमति जनाउनुभएको छ,’ उनले भने, ‘सहमतिअनुसार नै राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’
बिहीबार सभापति देउवासँग भेटेका लामाले आफूले मार्गप्रशस्त गर्ने, तर आफूले नियुक्त गरेका र शपथग्रहण नभएका तीनजनालाई सेटल गर्नुपर्ने सर्त राखेका थिए । त्यसपछि देउवाले शनिबार संसदीय दलका नेता बानियाँलाई पनि बुढानीलकण्ठ बोलाएर लामाको सर्त पूरा गर्न निर्देशन दिएका थिए ।
बानियाँले लामा र आफूबिच अहिलेको अन्योललाई सहमतिमै निकास दिने र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने सहमति भएको बताए । उनले कांग्रेसभित्र नेतृत्वको परिवर्तनलाई लिएर देखिएको विवाद सामान्य भएको उल्लेख गर्दै लोकतान्त्रिक पार्टीभित्र यस्तो सामान्य हुने दाबी गरे । उनले आफूहरूबिच कुनै तिक्तता नरहेको र पार्टी–सरकार सञ्चालनमा सहमति र सहकार्यमा गरिने बताए । ‘बहादुरजी र मबिच कुनै समस्या छैन । अहिले भएका सम्पूर्ण कुराहरू एउटा लोकतान्त्रिक पार्टीभित्र हुने प्रक्रिया हो । सोहीअनुरूप नै हामीले नेतृत्व परिवर्तनको एउटा प्रक्रिया पूरा गरेका हौँ,’ उनले भने, ‘अब पनि सरकार र पार्टी सञ्चालनमा हामीबिच सहमति र सहकार्य नै हुन्छ ।’ कांग्रेस र एमालेबिचको सत्तागठन्धनको सहमतिअनुसार अझै नौ महिना प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।
आइतबार लामाको राजीनामापछि बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ । राजीनामाअघि मन्त्रिपरिषद्को बैठक बस्ने र आफ्ना कुराहरू पत्रकार सम्मेलननमार्फत सार्वजनिक गर्ने लामाले बताए ।
नयाँ पत्रिका दैनिकबाट साभार
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १९, मंगलवार १६:४७काठमाडौँबाट ७ लाख ५० हजारभन्दा बढी मानिस बाहिरिए
समाचार२०८२ फाल्गुन १९, मंगलवार १४:०९राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने
समाचार२०८२ फाल्गुन १९, मंगलवार ०७:५६भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १९, मंगलवार ०७:४६एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा







