
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले कार्यसमितिमा रिक्त रहेका पदहरूमा चार जना नयाँ पदाधिकारीलाई मनोनीत गरी एक कार्यक्रमका बीच शपथग्रहण गराएको छ।
संघको गत कात्तिक २ गते बसेको बैठकले बिधान परिच्छेद–८ को दफा २६ अनुसार दुई उपाध्यक्ष र दुई सदस्यको मनोनयन गरेको थियो। सो अनुसार जयन्त रेग्मी र राजकुमार शाह उपाध्यक्षमा तथा जीवन थापा र श्रीदेव भट्टराई सदस्यमा नियुक्त भएका छन्। अध्यक्ष मोहन निरौलाले चारैजना पदाधिकारीलाई शपथ दिलाएका हुन्।
कार्यक्रममा संघका कोषाध्यक्ष सुनिल कटुवाललाई आगामी नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा हुने International Federation of Actors (FIA) को अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न लागेकामा बधाई तथा शुभकामना प्रदान गरिएको थियो। सो सम्मेलनमा ६० देशका ४५० भन्दा बढी चलचित्रकर्मी र संघ- संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम पनि रहेको छ।

सो अवसरमा अध्यक्ष निरौलाले सदस्यता वितरण र नवीकरणमा विधानअनुसारको मापदण्ड कडाइका साथ लागू गरिएको, लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाइएको तथा संघका अन्य सुधारात्मक कार्यहरूबारे जानकारी गराए।
नवनियुक्त पदाधिकारीहरूलाई चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, वरिष्ठ चलचित्रकर्मी तथा कानुनी सल्लाहकार कृष्ण ढुङ्गानालगायतले शुभकामना व्यक्त गरेका थिए।











