चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ « रिपोर्टर्स नेपाल

चितवन, २८ कात्तिक । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो ।
रोबोटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरु डा विशाल आचार्य र डा रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको छ । अस्पतालमा हालसम्म १४ वटा रोबोटिक सर्जरी गरिसकिएको अस्पतालले जनाएको छ ।
रोबोटिक तथा युरो सर्जन डा गुरुङका अनुसार चिरेर गरिने शल्यक्रिया र दुरविन प्रविधिबाट गरिने शल्यक्रियाभन्दा रोबोटिक शल्यक्रिया धेरै आधुनिक र सटिक हुने गर्दछ । उनले भने, “रोबोटिक सर्जरी चिकित्सा विज्ञानको एउटा अत्याधुनिक प्रविधि हो ।” रोबोटले नै सबै शल्यक्रिया गर्ने नभई सर्जनले योजना बनाएर रोबोटको सहायता लिएर शल्यक्रिया गरिने उनको भनाइ छ ।
चिकित्सकले प्रत्यक्ष रूपमा हातले नभई कम्प्युटरद्वारा नियन्त्रण हुने रोबोटिक हातहरूका माध्यमबाट शल्यक्रिया गरिने उनले स्पष्ट पारे । परम्परागत प्रविधिको तुलनामा रोबोटिक प्रणाली प्रयोग गर्दा शल्यक्रियामा बिरामीको शारीरिक र मानसिक दुवै पक्षलाई ध्यानमा राखेर प्रभावकारी रुपमा संवेदनशील र जटिल उपचार गर्न सकिने डा गुरुङको भनाइ छ ।
न्यूनतम पीडा, कम रक्तश्राव, छोटो अस्पताल बसाइँ र छिटो निको हुने अवसर प्रदान गर्ने यस प्रविधिबाट विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक र क्यान्सर सर्जरीमा प्रयोग उल्लेखनीय रूपमा बढी भएको डा गुरुङले बताए ।
रोबोटिक सर्जरीमा उपकरण अत्यन्त संवेदनशील र सूक्ष्म हुने जनाउँदै उनले भने, “यी उपकरणले मानव हातले गर्न नसक्ने अत्यधिक सुक्ष्म शल्यक्रिया गर्न सक्छन् ।” यसले गर्दा शल्यक्रियाको क्रममा शरीरको अन्य भागमा न्यूनतम क्षति पुग्छ र शल्यक्रियाको परिणाम अत्यन्तै विश्वासिलो तथा सुरक्षित हुने डा गुरुङको भनाइ छ ।
सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, रक्तश्राव कम हुने, कम पीडा र छिटो निको हुने भएकाले पनि धेरै बिरामीको चाहना यही प्रविधि हुने उनको भनाइ छ । अन्य प्रविधिबाट असम्भव हुने शल्यक्रिया पनि यस प्रविधिबाट गर्न सकिने डा गुरुङको भनाइ छ ।
रोबोटिक शल्यक्रिया गर्दा बिरामीको सानो भागमा मात्र प्वाल पारिने भन्दै उनले यही कारणले गर्दा शरीरमा शल्यक्रिया गर्दाको दाग निकै सानो हुने बताए । उनले अन्य शल्यक्रियाको तुलनामा रोबोटिक शल्यक्रियामा बिरामी छिटो निको हुने बताए। उनले भने, “रोबोटिक शल्यक्रियामा एकदमै अत्याधुनिक कम्प्युटर प्रणाली भएका कारण गतिविधि एकदम छरितो हुन्छन्, त्यसैले गर्दा ठूलो ठूलो शल्यक्रियामा धेरै फाइदा हुन्छ ।”
रोबोटिक शल्यक्रिया गर्दा शुल्क केही महँगो पर्ने भए पनि अस्पताल बसाइ कम, समयको बचत, घाउ निको हुने दर उच्च र अन्य धेरै कारणले गर्दा समग्रमा बिरामीलाई फाइदा नै हुने डा गुरुङको भनाइ छ ।
मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले यहाँ भित्रिएको रोबोट माइक्रोपोर्ट कम्पनीले बनाएको ‘टुमाइ’ नामक रोबोटिक प्रणाली भएको बताए । उनले ३२ करोड लागतमा यो प्रविधि भित्र्याइएको जानकारी दिए । उनले भने, “यो प्रविधि चाइनामा निर्मित युरोपियन सेफ्टी ‘सर्टिफिकेशन’ पास गरेको छ, जसले यसको उच्च सुरक्षा मापदण्ड पुष्टि गर्दछ ।” रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३, बिहीबार २०:१५केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४८पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सव ‘NERUFF’ को पत्रकार सम्मेलन सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३, बिहीबार १८:४१‘महाराजधिराज’मा केकी अधिकारी ‘महारानी’का रूपमा अनुबन्धित
खेलकुद२०८३ बैशाख ३, बिहीबार १६:०९परवानीपुर गोल्डकपः शनिबारदेखि सुरु हुने








