तीन वर्षमा दुई हजार बढीको निःशुल्क शल्यक्रिया « रिपोर्टर्स नेपाल

सिरहा, कार्तिक २९ । नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत निःशुल्क उपचार गरेको छ ।
नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३ सय १७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५ सय ५३ जनामा मोतियाबिन्दु पहिचान गरिएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिए ।
उनका अनुसार पहिचान भएका बिरामीमध्ये एक हजार ९ सय ७७ जनाको शल्यक्रिया भइसकेको छ भने पाँच सयभन्दा बढी बिरामीलाई खोजी गरी शीघ्र उपचार गर्ने तयारी भइरहेको छ । त्यस्तै, ५० वर्षभन्दा माथिका नागरिकमा मोतियाबिन्दुको समस्या धेरै देखिएको उनले बताए ।
शिविर सञ्चालनका लागि लाग्ने प्रतिव्यक्ति पाँच हजार रूपैयाँ खर्चमध्ये आधा रकम लहान नगरपालिका र आधा अस्पतालले व्यहोर्दै आएका छन् । बिहीबार वडा नं २४ मा गरिएको शिविरमा ३ सय ३५ जनाको स्वास्थ्य परीक्षण हुँदा ९९ जनामा मोतियाबिन्दु फेला परेपछि तुरुन्तै अस्पताल ल्याई शल्यक्रिया गरिएको थियो ।
नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नगरलाई ‘मोतियाबिन्दु मुक्त’ बनाउन अभियान चलाइरहेको बताए । ‘दियोको मुनि अँध्यारो रहनु हुँदैन भन्ने भावनाले हामी नगरवासीको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिइरहेका छौँ,’ उनले भने ।
अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले दलित तथा विपन्न वर्गका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ पाइरहेको उल्लेख गर्दै लहान नगरपालिकाको सहकार्यले सिरहा–सप्तरीका अन्य पालिकासमेतमा आँखा रोग निवारण अभियान सशक्त बन्दै गएको बताए ।
शिविरमार्फत जाँच र शल्यक्रिया पाएका दलित तथा विपन्न समुदायका नागरिकले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएर नयाँ जीवन दिएको जनाउँदै लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा नेपाल नेत्रज्योति सङ्घको २८ आँखा अस्पताल र २ सय २६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ। रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम
समाचार२०८२ पुष १२, शनिबार १८:३१निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक
कला, विचार/मनोरञ्जन२०८२ पुष १२, शनिबार १५:५७‘कल्ली’को बलियो टिजरः सौगात र बेनिशाको देवता कि राक्षस ?
स्वास्थ्य/जानकारी टिप्स२०८२ पुष १२, शनिबार १५:१५बाल शल्य चिकित्सक संघको अध्यक्षमा थापा चयन, यस्तो बन्यो समिति…








