स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौँ- नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्याउनुभएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ ।
हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन निर्देशिका, २०७० अनुसार विस्तृत अध्ययन, छलफल र मूल्याङ्कनपछि उक्त टिकट प्रकाशनका लागि सिफारिस गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि मन्त्रिस्तरीय निर्णयका आधारमा टिकट छपाइ तथा प्रकाशन गरिएको हुलाक सेवा विभागका महानिर्देशक मनमाया पङ्गेनी भट्टराईले जानकारी दिनुभयो ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६, पौवाडाँडामा १८ असोज १९९४ विसंमा जन्मनुभएका स्वामी परमानन्द सरस्वतीले सानै उमेरदेखि सन्यास मार्ग अँगाल्दै जीवनभर वैदिक धर्म, संस्कृत शिक्षा र समाजसेवामा आफूलाई समर्पित गर्नुभयो । उहाँले देशका विभिन्न जिल्लामा ३९ गुरुकुल, वेदविद्याश्रम, मन्दिर तथा आश्रमहरूको स्थापना गरी निःशुल्क शिक्षा, आवास र भोजनको व्यवस्था गर्दै सयौँ विद्यार्थीलाई संस्कृत तथा वैदिक शिक्षामा दीक्षित गराउनुभएको संस्कृत भाषाविद् तथा कालिका संस्कृत विद्यापीठका पूर्वप्राचार्य डा रामचन्द्र कँडेलले जानकारी गराउनुभयो ।
उहाँको नेतृत्वमा स्थापना भएका परमानन्द संस्कृत गुरुकुल, त्रिपुरेश्वर महादेव मन्दिर, तथा विभिन्न सन्यास आश्रमहरू आज वैदिक अध्ययन, आध्यात्मिक साधना र सांस्कृतिक संरक्षणका प्रमुख केन्द्रका रूपमा परिचित छन् । सामाजिक र आर्थिक रूपमा पछाडि परेका परिवारका बालबालिकालाई शिक्षाको पहुँच पुर्याउने उहाँको दृष्टिकोणले संस्कृत शिक्षालाई सीमित वर्गबाट बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
सभ्य समाज र सुसंस्कृत परिवार निर्माणमा सहयोग पुर्याउने अभिप्रायले स्थापना भएको श्रीपरमानन्द–संस्कृत–गुरुकुलम् हाल तनहुँ जिल्ला, देवघाटधामस्थित श्रीहरिहर सन्न्यास आश्रमअन्तर्गत कक्षा ६ देखि आचार्य (एमए) तहसम्म अध्ययन गर्ने विशाल संस्कृत शिक्षण अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा सञ्चालनमा रहेको छ । निःशुल्क अध्ययन, भोजन, आवासको व्यवस्था रहेको यस शिक्षण संस्थामा ३५० जना विद्यार्थीहरू अध्ययनरत छन् । नेपाल सन्त समाजका अध्यक्ष तथा यस संस्थाका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको नेतृत्व र व्यवस्थापनबाट विद्यापीठ तथा आश्रमका नियमित गतिविधि सञ्चालन भइरहेका छन् ।
टोखा नगरपालिका–६ धापासीस्थित श्रीहरिहर सन्न्यास आश्रममा २१ जेठ २०८२ विसंमा सम्पन्न स्वामी परमानन्द सरस्वतीको तस्बिर अङ्कित उक्त हुलाक टिकटको प्रथम आवरण कार्यक्रममा सरकारी अधिकारी, हुलाक सेवा विभागका प्रतिनिधि, धार्मिक–शैक्षिक संस्थाका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
सरकारी अधिकारीहरूले राष्ट्रको धार्मिक, शैक्षिक र सांस्कृतिक पहिचान सुदृढ गर्न योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानस्वरूप यस्तो हुलाक टिकट प्रकाशन गरिएको जनाएका छन् । यसले नयाँ पुस्तालाई नेपालको सनातन वैदिक परम्परा र संस्कृत शिक्षाप्रति सचेत गराउने अपेक्षा गरिएको संस्मरणात्मक हुलाक टिकट प्रकाशन प्रक्रियाको प्रारम्भिक समन्वय गर्नुभएकी विष्णुदेवी गैरेले बताउनुभयो ।
विसं २०५३ माघ १८ मा ब्रह्मलीन हुनुभएका स्वामी परमानन्द सरस्वतीको योगदानलाई राज्यस्तरबाट २९ वर्षपछि मरणोपरान्त गरिएको यो सम्मानलाई ऐतिहासिक मानिएको श्री हरिहर सन्यास आश्रम, देवघाटले जनाएको छ । रु १० दरका पाँच लाखको सङ्ख्यामा प्रकाशित हुलाक टिकट हाल देशभरका हुलाक कार्यालयमार्फत सर्वसाधारणका लागि उपलब्ध गराइएको हुलाक सेवा विभागले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ३, आईतवार ०९:४५वाग्लेलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान, जयन र कुवेरलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
खेलकुद२०८३ जेष्ठ ३, आईतवार ०६:५५कोलकाताले गुजरातलाई हरायो, आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा








