युवाको अपेक्षामाथि संवाद गर्दै ‘कुमारी’: सिनेमा, संगीत र मिडियामा युवाको खोजी

काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को टिमले नेपाली चलचित्र, संगीत र मिडियाप्रति युवा पुस्ताको सोच र अपेक्षा बुझ्ने उद्देश्यले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, युवा सहभागीसहित करिब ५ सय जनाको उपस्थिति रहेको थियो।
अन्तरक्रियामा चलचित्र ‘कुमारी’को टिमसँगै मदन पुरस्कार विजेता लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य अमर न्यौपाने, सञ्चारकर्मी नरेश भट्टराई, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता महेन्द्र अधिकारी, गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्डका सदस्यहरूको सहभागिता थियो।
कार्यक्रममा ३० जना युवाले नेपाली चलचित्र, संगीत र मिडियासम्बन्धी आफ्ना अनुभव र धारणा राखेका थिए। यस्ता खुला संवादले आफ्ना भावना व्यक्त गर्ने अवसर दिएको भन्दै सहभागी युवाहरूले सन्तुष्टि व्यक्त गरे।
युवाहरूले निर्देशक दिनेश राउतका अघिल्ला चलचित्रहरूको चर्चा गर्दै चलचित्र केवल मनोरञ्जनको साधन मात्र नभई जीवन बुझ्ने ऐना हुनुपर्ने बताए। उनीहरूको भनाइ थियो, “हामी हलमा समय कटाउन मात्र जाँदैनौँ। सिनेमाले हाम्रो संस्कृति, मौलिकता र समाजको कथा देखाउनुपर्छ।”
सामाजिक सञ्जाल युवालाई प्रभाव पार्ने प्रमुख माध्यम बनेको उल्लेख गर्दै कतिपय समीक्षामा हुने अतिरञ्जनाप्रति युवाहरूले चिन्ता व्यक्त गरे। नेपाली चलचित्रले अपेक्षित स्तर नछुने हुँदा राम्रो सिनेमा खोज्न विदेशी फिल्मतर्फ आकर्षित हुनुपरेको गुनासो पनि उनीहरूले राखे।
संगीतप्रति युवाको धारणा स्पष्ट देखियो। उनीहरूले भने, “गीतमा कलाकारको लुक्सभन्दा भावना महत्वपूर्ण हुन्छ। संगीतले जीवनसँग जोडिनुपर्छ।” चलचित्र ‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने’लाई युवाहरूले मौलिक संगीतको उत्कृष्ट उदाहरणका रूपमा प्रशंसा गरे।
चलचित्रका कलाकार अभिषेक खड्काले आफू पनि पहिले पश्चिमा सिनेमाबाट बढी प्रभावित भए पनि पछिल्लो समय नेपाली चलचित्रले उल्लेखनीय प्रगति गरेको बताए। ‘कुमारी’मार्फत डेब्यु गरेका उनले यो चलचित्र नयाँ पुस्ताको सोचअनुसार बनेको दाबी गर्दै ढुक्कसँग हलमा गएर हेर्न आग्रह गरे।
सञ्चारकर्मी नरेश भट्टराईले मिडिया र सामाजिक सञ्जालमा देखिने सामग्रीलाई विवेकपूर्ण ढंगले बुझ्न युवालाई आग्रह गरे। लेखक अमर न्यौपानेले साहित्य र सिनेमाको सम्बन्ध स्पष्ट पार्दै भने, “किताब कलमले लेखिएको साहित्य हो भने, सिनेमा क्यामेराले लेखिएको साहित्य हो।”
लेखक विकास सुवेदीले युवामा बढ्दो निराशा देशका लागि चिन्ताजनक हुने बताए। उनले ‘कुमारी’ले नेपाली चलचित्रप्रतिको निराशा केही हदसम्म कम गर्ने विश्वास व्यक्त गर्दै भने, “यो सामान्य प्रेमकथा होइन। बाहिर देखिने आवरण र भित्री कथामा फरक छ। ट्रेलरले मात्र चलचित्रको सम्पूर्ण कथा बताउँदैन।”
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको ‘कुमारी’बाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन्। छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन्।
चलचित्रका ‘डोको बुन्ने’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले दर्शकमाझ राम्रो चर्चा बटुलिसकेका छन्। विशेषगरी ‘डोको बुन्ने’ गीतले ७२ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। चलचित्रका सबै गीतमा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ।
प्रेमकथामा सफल छवि बनाएका निर्देशक दिनेश राउत सामाजिक विषयपछि पुनः प्रेमकथामा फर्किएको ‘कुमारी’ले स्वदेश तथा विदेशमा दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १९:३८ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १८:१८गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १४:३८न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा आयुर्वेद चिकित्सालय धादिङलाई ६८.४८ अंक








