धादिङमा २ हजार ७३३ किशोरीलाई एचपिभि खोप लगाइँदै

धादिङमा २ हजार ७३३ किशोरीलाई एचपिभि खोप लगाइँदै

धादिङ,माघ २० गते ।
धादिङ जिल्लामा २ हजार ७ सय ३३ किशोरीलाई एचपिभि (HPV) खोप लगाइने भएको छ। महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २ हजार ७३३ किशोरीलाई एचपिभि (HPV) खोप लगाइने भएको हो।

एचपिभि खोप अभियान माघ २७ देखि २९ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार अभियानअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीहरू तथा विद्यालय बाहिर रहेका १० वर्ष पूरा भई ११ वर्ष ननाघेका किशोरीहरूलाई खोप प्रदान गरिनेछ।

खोप अभियानका लागि खोप सामग्री जिल्लामा आइसकेको र वितरण प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो। जिल्लाभर २ सय ५६ विद्यालयमा स्थापन गरिएको खोप केन्द्रमार्फत १ सय ९८ स्वास्थ्यकर्मी र ४ सय २६ स्वयंसेवकको सहयोगमा खोप लगाइनेछ।

विद्यालय बाहिर रहेका लक्षित किशोरीहरू खोपबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले खोजी तथा पहिचानको कामसमेत भइरहेको जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर पदमराज कैनीले जानकारी दिनुभयो। अभियान अवधिमा कुनै कारणवश खोप लगाउन छुटेमा फागुन महिनामा सञ्चालन हुने नियमित खोप कार्यक्रममार्फत खोप उपलब्ध गराइने उहाँले बताउनुभयो।

जनस्वास्थ्य कार्यलय धादिङद्धारा आयोजित नसर्ने रोग रोकथाम, न्यूनीकरण तथा मानसिक स्वास्थ्य प्रवद्र्धनसम्बन्धी जिल्ला स्तरीय समन्वय समितिको बैठकमा नसर्ने रोगहरूको अवस्था र मानसिक स्वास्थ्य प्रवद्र्धनबारे समेत छलफल गरिएको थियो।

जनस्वास्थ्य कार्यालय प्रमुख पौडेलका अनुसार गत वर्ष धादिङ जिल्लामा ४ सय १ जना क्यान्सर बिरामीको उपचार खर्चका लागि सिफारिस गरिएको थियो ।

कार्यक्रममा जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक नवराज अधिकारीले खोपसम्बन्धी जनचेतनाको कमी, उमेर निर्धारणमा देखिने व्यवहारिक जटिलता र स्वास्थ्य सेवाप्रति पहुँच प्रमुख चुनौतीका रूपमा औंल्याउनुभयो। उहाँले गत वर्ष जिल्लामा पहिलो पटक सञ्चालन भएको एचपिभि खोप कार्यक्रम यस वर्ष कक्षा ६ मा मात्र सीमित भएको उल्लेख गर्दै उमेर गणनामा लचकता आवश्यक रहेको धारणा राख्नुभयो।

संघ, प्रदेश, पालिका र वडास्तरमा सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमबारे स्पष्ट जानकारीको अभावका कारण सेवाप्रवाहमा समस्या देखिएको भन्दै संघ र प्रदेशका स्वास्थ्य कार्यक्रम सार्वजनिक गर्न तथा पालिकाहरूले आफ्ना क्षेत्रभित्र उपलब्ध स्वास्थ्य सेवाको विवरण सार्वजनिक गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

साथै, बागमती प्रदेश सरकारको ‘हेल्थ इन अल पोलिसिज’ कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पालिकामा पालिकास्तरीय खोप समन्वय समिति गठन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्मा, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, गल्छी गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, गैसस महासंघका अध्यक्ष तोला कुमारी पाठक लगायतको सहभागिता रहेको थियो ।

धादिङमा २ हजार ७३३ किशोरीलाई एचपिभि खोप लगाइँदै

May be an image of one or more people, people studying and text

May be an image of one or more people, people studying, table and text

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   4   =  

Protected by Spam Master