प्रतिभा माविमा साहित्य, कला र संगीतको रौनक

प्रतिभा माविमा साहित्य, कला र संगीतको रौनक

विद्यार्थी प्रतिभा प्रस्फुटनका लागि एकदिने विशेष मेला

पोखरा । विद्यार्थीमा साहित्य, कला र संगीतप्रति चेतना अभिवृद्धि गर्दै पठनशैली विकास गराउने उद्देश्यका साथ पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला सम्पन्न भएको छ ।

मेलामा अग्रज साहित्यकार, गायक तथा कविहरूको प्रस्तुति र अनुभव साटासाटसँगै विद्यार्थीहरूसँग साक्षात्कार कार्यक्रमसमेत गरिएको थियो । कार्यक्रमको उद्घाटन मूर्धन्य साहित्यकार सरूभक्तले गरेका थिए ।

विद्यार्थीसँगको प्रश्नोत्तर सत्रमा सरूभक्तले पछिल्लो पुस्ता निकै भाग्यमानी रहेको उल्लेख गरे । उनले भने-‘हाम्रो समयमा आफ्नो कला र प्रतिभा उजागर गर्न यस्ता अवसर सहजै पाइँदैनथे । अहिले विद्यालयले नै बालबालिकालाई सानैदेखि आफ्ना क्षमता प्रस्फुटन गर्ने अवसर दिइरहेको छ । तपाईंहरू साँच्चै भाग्यमानी हुनुहुन्छ ।’

उनले आफ्नो बाल्यकाल र विद्यार्थी जीवनका अनुभव पनि साझा गर्दै सिकाइ केवल पाठ्यपुस्तकमा सीमित हुन नहुने धारणा व्यक्त गरे । जीवन बुझ्न किताब मात्र पर्याप्त नहुने भन्दै उनले आफ्नो रुचि र प्रतिभा रहेको क्षेत्रमा नै निरन्तरता दिन सुझाव दिए ।

साहित्यकार सूर्य खड्का ‘बिखर्ची’ले बालबालिकालाई चित्रकला, गायन, नृत्य र कविता प्रस्तुत गर्ने अवसर उपलब्ध गराएकोमा विद्यालयप्रति आभार व्यक्त गरे। उनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

प्रतिभा माविमा साहित्य, कला र संगीतको रौनक

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीको विविध रुचिलाई मध्यनजर गर्दै साहित्य, कला र संगीत समेटिएको कार्यक्रम आयोजना गरिएको बताए। ‘विद्यार्थीको रुचि फरक–फरक हुन्छ। कसैले साहित्य, कसैले कला त कसैले संगीत मन पराउँछन्। साथै, पठनशैली विकासका लागि पनि यस्ता कार्यक्रम सहयोगी बन्छन्,’उनले भने।

विद्यालयका प्राचार्य किरण सापकोटाले पाठ्यपुस्तकबाहेक बाह्य ज्ञान आर्जनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । उनले भने-‘यस कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता उजागर गर्ने अवसर दिएको छ। यसले अन्तरनिहित क्षमता बाहिर ल्याउनुका साथै अन्य विद्यार्थीमा पनि कला र संस्कृतिप्रति जागरण फैलाउनेछ ।’

कार्यक्रममा साहित्यकार इन्द्र राना ‘प्रतिक’लाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
मेलामा पुस्तक तथा चित्रकला प्रदर्शनी, चिनियाँ नृत्यसहित विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

पूर्व विद्यार्थी अस्मित भुसाल तथा विद्यार्थीहरू सुशान्त सिग्देल, करिना काफ्लेलगायतले कविता वाचन तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

विद्यार्थीहरूले आफैं कोरेका चित्रहरूको प्रदर्शनी राख्नुका साथै प्रत्यक्ष चित्रकला प्रस्तुति पनि गरेका थिए। कार्यक्रम सञ्चालन विद्यालयका सह–प्राचार्य प्रदीप खनालले गरेका थिए ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20980, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   8   =  

Protected by Spam Master