माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै

माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ र ५ को सिमाना पातिखोलामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८३ हुने भएको छ ।

पातिखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व तथा यस स्थानमा रहेका आम समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्यमा वैशाख १७ देखि २४ गते सम्म वडा नंं ४ को जोगिचौर मणि परिसरमा महायज्ञ हुन लागेको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ र ५ को सिमानमा पर्ने ऐतिहासिक तथा सांस्कृतिक इतिहास बोकेको पातिखोला गुफाको प्रचार प्रसार सँगै धार्मिक क्षेत्र पूर्वाधार विकासमा खर्च गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको मूल समारोह समितिका संयोजक अ.क्या.डम्बरसिंह गुरुङले जानकारी दिए ।

‘यस ठाउँमा वर्षको तीन पटक मेला लाग्ने गर्दथ्यो हाल यो मेलाले निरन्तरता पाएको छैन’ संयोजक गुरुङले भने, ‘यस ठाउँमा पूर्वाधार विकास गरी व्यवस्थित बनाई मेलालाई पुन निरन्तरता दिने यस ठाउँलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको छ ।’

उक्त ठाउँमा माघेसक्रान्ति, श्री पञ्चमी र चैते दसैँमा गरी वर्षको तीन पटक कृषि व्यापारी, स्थानीय उत्पादनको बिक्री, विभिन्न परिकारका मिष्टान्न भोजनसहितको महोत्सव हुने गर्दथ्यो।

करिब २ करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको उक्त महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलको प्रवचन गर्ने प्रचार प्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।

महायज्ञमा ५ हजार भन्दा माथि दान गर्नेको शिलालेखमा अङ्कित गर्ने, १० हजार भन्दा माथि दान गर्ने सहयोगी दातालाई दोसल्ला ओढाई सम्मान गर्ने, २० हजार भन्दा माथि दान गर्नेलाई दोसल्ला तथा आकर्षण सम्मान पत्र प्रदान गरिने, ५० हजार भन्दा माथि दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र र मायाको चिनो, १ लाख भन्दा माथि दिनेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान र ५ लाख भन्दा माथि दान गर्नेलाई दोसल्ला, आकर्षक सम्मान पत्र, मायाको चिनो साथै दाता तथा परिवारलाई आकर्षक डोलीमा चढाई महायज्ञ स्थलसम्म पञ्चेबाजाले स्वागत तथा सम्मान गरिने कार्यक्रम रहेको छ ।

माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष गणेश आचार्यले महायज्ञमा हुने भक्तजनको घुइँचोले यस क्षेत्र वरपर रहेका मनोरम दृश्यहरू, मठ–मन्दिर यहाँको जनजीवन, उत्पादनको बारेमा जनमानसमा व्यापक प्रचार प्रसार सहित यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको बताए ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसूदन अधिकारीले ऐतिहासिक तथा धार्मिक रूपमा परिचित यस स्थानमा हुन लागेको महायज्ञलाई सफल बनाउनका लागि तयारीलाई तीव्र पारिएको बताए । पातिखोला गुफा संरक्षण समितिका सचिव रुद्रनाथ अधिकारीले ऐतिहासिक दृष्टिकोणमा यो गुफाको महत्त्व रहे पनि प्रचार प्रसारका कारण ओझेलमा परेका कारण यसको पूर्वाधार विकास गर्ने महायज्ञको आयोजना गरिएको बताए ।

पोखराको टुँडिखेल बगरबाट १० किलोमिटर उत्तर पश्चिम तर्फ करिब आधा घण्टाको यात्रामा महायज्ञ स्थल पुग्न सकिनेछ । महायज्ञ अवधिभर पोखराको हरि चोक र माछापुच्छ्रे गाउँपालिकाको सबै वडाबाट महायज्ञ स्थलसम्म जानको लागि आयोजकले यातायातको व्यवस्था गरेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21411, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   1   =  

Protected by Spam Master