तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। “घुमौँ कर्णाली, हेरौँ कर्णाली” र “जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र” भन्ने मूल नारासहित आयोजित यस महोत्सवले कर्णाली प्रदेशको कला, संस्कृति, पर्यटन सम्भावना र चलचित्र क्षेत्रको विकासलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
चलचित्र विकास बोर्डको सक्रिय सहभागिता र सहकार्यमा सम्पन्न महोत्सवमा कर्णालीलाई चलचित्र छायाङ्कनका लागि आकर्षक गन्तव्य, कथा विकासको समृद्ध स्रोतभूमि तथा चलचित्र पर्यटनको उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा अघि बढाउने लक्ष्य राखिएको थियो। बोर्डको उपस्थितिले महोत्सवलाई केवल चलचित्र प्रदर्शन वा सांस्कृतिक कार्यक्रममै सीमित नराखी नीति निर्माण, सहकार्य विस्तार, पर्यटन प्रवर्द्धन र दीर्घकालीन चलचित्र विकाससँग जोड्ने आधार तयार गरेको आयोजकले जनाएको छ।
महोत्सवका क्रममा कर्णाली प्रदेश सरकारले चलचित्र क्षेत्रको विकासका लागि ठोस नीति तथा बजेटगत प्रतिबद्धता व्यक्त गरेको छ। साथै, कर्णाली प्रज्ञा प्रतिष्ठानमार्फत कर्णालीमा छायाङ्कन गर्न इच्छुक निर्माता–निर्देशकलाई विशेष सहकार्य र प्रोत्साहन उपलब्ध गराइने घोषणा गरिएको छ।
यसै अवसरमा चलचित्र कथा प्रतियोगिताको पनि औपचारिक शुभारम्भ गरिएको छ। कर्णालीको भूगोल, जीवनशैली, भाषा, संस्कृति, इतिहास र जनजीवनलाई चलचित्र कथाको मूल आधार बनाउने उद्देश्यले सुरु गरिएको उक्त प्रतियोगिताले नयाँ र मौलिक कथा विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्ने दीर्घकालीन योजनामा समेत सकारात्मक वातावरण निर्माण गरेको छ। सोही क्रममा सल्यानको प्रसिद्ध कुपिण्डे दहमा विशेष चलचित्र पर्यटन कार्यक्रम आयोजना गरिएको थियो, जसले कर्णालीका पर्यटकीय गन्तव्यहरूलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य गणेश प्रसाद सुबेदी लगायत चलचित्र क्षेत्रका अग्रज व्यक्तित्व, निर्माता, निर्देशक, कलाकार, प्राविधिक, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई देशका विविध भूगोल, संस्कृति र पर्यटनसँग जोड्ने नीतिअनुसार कर्णाली जस्ता सम्भावनायुक्त प्रदेशहरूमा चलचित्रसम्बन्धी गतिविधिमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ। बोर्डले कर्णालीको मौलिकता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई चलचित्रमार्फत विश्वसामु पुर्याउन यस्ता महोत्सवहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक








