भण्डारीको अनुसन्धान : लघुवित्तले कृषि र जीवनस्तरमा

पाेखरा ।
नेपालमा लघुवित्त सेवाले कृषि क्षेत्रमा लगानी गर्ने सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा उल्लेखनीय सकारात्मक परिवर्तन ल्याएको एक विस्तृत अनुसन्धानले देखाएको छ। अनुसन्धानकर्ता विष्णु प्रसाद भण्डारीले विद्यावारिधि (PhD) उपाधिका लागि पाँच वर्षसम्म गरेको अध्ययनले लघुवित्तमा आबद्ध सदस्यहरू आर्थिक रूपमा सशक्त बन्दै सामाजिक रूपान्तरणतर्फ अग्रसर भएको निष्कर्ष निकालेको हो।
यो अनुसन्धान प्राध्यापक डा. केशरजंग बराल र प्राध्यापक डा. केशव राज जोशीको निर्देशनमा सम्पन्न भएको हो। अध्ययनमा Sequential Explanatory Mixed Methods विधि प्रयोग गरिएको थियो, जसअन्तर्गत पहिलो चरणमा संख्यात्मक तथा दोस्रो चरणमा गुणात्मक अध्ययनमार्फत तथ्यहरूको विश्लेषण गरिएको थियो।
संख्यात्मक अध्ययनका क्रममा ३८० जना लघुवित्त सदस्यसँग सर्वेक्षण गरिएको थियो भने गुणात्मक अध्ययनअन्तर्गत पाँच वटा प्रतिनिधिमूलक केस अध्ययनमार्फत सदस्यहरूको अनुभव, व्यवहार र जीवनस्तरमा आएको परिवर्तनको गहन अध्ययन गरिएको थियो। अनुसन्धान कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका तथा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा केन्द्रित थियो।
अध्ययनअनुसार लघुवित्त संस्थामा आबद्ध भएपछि सदस्यहरूको औपचारिक वित्तीय सेवामा पहुँच उल्लेखनीय रूपमा विस्तार भएको छ। पहिले साहु–महाजन तथा अनौपचारिक ऋणमा निर्भर सदस्यहरूले अहिले लघुवित्त तथा बैंकिङ प्रणालीमार्फत ऋण, बचत र अन्य वित्तीय सेवा उपयोग गर्न थालेका छन्। सहरी क्षेत्रमा यसको प्रभाव बढी देखिए पनि ग्रामीण क्षेत्रमा पनि लघुवित्त क्रमशः महत्वपूर्ण वित्तीय आधारका रूपमा स्थापित हुँदै गएको अध्ययनले देखाएको छ।
आर्थिक दृष्टिले सदस्य परिवारहरूको औसत आम्दानी, बचत, खर्च र सम्पत्तिमा स्पष्ट वृद्धि भएको पाइएको छ। सदस्यहरू पशुपालन, तरकारी खेती तथा कृषि आधारित साना उद्यमतर्फ आकर्षित भएका छन्। यस्ता उद्यममा संलग्न सदस्यहरूको आम्दानी तुलनात्मक रूपमा बढी देखिनुले लघुवित्तले स्थानीय उद्यमशीलता र रोजगारी प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याएको पुष्टि गरेको छ। साथै, परिवारभित्रको बेरोजगारी दर पनि घटेको देखिएको छ।
लघुवित्त सेवाले बजार पहुँच विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग तथा खाद्य आत्मनिर्भरता सुदृढीकरणमा समेत योगदान पुर्याएको अध्ययनले देखाएको छ। आधुनिक कृषि अभ्यास अपनाउने सदस्यहरूमा खाद्य सुरक्षाको अवस्था तुलनात्मक रूपमा राम्रो पाइएको छ।
सामाजिक क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन देखिएको छ। लामो समयदेखि लघुवित्तमा आबद्ध परिवारहरूमा बालबालिकाको विद्यालय उपस्थितिमा वृद्धि, स्वास्थ्य सचेतनामा सुधार, नियमित स्वास्थ्य परीक्षणको अभ्यास तथा समुदायगत सहभागिता र नेतृत्व क्षमतामा विकास भएको पाइएको छ।
अध्ययनले सूक्ष्मकर्जा सेवाप्रतिको सन्तुष्टि नै लघुवित्तप्रतिको समग्र धारणा निर्धारण गर्ने प्रमुख आधार भएको देखाएको छ। सहरी क्षेत्रका सदस्यहरू कर्जासेवाप्रति बढी सन्तुष्ट देखिए पनि ग्रामीण क्षेत्रका सदस्यहरूको सन्तुष्टि स्तर तुलनात्मक रूपमा कम रहेको अध्ययनले जनाएको छ। यसले ग्रामीण क्षेत्रमा लक्षित सेवा, कर्जा व्यवस्थापन तथा सहायक कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।
उक्त अध्ययनको बाह्य मूल्याङ्कन दिल्ली विश्वविद्यालयका वाणिज्य विभागका पूर्व डिन प्राध्यापक डा. सी. पी. गुप्ताले गरेका थिए। अनुसन्धानको सार पृथ्वी नारायण क्याम्पसमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको थियो। कार्यक्रममा व्यवस्थापन अनुसन्धान विभागका प्रमुख सह–प्राध्यापक डा. वीर बहादुर कार्कीको अध्यक्षता तथा QAA प्रमुख अमृत भण्डारीको सञ्चालन रहेको थियो।
समग्रमा, कर्जा, बचत, तालिम, बीमा तथा सामाजिक सहायतासहितको एकीकृत लघुवित्त मोडेल कृषि क्षेत्रमा संलग्न सदस्यहरूको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि प्रभावकारी माध्यम बन्न सक्ने निष्कर्ष अनुसन्धानले प्रस्तुत गरेको छ। अध्ययनले उपयुक्त नीतिगत व्यवस्था, वित्तीय साक्षरताको विस्तार, ग्रामीणमैत्री सेवा विकास तथा संस्थागत समन्वय सुदृढ गर्न सके लघुवित्तले दीर्घकालीन रूपमा सदस्य परिवारहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21566, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २५, शुक्रबार १८:५५भण्डारीको अनुसन्धान : लघुवित्तले कृषि र जीवनस्तरमा
समाचार२०८३ बैशाख २४, बिहीबार २१:३६जेसिज सप्ताह वैशाख १८ देखि २० गतेसम्म
समाचार२०८३ बैशाख २४, बिहीबार २१:३४विदेशमा लुकाइएको नेपाली कालो धन : साँच्चै फर्किन्छ त ?
समाचार२०८३ बैशाख १७, बिहीबार १८:४९प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना





