सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

किमाथाङ्का (सङ्खुवासभा)- सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’ र स्तरोन्नति गरिएको हो ।
खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण (कोशी) सडक योजनालाई हस्तान्तरण गरिएको हो । सेनाले जिम्मेवारी पाएको १० दशमलव ८१ किलोमिटर सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबहादुर सिंहले बताउनुभयो ।
सडक निर्माण सुरु भएको करिब पाँच वर्षपछि सेनाले उक्त सडकखण्ड सम्पन्न गरेर हस्तान्तरण गरेको आयोजना प्रमुख सिंहले बताउनुभयो । सडक हस्तान्तरण कार्यक्रममा रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोख्रेल र प्रेमप्रसाद न्यौपाने सडक उत्तर दक्षिण कोशी सडक कार्यालयका प्रमुख रामबहादुर गुरुङसहितको उपस्थिति रहेको थियो ।
सेनाले २०७७ फागुन २४ गते च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सुरु गरेको थियो । सेनाको विकास निर्माण निर्देशनालयअन्तर्गत निर्माण सम्पन्न गरिएको यो सडक अब स्थानीय नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भएको छ ।
उत्तर–दक्षिण (कोशी) सडक योजनाका प्रमुख गुरुडले कठिन भूगोल, विकट वातावरण र प्राविधिक चुनौतीबीच सेनाले जिम्मेवारी सफलतापूर्वक पूरा गरेको बताउनुभयो । सेनाले सडक निर्माण तोकिएको समयमै गुणस्तरयुक्त ढङ्गबाट जिम्मेवारी पूरा गरेको हो ।
खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये १० दशमलव ८१ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएकाले २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो ।
किमाथाङ्का–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापार भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडक सञ्चालन भएसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ । खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २९, मंगलवार ०८:११सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण
खेलकुद२०८३ बैशाख २९, मंगलवार ०७:३५आज नेपाल र स्कटल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ बैशाख २८, सोमबार २१:२५नेत्रावतीमा साइवर सुरक्षा तथा मनोपरामर्श तालिम सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २८, सोमबार २१:१९चलचित्र ‘मितज्यू’ को ट्रेलर सार्वजनिक,दयाहाङ,सौगात र टेरियाको नोकझोक







