हाजिर हुन अस्पताल पुगेका कर्मचारीलाई लम्कीचुहाकी मेयरले नगरप्रहरी लगाएर धपाइन्

काठमाडौं, वैशाख २९ । सुदूरपश्चिम प्रदेश सरकारले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि खटाएका कर्मचारीलाई नगर प्रमुख सुशिला शाहीले नगर प्रहरी लगाएर कार्यालयबाटै बाहिर निकालेकी छन् । प्रदेश सरकारले खटाएका कर्मचारीहरूले सोमबार कार्यालय प्रवेश गर्न खोज्दा विभिन्न तवरले कर्मचारीहरुको अपमान गर्दै कार्यालयबाट बाहिर लखेटेकी हुन्।
आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव, छैटौँ तहका लेखा अधिकृत गणेश विष्ट तथा नासु लक्ष्मी श्रेष्ठलाई कामकाजका लागि खटाएको थियो। वैशाख १५ गतेको सामाजिक विकास मन्त्रालय (प्रदेश सचिवस्तर) को निर्णयअनुसार डा. यादवलाई तथा आर्थिक मामिला मन्त्रालयको निर्णयअनुसार विष्टलाई अस्पतालमा खटाइएको हो।
तर, प्रदेश सरकारले खटाएका कर्मचारीहरू हाजिर हुन अस्पताल पुगेलगत्तै नगर प्रमुख सुशीला शाहीले नगर प्रहरी परिचालन गरी कार्यालय प्रवेशमै अवरोध गरेको पीडित कर्मचारीहरूले बताएका छन्। उनीहरूका अनुसार लेखा अधिकृत गणेश विष्ट र नासु लक्ष्मी श्रेष्ठलाई कार्यालय परिसरबाटै बाहिर पुर्याइएको थियो।
पीडित कर्मचारीहरूले नगर प्रमुख शाहीले “प्रदेश सरकारको यहाँ कुनै अधिकार छैन” भन्ने अभिव्यक्ति दिँदै आफूहरूलाई अपमानजनक व्यवहार गरिएको आरोप लगाएका छन्। उनीहरूले नगर प्रहरी परिचालन गरेर कार्यालयबाट बाहिर निकालिएको घटनालाई “गुण्डाशैली” को संज्ञा दिएका छन्। निमित्त मेडिकल सुपरिटेन्डेन्टमा खटाइएका डा. कमलेश प्रसाद यादव भने हालसम्म कार्यालयमा हाजिर हुन पुगेका छैनन्।
यसअघि वैशाख १४ गते सर्वोच्च अदालतले लम्कीचुहा अस्पताल विवाद सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। नगरपालिकाले चैत्र २४ गते अस्पताल सञ्चालनसम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गर्दै अन्तरिम आदेश माग गरेको थियो।
सर्वोच्चको उक्त निर्णयसँगै प्रादेशिक अस्पताल सञ्चालनको बाटो खुलेको मानिएको थियो। प्रदेश सरकारले चालु आर्थिक वर्षमा अस्पताल सञ्चालनका लागि साढे चार करोड रुपैयाँ विनियोजन गरिसकेको छ भने अस्पतालका लागि १४६ जनाको दरबन्दीसमेत स्वीकृत गरेको छ।
यसअघि अस्पतालको ब्यानर अनावरण कार्यक्रमकै दिन नगर प्रमुख शाहीले अस्पतालको मूल गेटमा दमकल, एम्बुलेन्स लगायतका सवारीसाधन तेर्स्याएर कार्यक्रम अवरुद्ध गरेकी थिइन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ बैशाख ३१, बिहीबार १०:२२फाइभजीः ‘डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ३१, बिहीबार १०:०९जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ३०, बुधबार २१:२६‘मन विनाको धन २’मा महेश त्रिपाठी अनुबन्ध
समाचार२०८३ बैशाख ३०, बुधबार १९:०९रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गतेदखि चितवनमा हुने









