धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

धौलागिरि आइसफल पदमार्ग प्रवर्द्धन गरिँदै

म्याग्दी-  सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा युवा सक्रिय भएका छन् । रघुगङ्गा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित धौलागिरि आइसफल पदमार्गअन्तर्गत धौलागिरि हिमालको आधार शिविर क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा वडा नम्बर ७ चिमखोलाको मण्डली युवा क्लबले सक्रियता देखाएको हो ।

क्लबले आधार शिविरमा सूचनामूलक बोर्डसहित दृश्यावलोकन केन्द्र स्थापना गरेको छ । क्लब अध्यक्ष प्रवीन बुढाको नेतृत्वमा चिमखोलादेखि छरी–सुंगरथला हुँदै आधार शिविर पुगेका युवाको टोलीले समुद्री सतहदेखि चार हजार पचास मिटर उचाइमा सूचनासहितको स्वागत बोर्ड स्थापना गरेका हुन् । क्लब अध्यक्ष बुढा, उचिव सन्दीप तिलिजा, सहकोषाध्यक्ष अनोज गर्बुजा, पर्यटन व्यवसायी कुशल पाइजा, क्लबका सदस्य एमन पुन, विशेष बुढा, थमन गर्बुजा, निसान गर्बुजा र ओविन्द्र गर्बुजाको टोलीले आधार शिविरको साथै कालीबराह ताल र सेतीनी छहरामा समेत दृष्यावलोकन केन्द्र स्थापना गरेका छन् । आइसफल पदमार्गअन्तर्गत पर्ने कालीबराह ताल समुद्री सतहदेखि चार हजार तीन सय मिटर उचाइमा अवस्थित रहेको छ ।

ताल परिसरमा रहेको कालीबराह थानमा स्थानीयले पूजापाठसमेत गर्ने चलन रहेको छ । क्लबले यसअघि चिमखोलामा स्वागत बोर्ड स्थापना गर्नुका साथै सोवाङधुरी र पानी डाक्ने डाँडामा दृष्यावलोकन केन्द्र (भ्यू पोइन्ट) स्थापना गरेको अध्यक्ष बुढाले बताउनुभयो । “आइसफल पदमार्गका मुख्य–मुख्य पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि हामीले पहल थालेका हौँ, क्लब आफँैले यसको नेतृत्व गरिरहेको छ भने देश तथा विदेशमा रहेका चिमखोलावासीले हाम्रो प्रयासमा साथ दिनुभएको छ”, अध्यक्ष बुढाले भन्नुभयो ।

उहाँका अनुसार, पर्यटनको अथाह सम्भावना भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको धौलागिरि आइसफल पदमार्गलाई चिनाउन क्लबले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गरेको हो । टान, तत्कालीन जिल्ला विकास समिति म्याग्दीलगायतका विभिन्न निकायको अगुवाइमा म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी विसं २०६८ मा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरि आइसफल पदमार्गको पहिलोपटक अध्ययन गरिएको थियो ।

यो पनि पढ्नुहोस् :  किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न

पदमार्ग पहिचान गरेर पदमार्गलगायतका पूर्वाधार बनाउन थालेको एक दशक बढी समय भए पनि अझै यो क्षेत्र ओझेलमा रहेको आइसफल पदमार्ग निर्माण अभियानका अगुवा ध्रुव पाइजाले बताउनुभयो । “धेरैजसो अप्ठेरो ठाउँमा बाटो बनायौँ, कतिपय ठाउँमा त हामीले बनाएको बाटो नै बाढीले पनि बगायो, तर फेरि पनि पदमार्ग बनाउने काम भइरहेको छ, यो पदमार्गमा पूर्वाधारसँगै प्रचारप्रसार र नक्साङ्कन गरेर योजनाबद्ध रुपमा अघि बढ्न जरुरी छ”, तिलिजाले भन्नुभयो ।

समुदायस्तरबाट धौलागिरि आइसफल र आधार शिविरको प्रचारप्रसारका लागि धेरै प्रयास भए पनि पदमार्गको नक्साङ्कनसहित सरकारी तवरबाट उचित पहलकदमी हुनुपर्ने उहाँको भनाइ छ । पर्यटन मन्त्रालयबाट विनियोजन भएको बजेटबाट अहिले पनि धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण भइरहेको छ । गत आर्थिक वर्षमा पर्यटन विभागले ठेक्का लगाएको रु एक करोड ५४ लाख बजेटबाट १८ किलोमिटर पदमार्ग बनाउने सम्झौताअनुसार, ससलधारा क्षेत्रबाट पदमार्ग बनाउने काम जारी रहेको छ ।

ठेक्का सम्झौता गर्दा भिरमा पदमार्ग बनाउने स्टिमेट नगरेको कारण उक्त बजेटबा पुछार ओढार र चेप्टेओढार क्षेत्रको भिरमा पदमार्ग बनाउन अझै बाँकी रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजाले बताउनुभयो । “यो बजेटबाट जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग अझै नबन्ने भएपछि हामीले पदेश र सङ्घीय सरकारसँग थप बजेटको माग गरेका छौँ, कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटकको ओहोरदोहोर बढाउन सकिन्छ की भन्ने अपेक्षा छ”, उहाँले भन्नुभयो । उहाँले कालीबराह खोलालगायतका ठाउँहरुमा झोलुङ्गे पुलको समेत अभाव रहेको बताउनुभयो ।

आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरीलगायतका दर्जनौँ आकर्षक पर्यटकीय गन्तव्य रहेका छन् । प्राकृतिक रुपमा सुन्दर र मनमोहक दृष्यले भरिपूर्ण धौलागिरि आइसफल पदमार्गको प्रवद्र्धनमा चिमखोलाका युवाले देखाएको सक्रियताले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पु¥याएको वडाध्यक्ष पाइजाले जानकारी दिनुभयो । पदमार्गअन्तर्गत सेतिनी छहरा नजिकैको फाँटमा स्थानीय युवा कुशल पाइजाले होटल सञ्चालनमा ल्याएपछि पर्यटकको लागि ठूलो सुविधा भएको छ ।

यो पनि पढ्नुहोस् :  नेत्रावतीमा कपाल काट्ने सिपमुलक तालिम सुरु

पदमार्गमा खुलेको यस होटलमा खाना, खाजा र बसोबाससमेत सुविधा भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । चिमखोलादेखि दुईदिनको पदयात्रामा धौलागिरि आधार शिविर पुग्न सकिने भए पनि बीचमा होटल नहुँदा यसअघि पर्यटक टेन्ट र ओढारमा बास बस्नुपर्ने बाध्यता रहेको थियो । धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको एक सय २२ किलोमिटर लामो आइसफल पदमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी पूर्वाधार निर्माणको लागि पहल गरिएको रघुगङ्गा गाउँपालिकाले जनाएको छ ।

अहिले कुइनेमङ्गलेको छरीदेखि चिमखोलाको ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण भइरहेको छ भने आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी रहेको छ ।

नेपाल सरकारले धौलागिरि आइसफल पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेकोे एक दशक पुगिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा समेत रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई छनोट गरेको थियो । तर पूर्वाधार र आबश्यक व्यवस्थापकीय अभाबले यो पदमार्ग औपचारिक रुपमा अझै सञ्चालनमा आउन सकेको छैन ।

म्याग्दी सदरमुकाम बेनीदेखि हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने परम्परागत पदमार्ग सडक सञ्जाल विस्तारसँगै विस्थापित भएपछि म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ वैकल्पिक पदमार्गको रुपमा धौलागिरि आइसफल पदमार्गलाई सम्भाव्यतता अध्ययन गरिएको थियो । कुमारी पदमार्गको रुपमा रहेको धौलागिरि आइसफल पदमार्गबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमाललाई नजीकबाट अवलोकन गर्न सकिन्छ ।

पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवा गायतका जङ्गली पशुपन्छी र तीनको बासस्थानलाई समेत प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । यस पदमार्गमा हिमालको हिउँ खसेको दृष्य (आइसफल) सँगै कालीबराह, लाटीबराह, निलीबराह, सेती बराह र पहेँलीबराह ताल थप आकर्षणको रुपमा रहेका छन् । यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुइनेमङ्गले, दोबालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।।

यो पनि पढ्नुहोस् :  बेरुजु फछ्यौटमा नीलकण्ठको उल्लेखनीय सफलता : धादिङमा पहिलो, देशभरमा नवौँ

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   3   =