किन दुख्छ कुर्कुच्चा ? - Asalkhabar
Logo

    किन दुख्छ कुर्कुच्चा ?

    किन दुख्छ कुर्कुच्चा ? सिटी पाेखरा डटकम २०८० बैशाख २५, सोमबार १४:२० मा प्रकाशित

    सिटी पोखरा डेक्स,

    हिंड्दा कुर्कुच्चा दुख्नु सामान्य नै हो तर यो दुखाइ निरन्तर हुँदा भने समस्या हुन्छ । कुर्कुच्चा दुख्नुका धेरै कारण हुन सक्छन् । त्यसमध्ये पनि हिंड्ने जमिन र जुत्ता–चप्पलको असर धेरै हुन्छ । कुर्कुच्चाको प्लान्टर फेरियामा समस्या देखिएमा कुर्कुच्चा दुख्ने गर्छ ।

    के हो प्लान्टर फेरिया ?

    कुर्कुच्चाको माथिल्लो भागमा मोटो छाला हुन्छ, त्यसभित्र बोसो हुन्छ अनि त्यसभित्र मासु र हड्डी हुन्छ । हड्डीभित्र एउटा मोटो झिल्ली हुन्छ, जसलाई प्लान्टर फेरिया भनिन्छ । प्लान्टर फेरिया खुट्टाको तल अर्थात् कुर्कुच्चामा बाक्लो तन्तु भएको खण्ड हो, जसले कुर्कुच्चाको हड्डीलाई खुट्टाको औंलासँग जोड्छ र खुट्टाको चाप (आर्क) बनाउँछ । यसले हाम्रो शरीरको तौललाई सहन मद्दत गर्छ ।

    किन दुख्छ ?

    खासगरी प्लान्टर फेरिया सुन्निएमा वा च्यातिएमा कुर्कुच्चा दुख्ने समस्या हुन्छ । त्यस्तै नांगो खुट्टा हिंड्दा, जुत्ताको सोल कडा हुँदा, दिनहुँ लामो समयसम्म बुट वा हिल लगाएर उभिरहँदा, मोटोपन (अचानक शरीरको तौल बढ्दा), खुट्टामा दबाब बढी हुँदा, लामो दूरीसम्म ओरालो झर्दा र खुट्टाको आकारप्रकारसँग मिल्दो जुत्ता नलगाउँदा कुर्कुच्चा दुख्न सक्छ । त्यस्तै हाई हिल लगाउने व्यक्तिले एक्कासि हिल नभएको जुत्ता लगाउन थाल्दा पनि समस्या हुन सक्छ ।

    ४० देखि ६० वर्षसम्मको उमेरमा प्लान्टर फेरिया झिल्ली पातलो हुँदै जाने भएकाले यो उमेर समूहमा कुर्कुच्चा दुख्ने जोखिम बढी हुन्छ । त्यस्तै मोटो खुट्टा र खाली खुट्टा हिंड्नेहरुमा कुर्कुच्चा दुख्ने समस्या बढी देखिन सक्छ ।

    थाइराइडको कारणले पनि कुर्कुच्चा दुख्न सक्छ । टार्सन टनेल अर्थात् पैतालामा जाने नसाको बाटो साँघुरो हुँदा पनि प्लान्टर फेसियाइटिससँग मिल्दोजुल्दो लक्षण देखिन्छ । यस्तो बेला पैताला झमझाउने र दुख्ने हुन्छ । यति मात्र नभई तनाव हुनु, हड्डी भाँच्चिनु, तन्त्रिकामा चोट लाग्नु जस्ता कारणबाट पनि यो समस्या निम्तिन सक्छ ।

    लक्षण

    बिहान उठेर केही पाइला हिंड्दैमा कुर्कुच्चामा तीव्र दुखाइको अनुभूति भए यो प्लान्टर फेसियाइटिसको लक्षण हुन सक्छ । तीव्र दुखाइले गर्दा खुट्टा भुइँमा राख्न समेत समस्या हुन्छ । कुर्कुच्चाको तल्लो खण्डमा दुख्नु, खुट्टा पोल्नु, सुन्निनु वा रातो हुनु, पैतालामा कडापन हुनु, पैतालाको पीडा कुर्कुच्चाभन्दा बाहिर निस्किरहेको जस्तो अनुभव हुनु यसका लक्षण हुन् ।

    कसरी नियन्त्रण गर्ने ?

    कुर्कुच्चा दुख्ने समस्या आउन नदिन सकभर खालीखुट्टा नहिंड्ने, जुत्ता किन्दा सोल अलि नरम र बाक्लो लचकदार भएको हेर्ने, मोटोपन भएमा नियन्त्रण गर्ने गर्नुपर्छ ।

    पुरानो जुत्ता नलगाउने : कुर्कुच्चा दुखाइबाट बच्न धेरै पुरानो जुत्ता लगाउनु हुँदैन । किनकि हेर्दा नयाँजस्तै देखिएपनि सोल कडा भइसक्ने भएकाले सकभर धेरै वर्ष पुरानो जुत्ता लगाउनु हुँदैन ।

    बरफले सेक्ने : कुर्कुच्चा दुखेको बेला तातो पानीले पैताला सेक्नु हुन्न, बरफले सेक्नुपर्छ । तातोले झन् बढी सुन्निन्छ । दैनिक हिंड्ने, दौडिने, उभिने (खेलकुद वा ट्राफिक) काम गर्नेहरुले बेलुका बरफले खुट्टामा गोलो गोलो गरी १० मिनेट मसाज गरे राम्रो हुन्छ । तर मधुमेह भएकाले बढी बरफको प्रयोग गर्नुहुँदैन ।

    स्ट्रेचिङ व्यायाम : व्यायाम गर्दा खुट्टा तन्काएर वा स्टे«चिङ गरेर मात्र सुरु गर्ने र व्यायाम गरिसकेपछि पनि खुट्टाका पैतालाहरु तन्काउने गर्नुपर्छ । कुर्कुच्चा दुख्ने समस्याबाट पीडितहरूका लागि पैताला तन्काउने (स्ट्रेचिङ) व्यायाम फाइदाजनक हुन्छ । तर यो व्यायाम विशेषज्ञको सल्लाह लिएर मात्रै गर्नुपर्छ । प्रारम्भिक सुन्निने कम नहुन्जेल खुट्टामा पर्ने दबाबलाई यो व्यायामले रोक्न सघाउँछ ।

    तेल मालिस राम्रो : सुत्ने बेला पैतालामा गरिने तेल मालिसले यो समस्याबाट उन्मुक्ति दिन्छ । हातले हल्का पैताला मिच्दै मालिस गर्दा कुर्कुच्चा दुख्ने समस्यामा राहत पुग्छ ।

    उपचार

    साधारण चेकजाँच गरेर थाहा पाउन सकिन्छ । हड्डीको समस्या छ कि भनेर हेर्न एक्सरे, भिडियो एक्सरे गर्न सकिन्छ ।

    कुर्कुच्चा दुखाइको समयमा उपचार गरेमा निको हुन्छ यो दीर्घरोग होइन । यसका लागि सबैभन्दा पहिले त लगाउने जुत्ता–चप्पलमा विशेष ख्याल गर्नुपर्छ । नयाँ जुत्ता नै लगाउनुपर्छ भन्ने होइन, पुरानो जुत्ता लगाउँदा पनि रबर र सिलिकनको सोल राख्न सकिन्छ ।

    दुखाइको उपचारका लागि फिजिरोथेरापिस्टको निगरानीमा थेरापी गर्नुपर्ने हुन्छ । कुर्कुच्चा दुखाइकै लागि भनेर विशेष औषधि त हुँदैन । तर सुन्निने, दुखाइ कम गर्ने ब्रुफिन, फ्लेक्जन, निम्सजस्ता औषधि प्रयोग गर्न सकिन्छ । यी औषधिले पनि दुखाइ कम नभएमा भने सुई लगाउनुपर्ने हुन्छ ।

    पीआरपी (प्लेटलेट रिच प्लाज्मा) विधिबाट पनि दुखाइ कम गर्न सकिन्छ । पीआरपी बिरामीको आफ्नै रगतबाट औषधि बनाउने एउटा विधि हो । यी सबै उपाय अपनाउँदा पनि निको नभएमा भने शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ ।

    (डा. पाण्डे वरिष्ठ हार्डजोर्नी सर्जन हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

    सिटी पाेखरा डटकम

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु