अठार स्वास्थ्य संस्था औषधिविहीन

असार १० गतेभित्र गर्नुपर्ने नगरपालिकाको सभा असोज पहिलो सातासम्म पनि हुनसकेको छैन । सभाबाट बजेट पारित नहुँदा नगरभित्र रहेका १४ वटै वडाका स्वास्थ्य संस्थामा औषधि खरिद गर्न नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार नगरभित्र रहेका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र गरी १८ स्वास्थ्य संस्था औषधिविहीन बनेका छन् ।
ती स्वास्थ्य संस्थामा उपचारका लागि जाने बिरामीले औषधि नपाएर रित्तै हात फर्कनुपरेको छ । सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क पाइने औषधि पनि सेवाग्राहीले निजी क्लिनिकमा पुगेर महँगो मूल्यमा खरिद गर्ने गरेको कुश्मा नगरपालिका–१२ ठूली पोखरीका अहेब पठी धामीले बताए ।
स्वास्थ्य संस्थाबाट २८ किसिमका औषधि निःशुल्क पाउने व्यवस्था सरकारले गरेको शाखा प्रमुख शर्माले बताए । उनका अनुसार गत आर्थिक वर्षमा खरिद गरेको औषधि सकिएको छ । उनले सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्य औजार नभएको गुनासो आएपनि पठाउन नसकिएको बताए ।
“नगरसभा नभएका कारण स्वास्थ्य मन्त्रालयले अनुदानमा पठाएको बजेटबाट औषधि खरिद गर्न पाइएको छैन । नगरसभा भएर पालिकाले दररेट स्वीकृति दिएपछि मात्रै खरिद प्रक्रिया अगाडि बढाउने हो”, शर्माले भने, “अहिले वर्षाको समय छ । गाउँमा भाइरल ज्वरो, आँखा पाक्नेलगायत रोग फैलिँदा औषधि दिन सकिएको छैन ।”
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार नगरसभा अवरुद्ध हुँदा सुरक्षित मातृत्व तथा सुत्केरी, स्वास्थ्य शिक्षा, महामारीविरुद्धको कार्यक्रम, महिला स्वास्थ्य स्वयमंसेविकालगायत २० प्रकारका महत्वपूर्ण स्वास्थ्य कार्यक्रम ठप्प बनेका छन् ।
स्वास्थ्य क्षेत्रमा केन्द्रबाट आउनुपर्ने अनुदान रकम तलबभत्ता बापतको चार करोड ५० लाख र स्वास्थ्य कार्यक्रमबापतको तीन करोड रकम आइसकेको उनले जानकारी दिए । रकम आइसके पनि नगरसभा हुन नसक्दा कुनै काम गर्न नसकिएको उनको भनाई थियो ।
नगर स्वास्थ्य शाखाका अनुसार जिल्ला अस्पतालबाहेक चार स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइन्छ । ठूली पोखरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख भीमकुमारी शर्माले सुत्केरीले पाउनुपर्ने रकम आफूले खल्लीबाट दिने गरेको बताए ।
आर्थर स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रकान्त गौतमले ज्वरो, रुघाखोकीका कारण बिरामीको चाप बढ्दै गएको बताउँदै औषधि अभाव हुनाले बिरामीलाई निःशुल्क दिइने औषधि पनि दिन नसकिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्य चौकीमा सामान्य रोगको औषधिसमेत छैन ।
स्वास्थ्य क्षेत्र मात्र नभइ कृषि, शिक्षा, महिला तथा बालबालिकालगायत अन्य विकास निर्माणका कामसमेत प्रभावित बनेको वडाध्यक्ष तेजप्रसाद शर्माले बताए । सुत्केरीले यातायात खर्चबापत पाउनुपर्ने दुई हजार पछि नगरपालिकाबाट लिने गरी खल्तीबाट भुक्तानी गरिरहेको उनले जानकारी दिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:३८आज वनस्पति दिवसः हरित अर्थतन्त्रको विकासमा जोड
समाचार२०८२ चैत्र २९, आईतवार ०६:३७अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
समाचार२०८२ चैत्र २८, शनिबार १६:१०जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २८, शनिबार १३:३३निवर्तमान मन्त्री साह पत्नी नियुक्ति प्रकरण-‘जनस्वास्थ्य प्रशासक र बोर्डका निर्देशकलाई सोध्यो स्पष्टीकरण’







