काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।
कुमारी इन्द्रजात्रा पर्व, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, दीर्घायु, समृद्धि र सु–स्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रा चाडपर्व, उत्सव, महोत्सव आदिले मुलुकमा शान्ति र प्रगति एवं पारिवारिक सुख, दीर्घायु तथा सु–स्वास्थ्यको कामना गर्नु मूल मर्म, ध्येय र सकारात्मक सन्देश बोकेका छन् ।”
विविधतामा एकताको सन्देश सञ्चार गर्ने धार्मिक जात्रा र पर्व भूगोल, क्षेत्र र समुदायअनुसार मनाउने चलन, परम्परा, विधि–विधान र अनुष्ठान फरक–फरक भए पनि सबैको सारतत्व एवं उद्देश्य समाज र देशमा धार्मिक सहिष्णुता, परस्पर विश्वास, सहयोग, मित्रवत्, भाइचारा, मेलमिलाप, आदर, सम्मान र सद्भाव कायम गर्नुपर्ने उहाँको भनाइ छ ।
कुमारी इन्द्रजात्रा नामले प्रसिद्ध यो पर्वमा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजा–अर्चना गर्ने परम्परा र संस्कृति परापूर्वकालदेखि रहिआएको छ ।
इन्द्रजात्राका अवसरमा ठड्याउने लिङ्गो (ध्वजा) र विश्वमै अनौठो चलन जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो । नेवाः समुदायले येँयाः भनेर पनि मनाउने इन्द्रजात्रा काठमाडौँ उपत्यकालगायत नेपालको विभिन्न भूभागमा धुमधामका साथ मनाउने प्रचलन छ ।
यसमा कुमारी, भैरव र गणेशको रथयात्रा पनि गर्ने परम्परा छ । यस पर्वमा विभिन्न मौलिक नाच र देवी–देवताको प्रदर्शन गर्नुले सांस्कृतिक र धार्मिक परम्परालाई जीवन्त बनाउन सहयोग पुग्दछ ।
काठमाडौँ उपत्यकाका रैथाने समुदाय/जातजातिले आ–आफ्नो परम्परा, रीतिरिवाज र संस्कृतिअनुसार एकीकृत भई संयुक्त र सामूहिकरुपमा इन्द्रजात्रा मनाउनुले हाम्रो विविधतायुक्त संस्कृति र पहिचानलाई अक्षुण्ण राख्न मद्दत गर्दछ । तराई–मधेसतिर हरेक वर्षको भाद्रपद शुक्ल पक्ष चतुर्थीको दिन देवी लक्ष्मी र भगवान् विष्णुको विधि–विधानअनुसार पूजा–अर्चना गर्दै अनन्त चतुर्दशी (अनवत) बनाउने परम्परा छ ।
यसै दिन विष्णुको पूजा–उपासनापछि उहाँलाई रक्षा सूत्र बाँधेपछि श्रद्धालुले पनि पाखुरामा विशेष खालको अनन्त डोरो (धागो) बाँध्ने प्रचलन छ । यसले सुख, शान्ति, गृहक्लेशको अन्त्य, धन–धान्यमा वृद्धि र शुभलाभ हुने धार्मिक मान्यता रहिआएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
- समाचार२०८१ मंसिर १, शनिबार १८:५९बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न