Home समाचार आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

14
0

भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ ।

गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै सहरी जीवनको व्यस्तताको थकान मेटाउनका लागि यो ठाउँलाई रोज्ने गरेका छन् ।

गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो ।

अरुण डाँडालाई गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँका विकास भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यसले गाउँपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

“हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ”, उहाँले भन्नुभयो अरुण डाँडालाई बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा यसको विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागि परेका छौँ ।”

अरुण डाँडा क्षेत्रलाई पर्यटकीय क्षेत्रको विकासको लागि सडक विस्तारसँगै पैदलमार्ग तथा विश्रामस्थल निर्माण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यहाँबाट विभिन्न हिमशृङ्खलाको सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै पूजाआजा गर्नका लागि पर्यटक आउने उहाँको भनाइ छ ।

“अरुण डाँडाको छुटै धार्मिक महत्व छ”, उहाँले भन्नुभयो, “यो स्थान घुम्न आउने मानिसको लागि आनन्ददायक छ । मानिस आफ्नो भाकल पूरा गर्नको लागि पूजाआजा तथा दर्शनको लागि पनि आउने गरेका छन् ।”

अरुण डाँडाको विकासको लागि योजनाबद्ध रुपमा काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । यो ठाउँको थप प्रचारप्रसारको लागि विभिन्न समयमा गाउँपालिकाले मेला महोत्सवसमेत लगाउँदै आएको उहाँको भनाइ छ ।

“अरुण डाँडाको विकाससँगै यसको प्रचार-प्रसारमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “हामीले यहाँको आवश्यक विकासका लागि काम गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भइरहेको छ । यसलाई देश विदेशमा चिनाउन विभिन्न समयमा मेला महोत्सव पनि सञ्चालन गरिरहेका छौँ ।”

पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको समेत विस्तार भइरहेको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । मानिस प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि पनि अरुण डाँडा क्षेत्रमा आउने गरेको स्थानीयवासी लालबहादुर तामाङले बताउनुभयो ।

सदरमुकामबाट नजिकको दूरीमा पर्ने भएको अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । त्यस्तै भोजपुर–लेगुवा मध्य पहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता रहेको उहाँको भनाइ छ ।

“गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेपछि पर्यटकको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “यो ठाउँमा बिदाको समयमा पर्यटक धेरै आउँछन् । यो स्थान धेरै पर्यटकको रोजाइमा पर्ने स्थल बनेको छ ।”

वडा नं १ श्यामशिलामा पर्ने यो स्थानमा पर्यटकलाई लक्षित गरेर किवी खेतीकोसमेत विस्तार भइरहेको उहाँको भनाइ छ । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा लिइने गरिन्छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleस्थानीय सरकारहरूसँग छलफल गरेर मात्र योजना निर्माण गर्न सरोकारवालाहरूसँग मेयर ढुंगानाको आग्रह
Next articleधार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार: प्रधानमन्त्री दाहाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here