Home समाचार इजरायलबाट २५३ विद्यार्थी लिएर नेपालतर्फ उड्यो विमान

इजरायलबाट २५३ विद्यार्थी लिएर नेपालतर्फ उड्यो विमान

0
इजरायलबाट २५३ विद्यार्थी लिएर नेपालतर्फ उड्यो विमान

काठमाडौँ- सरकारले इजरायलबाट नेपाली विद्यार्थीहरुलाई आज नेपाल ल्याउँदैछ ।

यसक्रममा इजरायलमा अध्ययन गरिरहेका २५३ जना नेपाली विद्यार्थी बोकेको जहाज काठमाडौँका लागि उडेको छ ।

जहाजमा विद्यार्थीहरुलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभएको थियो । इजरायलको तेल अभिभस्थित वेन गुरिओन विमानस्थलबाट जहाज उडेको परराष्ट्र मन्त्रालयले ट्वीट गरेर जानकारी दिएको छ ।

MOFA

आज राति जहाज काठमाडौं आइपुग्नेछ ।

विद्यार्थी लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउद हिजो (बुधवार) राति इजरायल जानुभएको थियो ।

शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।

एक जना नेपालीको अवस्था अझै अज्ञात छ ।

इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ ।

हालसम्म तीन सय ५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन् ।

विवरण दिनेमध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।

इजरायलमा हाल दुई सय ६५ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको र करिब चार हजार पाँच सय नेपाली अन्य विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको मन्त्रालयको तथ्याङ्क छ । इजरायलमा हाल अध्ययन गरिरहेका दुई सय ६५ जना नेपाली विद्यार्थी इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन् ।

यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

यीमध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना नेपाली दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए । इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो ।

हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो । परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ ।

इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने गरिने छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here