काठमाडौँ। कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो शिव’ बोलको गीतमा सिनेमाका सम्पुर्ण मुख्य कलाकारलाई भावुक मुद्रामा देख्न सकिन्छ ।

सार्वजनिक मर्मस्पर्शी गीतमा किरण भुषालको संगीत र कृष्ण उदासीको शब्द रचना तथा शान्तिम कोइराला र र्‍यापर युनिक पोइटको स्वर सुन्न सकिन्छ । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्रले ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

चलचित्रमा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले सिनेमा नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *