Home समाचार नेपालबाट विश्वभर शान्ति र सद्‍भावको सन्देश प्रवाह गर्दै राष्ट्रसंघीय महासचिव गुटेरेस फिर्ता

नेपालबाट विश्वभर शान्ति र सद्‍भावको सन्देश प्रवाह गर्दै राष्ट्रसंघीय महासचिव गुटेरेस फिर्ता

3
0
नेपालबाट विश्वभर शान्ति र सद्‍भावको सन्देश प्रवाह गर्दै राष्ट्रसंघीय महासचिव गुटेरेस फिर्ता

काठमाडौं- जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै र शान्तिभूमि नेपालबाट विश्वशान्तिको अपिल गर्दै विश्व संस्था  फर्कनुभएको छ ।

एकातिर उहाँले जलवायु परिवर्तनमा भूमिका नभएपनि परिणाम चाँही भोग्नुपर्ने नेपालको समस्याको अन्तर्राष्ट्रियकरण गर्नुभयो भने अर्कोतिर बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेर विश्वभर शान्ति र सद्‍भावको सन्देश प्रवाह गर्नुभयो ।

अधिक मात्रामा हरित ग्यास उत्सर्जन गर्ने मुलुकहरूलाई लक्षित गर्दै भिडियो सन्देशमार्फत सगरमाथाबाट गुटेरेसले भन्नुभयो- विकासका नाममा उन्माद रोक । अनि प्रकृतिको वरदान पाएको पोखराबाट गुटेरेसको शङ्खघोष थियो- प्रकृतिविरुद्धको युद्ध रोक । यतिमात्र होइन विश्वशान्तिका लागि प्रतिवद्ध विश्व संस्थाका महासचिव गुटेरेसले शान्तिको मुहान पवित्रस्थल लुम्बिनीबाट विश्व समुदायलाई अपिल गर्दै भन्नुभयो- संसारभरका युद्ध अन्त्य गरौं, शान्तिको मार्गमा लागौं ।

यस अर्थमा महासचिव गुटेरेसको नेपाल भ्रमणले नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण त गर्‍यो नै सँगसँगै ज्ञानभूमी शान्तिभूमी नेपालको प्रतिष्ठा विश्वभर फैलायो । विश्व संस्था संयुक्त राष्ट्रसंघको नेतृत्वको भ्रमण र नेपाली भूमिबाट दिएको सन्देशले नेपालको पहिचान र समस्या उजागर मात्र गरेको छैन, आगामी दिनमा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको उपस्थिति गर्विलो र दर्बिलो हुने विश्वास गरिएको छ ।

गुटेरेसको नेपाल भ्रमण संक्रमणकालीन न्यायका लागि जति महत्त्वपूर्ण रह्यो, जलवायु परिवर्तनले मुलुकभित्र पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने अवसरका रूपमा पनि उत्तिकै सान्दर्भिक देखियो ।

खासगरी नेपालले भोग्दै आएको जलवायु परिवर्तनबाट सिर्जित समस्याप्रति गुटेरेसले गहिरो चिन्ता मात्र व्यक्त गर्नुभएन, आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी सङ्कटको आँधीमा फसेको नेपालजस्तै राष्ट्रलाई अत्यधिक अन्तर्राष्ट्रिय सहयोग गर्न विश्व समुदायलाई आग्रह पनि गर्नुभयो । उहाँले विगत ३० वर्षमा नेपालले एक तिहाइ हिउँ गुमाएको प्रसङ्गसमेत उल्लेख गर्दै यहाँका हिमनदी उच्चगतिमा पग्लिरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तनका कारक मुलुकहरूले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण र प्रभावित मुलुकहरूका लागि क्षतिपूर्ति प्रबन्धमा धेरै चासो नदिइरहेका बेला राष्ट्रसंघका महासचिवले विश्को सर्बोच्च शिखर सगरमाथाबाट प्रवाह गरेको सन्देश निकै महत्वपूर्ण छ ।

यो पनि पढ्नुहोस् :  मौद्रिक नीति तुलनात्मक रूपमा केही लचक छ : चेम्बर आफ कमर्स

जलवायु परिवर्तनमा भूमिका नभएको नेपालले भोगिरहेको असर विश्व संस्था संयुक्त राष्ट्रसंघबाटै अन्तर्राष्ट्रियकरण हुनु आफैंमा दीर्घकालीन महत्वको छ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन सुरु हुनु एक महिनाअघि नेपाल आएर राष्ट्रसंघका महासचिव गुटेरेसले दिएको विश्वव्यापी सन्देशलाई अर्थपूर्ण मानिएको छ ।

उहाँले कोप–२८ मा जलवायु परिवर्तनले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । संसदमा गुटेरेसको सम्बोधनसँगै अब नेपाल र नेपाल जस्ता हिमाली देशहरुले जलवायु परिवर्तनका कारण भोग्दै आएको समस्या र उठाउँदै आएको मुद्दा राष्ट्र संघको टेबुलमा पुगेको छ ।

राष्ट्रसंघका महासचिवले समेत अन्तर्राष्ट्रियकरण गरेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत बलियो ढंगले उठाउने अवसर अब नेपालसामू छ । अर्कोतर्फ लुम्बिनी गएर महासचिव गुटेरेसले शान्तिको मार्गमा लाग्न युद्धरत मुलुकलाई आग्रह गर्दै संसारभर भइरहेका युद्ध अन्त्यका लागि आह्वान गर्नुभयो ।

मायादेवी मन्दिर परिसरबाट सम्बोधन गर्दै बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र सयुंक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो भएको बताएर उहाँले लुम्बिनीको गरिमा र महिमाको सन्देश विश्वभर प्रवाह गर्नुभयो । भगवान गौतमबुद्ध जन्मिएको स्थान लुम्बिनीमा उभिएर विश्वलाई शान्तिको आग्रह गर्न पाउँदा खुशी र गौरवान्वित भएको भाव स्वयं महासचिव गुटेरेसको अनुहारमा प्रतिविम्वित भैरहेको थियो ।

नेपालको आफ्नै मौलिक किसिमको शान्ति प्रक्रियाले पनि गुटेरेसको भ्रमणमा चर्चा पाएको छ । उहाँले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । शान्ति प्रक्रिया पूरा होस् भन्ने संयुक्त राष्ट्र सङ्घको सन्देशले यो प्रकृया छिटो पूरा गर्न नेपालमाथि अन्तर्राष्ट्रिय चासो र दबाब पनि सिर्जना भएको छ ।

राष्ट्रसंघका महासचिवले नेपाललाई असाधारण देशको संज्ञा दिनुभएको छ । नेपालको प्रकृति, संस्कृति र आतिथ्यताको प्रवृत्तिले उत्साहित गुटेरेसले नेपाल विश्वको मित्र भएको भन्दै संसारभरका पर्यटकलाई नेपाल घुम्न आह्वान पनि गर्नुभयो । राष्ट्रसङ्घको नेतृत्वबाट १५ वर्षपछि भएको नेपाल भ्रमणले निकै महत्वपूर्ण अर्थ राखेको छ ।

यो पनि पढ्नुहोस् :  भारतले धान, चामल निर्यातमा कर लगाउँदा, आयात घट्यो

गुटेरेसको नेपाल भ्रमण नेपालका लागि एउटा अवसर मात्र होइन, नेपाल सरकारलाई पनि अझ बढी काम गर्न दबाब सिर्जना गरेको छ । नेपालको अन्तर्राष्ट्रिय मर्यादा र महत्व घट्यो भन्नेहरुलाई राष्ट्रसंघीय महासचिवको नेपाल भ्रमण र संसदमा गरेको सम्बोधनले जवाफ दिएको विश्लेषण पनि गरिएको छ ।

नेपालले उठाउँदै आएका विषय र मुद्दाहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने महासचिवको प्रतिवद्धताले नेपालको उपस्थिति अन्तर्राष्ट्रिय समुदायमा थप उजागर हुने विश्वास गरिएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleइजराइलद्वारा गाजास्थित शरणार्थी शिविरमा भीषण आक्रमण, हमासका बरिष्ठ कमाण्डरसहित ५० जनाको मृत्यु
Next article‘सिटी स्क्यान’ सेवा थालनी गर्दै मेथिनकोट अस्पताल