Home समाचार विद्युत् प्राधिकरण भरतपुरमा लाईन काट्ने अभियान तीव्र, दश दिनमा १ करोड ३७ लाख बाँकी वक्यौता संकलन

विद्युत् प्राधिकरण भरतपुरमा लाईन काट्ने अभियान तीव्र, दश दिनमा १ करोड ३७ लाख बाँकी वक्यौता संकलन

0
विद्युत् प्राधिकरण भरतपुरमा लाईन काट्ने अभियान तीव्र, दश दिनमा १ करोड ३७ लाख बाँकी वक्यौता संकलन

चितवन- दसैँपछिको दश दिनमा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र मात्रै पाँच महिना अवधिसम्म विद्युत् महसुल नबुझाउने एक हजार ७९ जना ग्राहकको लाइन काटेको छ ।

कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुल बक्यौता रहेका सेवाग्राहीको लाइन काटी ७ सय ६० जनाबाट एक करोड ३७ लाख रुपैयाँ बढी बाँकी बक्यौता रकम संकलन गरेको कार्यालयका प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो ।

६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत वक्यौता रकम असुली गरिएको प्राधिकरणले जनाएको छ । अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले वक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठको भनाइ छ ।

मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उहाँले बताउनुभयो । मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाईने नियम छ ।

लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने प्रमुख श्रेष्ठले बताउनुभयो । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने पनि प्रमुख श्रेष्ठले जानकारी गराउनुभयो ।

दसैँअघि पाँच महिनाभन्दा बढी अवधिसम्म महसुल नबुझाउने तीन हजार ४ सय बढी ग्राहक रहेकोमा लाइन काट्ने महाअभियान सुरु गरेको १० दिनमै ९८१ मा झरेको भरतपुर वितरण केन्द्रले जानकारी गराएको छ । लाइन काटिने डरले एक हजार ५०० बढी ग्राहकले आफैँ विद्युत महसुल बुझाएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here