कञ्चनपुर, २३ कात्तिक । सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका ५१ जनालाई पोषणयुक्त घ्यू र अण्डा वितरण गरिएको छ । सुत्केरी भएकालाई जनही एक हजार पाँच सय बराबरको घ्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हीरासिंह ढुङ्गालले जानकारी दिए । उनका अनुसार पोषणयुक्त आहार पाउनका लागि स्वास्थ्य चौकीमा नियमित गर्भचेक जाँच गराएको र सुरक्षितरुपमा सुत्केरी हुनका लागि स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट सेवा लिएको हुनुपर्ने छ ।
“सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार ल्याउन पोषणयुक्त आहार वितरण गर्दै आएका छौँ”, प्रमुख ढुङ्गालले भने, “स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी भएकालाई तीन वर्षदेखि निरन्तररुपमा पोषणयुक्त आहार वितरणको कार्य हुँदै आएको छ ।”
बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पोषणयुक्त आहारको प्रयोग गर्नुपर्दछ भन्ने जानकारी दिइने गरिएकाले नगरपालिकामा कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए ।
स्वास्थ्य चौकीले वितरण गर्दै आएको पोषणयुक्त आहारले आर्थिकरुपमा विपन्न परिवारका सुत्केरीको पोषणमा सुधार ल्याउन सघाउ पु¥याएको उनको भनाइ छ । तीन वर्षको अवधिमा स्वास्थ्य चौकीबाट एक सय ६० सुत्केरीलाई पोषणयुक्त आहार वितरण गरिएको छ । गर्भवती तथा सुत्केरीलाई पौष्टिक आहार खानका लागि प्रेरित गर्ने गरिएको छ ।
सुत्केरीलाई घ्यू, अण्डासँगै दुसा उमारेको गेँडागुडी, च्याउ, दुग्धजन्य पदार्थ, माछा मासु, हरियो सागपात, फलफूल, मसलाको प्रयोग गर्नका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले घरमै पुगेर सल्लाह सुझाव दिँदै आएका छन् ।
साँझ बिहानको खानाको जोहो मिलाउन नसक्ने विपन्न समुदायका सुत्केरीले पौष्टिक आहारको व्यवस्था गर्न नसक्ने अवस्था हुने भएकाले स्वास्थ्य चौकीबाटै पौष्टिक आहारका रुपमा घ्यू र अण्डा उपलब्ध गराउने व्यवस्था गरिएको नगर उपप्रमुख कल्पना पन्तले बताइन् । यसले सुत्केरी र शिशुको स्वास्थ्यमा सुधार भई कुपोषणको समस्या हटेर जाने विश्वास छ । रासस
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८१ पुष २, मंगलवार ०९:२३एक यात्रा संस्मरण, सविना श्रेष्ठ, रजिष्टर्ड नर्स
- समाचार२०८१ मंसिर १७, सोमबार १६:१६बाग्लुङ समाज पोखराद्वारा ४८ युनिट रगत संकलन
- कला, विचार/मनोरञ्जन२०८१ मंसिर १२, बुधबार १९:१९चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह
- समाचार२०८१ मंसिर २, आईतवार ०६:२६लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न