Home कला, विचार/मनोरञ्जन ‘दिमाग खराब’ को प्रिमियरमा पुगे रविदेखि बालेनसम्म,गरे सबैले खुलेर तारिफ

‘दिमाग खराब’ को प्रिमियरमा पुगे रविदेखि बालेनसम्म,गरे सबैले खुलेर तारिफ

0
‘दिमाग खराब’ को प्रिमियरमा पुगे रविदेखि बालेनसम्म,गरे सबैले खुलेर तारिफ

काठमाडौं,२४ कार्तिक । नेपाली हरुको दोस्रो ठूलो चाड तिहारको सम्मुख पारेर आज शुक्रबारबाट हलमा निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ ।

‘लुट’बाट निर्देशनमा वाहवाही कमाएका निश्चलले ६ वर्षपछि कमब्याक गरेको चलचित्र ‘दिमाग खराब’को रिलिजको पूर्वसन्ध्यामा चलचित्रको काठमाडौंमा भव्य प्रिमियर गरिएको छ । प्रिमियर सोमा उपसभामुख इन्दिरा रानामगरदेखि रास्वपाका सभापति रवि लामिछाने तथा काठमाडौं महानगरपालिका मेयर बालेन शाहसमेत पुगेका थिए ।

प्रिमियरमा रवि र बालेनका अतिरिक्त चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल, रास्वपाका सांसदहरु डोलप्रसाद अर्याल, सोविता गौतम, विन्दा कडायतका साथै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, क्रिकेटरद्धय सोमपाल कामी र कुशल भूर्तेलसमेत पुगेका थिए ।

प्रिमियरमा उपस्थित भएका अधिकांश राजनीतिज्ञदेखि कलाकारसम्मले चलचित्रको खुलेर प्रशंसा गरेका थिए । प्रिमियरमा प्रायःले चलचित्रले उठान गरेको कथावस्तुको प्रशंसामा शब्द खर्चिए । चलचित्र राम्रो बनेको अधिकांशको प्रतिक्रिया थियो ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले निश्चल बस्नेतले देशकै लागि चलचित्र बनाएको भन्दै प्रशंसा गरे । उनले भने, ‘अहिले देशमा चरम निराशा र जनतालाई पीर परेको एउटै कारण छ, भ्रष्टाचार । भ्रष्टाचारलाई निर्मुल पार्नुपर्छ र भ्रष्टचारीलाई सत्तामा बस्न दिनु हुन्न भन्ने मूल मन्त्र आगामी चुनावमा लागू होस् । यो चलचित्र निर्देशक र लेखकले देशकै लागि बनाउनुभएको हो । सबै दृष्टिकोणले राम्रो छ ।’

रास्वपाका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चलचित्र हेर्नैपर्ने बनेको दाबी गरे । ‘चलचित्र हेर्न लायक मात्र होइन, हेर्नैपर्ने छ । यसरी नै चलचित्र, संगीत, सर्ट चलचित्रबाट मुलुकको अवस्था चित्रण गरेर परिवर्तन ल्याउन सकिन्छ । कसैले हेर्न छुटाउन नहुने चलचित्र हो । र, कोही नछुटोस्,’ उनले भने । चलचित्रले उठाएको कथावस्तुका कारण आफू प्रचारमा हिँड्न पनि तयार रहेको उनले बताए ।

‘समाजको आवश्यकतालाई चलचित्रले सधैं प्रतिनिधित्व गरेको हुन्छ । बेला बखतमा यस्ता चलचित्रले समाजमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्छ । ‘बलिदान’कै कुरा गर्नुस् या अहिले यो चलचित्र,’ उनले अगाडि भने, ‘मैले अहिलेसम्म कुनै चलचित्रलाई हेर्नैपर्छ भनेको छैन । यो चलचित्र चाहिँ हेर्नैपर्छ भन्छु । सबैले हेर्नुपर्छ । यो चलचित्रको प्रचारका लागि मलाई बोलाउनु हुन्छ भने पनि जान तयार छु ।’

राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन रोहित पौडेलले चलचित्रले दिएको सन्देश मन परेको धारणा राखे । धेरैपछि नेपाली चलचित्र हेर्न पुगेका उनले भने ‘चलचित्र रमाइलो लाग्यो । राम्रो बनेको छ । सन्देश राम्रो दिएको छ । अभिनय पनि सबै कलाकारको एकदमै राम्रो छ । मलाई दयाहाङ राई र अर्पण थापा दाईको अभिनय मनपर्‍यो ।’ पौडेलले आफू दयाहाङ राईको ठूलो ‘फ्यान’ रहेको समेत बताए ।

क्रिकेटर कुशल भुर्तेललाई पनि चलचित्रले दिएको सन्देश मन परेको छ । अर्का क्रिकेटर सोमपाल कामीले चलचित्रमा निश्चल बस्नेतको इन्ट्री बबाल लागेको सुनाए । ‘मलाई निश्चल दाईको इन्ट्री बबाल लाग्यो । म ठूलो फ्यान हुँ । चलचित्रको कथा राम्रो छ । हामीजस्तो युवाले धेरै कुरा सिक्न पाउँछौं । जसरी हामी १० वर्षपछि विश्वकप पुथ्यौं, त्यसरी नै चलचित्रले पनि सफलता प्राप्त गरोस्,’ उनले भने ।

प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना मगरले चलचित्र समसामयिक विषयमा बनेको बताउँदै राम्रो सन्देश पनि दिएको बताइन् । अभिनेत्री प्रकृति श्रेष्ठले चलचित्र हेर्नुपर्ने बनेको र धेरैपछि राम्रो चलचित्र हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । त्यसैगरि, अर्की अभिनेत्री शिल्पा मास्केले चलचित्र राम्रो बनेको बताउँदै सन्देशमुलक पनि रहेको धारणा राखिन् । चलचित्रले ‘बोर’ हुन नदिने उनको दाबी छ ।

प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित देखिएकी अभिनेत्री स्वस्तिमा खड्का यसपटक आफू निश्चलका लागि ‘नर्भस’ रहेको बताइन् । ‘निश्चलले इमानदारिताका साथ कथा भनोस् भन्ने थियो । र, धमाका पनि होस् भन्ने छ । किनकि, ऊप्रति मानिसको विश्वास छ । म चलचित्र रिलिजको बेला धेरै तनाब नै लिन्नँ । तर, यसपटक म निश्चलका लागि एकदमै ‘नर्भस’ छु,’ उनले भनेकी छन् ।

निश्चलले भने आफूभित्र वर्षौंदेखि गुम्सिएको चीज र देखेकारभोगेका कुरालाई जोडेर कथा बनाएको बताए । उनले भने, ‘मैले एउटा इमानदार कथा भन्ने प्रयास गरेको हुँ । त्यो भन्दै गर्दा चलचित्रले मनोरञ्जन पनि दिनुपर्छ । मनोरञ्जन दिएर आफ्नो उकुसमुकुस पोख्न सकिन्छ भने प्रयास गर्छु भने चलचित्र बनाएको हुँ ।’ अबको जस्तो निर्देशनमा फर्किन धेरै समय नलगाउने पनि निश्चलको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here