कुष्ठरोग निवारण अभियानमा बजेट अभाव

कुष्ठरोग निवारण अभियानमा बजेट अभाव

राँझा (बाँके), १० पुस । जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो ।

उक्त कार्यालयका क्षय कुष्ठ स्रोतव्यक्ति रवीन्द्र साहले रोग निवारण अभियानका लागि बजेट नभए पनि स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि भने प्राविधिक सहयोग गर्दै आएको बताए । उनले अभियान सञ्चालन गर्नका लागि बजेट नभएकाले बिरामी खोजपडताललगायत गतिविधि अगाडि बढाउन नसकिएको उल्लेख गरे । जिल्ला स्वास्थ्य कार्यालय मात्रै नभएर स्थानीय तहमा समेत कुष्ठरोग निवारणका लागि बजेट छैन ।

जानकी गाउँपालिका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले विगतको तुलनमा रोगीको सङ्ख्या कम भए पनि रोग निवारणको लक्ष्य भेटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्राथमिकताका साथ लाग्न जरुरी भएको उल्लेख गरे ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले कुष्ठरोगको निवारण चुनौतीपूर्ण रहेको बताए । समाजमा अहिले पनि रोगीहरु लुकेर बसेको हुनसक्ने भएकाले खोजीका लागि शिविर सञ्चालनको आवश्यकता रहेको उनको भनाइ थियो ।

जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लामा कुष्ठरोग निवारणका लागि आवश्यक बजेट विनियोजन गर्न आफूले स्थानीय तहसँग पहल र सरोकारवाला निकायबीच थप सल्लाह गरिने बताए ।

जिल्लामा आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले कुष्ठरोगीको खोजपडताल र उपचार गर्दै आएको छ । गत आर्थिक वर्षमा एक सय २६ कुष्ठरोगीको पहिचान भएको अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले जानकारी दिए । उनका अनुसार पहिचान भएकामध्ये ५५ बाँकेका र २७ बर्दिया जिल्लाका रहेका छन् । अन्य बिरामी लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका छन् । नयाँ कुष्ठरोगीमा बालबालिका पनि परेका छन् ।

आफूकहाँ आएका बिरामीका साथै ठाउँठाउँमा शिविर सञ्चालन गरेर कुष्ठरोगीको खोजपडताल गर्दै आइएको अस्पतालका प्रमुख थारूले बताए । उक्त अस्पतालमा अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा एक सय ५७ जना कुष्ठरोगीको पहिचान भएको थियो । रासस

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   6   =