राष्ट्रपति रनिङ शिल्ड: ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’

इलाम- जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।
यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ । यहाँको १० पालिकामध्ये माई र देउमाई नगरपालिका सहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ । माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो ।
सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन् । रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उहाँले बताउनुभयो । उहाँले १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिनुभयो ।
ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो । उक्त प्रतियोगिताको समापनको अवसरमा यस वर्षको रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झण्डा हस्तान्तरण गरिएको थियो ।
यसपटक पनि आगाामी वर्षको रनिङ शिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबीच प्रतिष्पर्धा चलिरहेको अध्यक्ष बाँस्तोलाले बताउनुभयो । “उहाँहरू आ–आफ्नो पालिकामा गर्न उत्साहित हुनुहुन्छ”, उहाँले भन्नुभयो ।
गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा रु २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ । आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन् । अध्यक्ष बाँस्तोलाले भन्नुभयो, “टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ ।”
माई नगरपालिकाले चालु आर्थिक बर्षमा २२ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक बिद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो “राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन, यो राम्रो हो।” उहाँले सरकार परिवर्तन संगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुँने क्रमले खेल क्षेत्र ओझेल परेको समेत गुनासो गर्नुभयो । नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुने छ ।
जिल्ला खेलकुद बिकास समित इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखीय भुमीका खेलेको बताउनुभयो ।
माईजोगमाई गाउँपालिकाले खेलकुद विकासका लागि अध्यक्ष कप शीर्षकमा चालु आवमा रु १५ लाख विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरेअनुसार थप रकम उपलब्ध गराइने जानकारी दिनुभयो ।
सूर्योदय नगरपालिकाले चालु आवमा युवा तथा खेलकुद कार्यक्रम शीर्षकमा रु ८५ लाख विनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनुभयो । नगरको आन्तरिक उक्त स्रोतबाहेक प्रत्येक वडाले रकम खेलकुद क्षेत्रमा विनियोजन गरेको जानकारी दिनुभयो ।
यसपटकको आयोजक माङसेबुङ गाउँपालिकाले चालु आवमा खेलकुदका लागि रु २० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङले आयोजना गरे पनि सफल पार्ने दायित्व १० वटै पालिकाको भएको बताउनुभयो ।
“आर्थिकरूपमा सबै पालिकाले समान लागनी गर्नुपर्छ, अर्को वर्ष फेरि अर्को पालिकालाई हामीले पनि सहयोग गर्ने हो”, अध्यक्ष राईले भन्नुभयो । पालिकास्तरबाहेक वडागतरूपमा पनि खेल क्षेत्रका लागि रकम छुट्याएको छ । पालिकाले प्रतियोगितासँगै खेलमैदान निर्माणको कामसमेत गरिरहेका छन् ।
यसपटकको राष्ट्रपति रनिङ शिल्ड फागुन पहिलो साताहुँदै छ । प्रतियोगितामा छात्र÷छात्रा भलिबल, हाइजम्प, लङजम्प र मार्सलआर्टका सबै विधाका खेल हुनेछन् । पालिकास्तरबाट छनोट भई जिल्लास्तरमा र जिल्लास्तरमा छनोट भएका खेलाडीले प्रदेशस्तरीय खेलमा सहभागिता जनाउनेछन् ।
रनिङ शिल्डबाहेक इलामका ग्रामीण क्षेत्रमा विभिन्न प्रतियोगिता आयोजना हुने गरेका छन् । जिल्लामा विगत वर्षमा माईभ्याली गोल्डकप आयोजना हुँदै आएकामा यस वर्ष माईभ्याली गोल्डकप स्थगित गरिएको छ ।
इलाम गोल्डकप हुने भएपछि ठूलो टुँडिखेलमा यतिबेला बासको प्यारापिट निर्माण भइरहेको छ । स्थायी प्यारापिट अभावमा बासको प्यारापिट निर्माण गर्दा रु १२ लाख बढी रकम सकिएको आयोजक रेडहर्स फुटबल क्लबका सचिव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १०, आईतवार २०:१६इरानमा सैन्य आक्रमणको तयारी गर्दै अमेरिका
समाचार२०८२ फाल्गुन १०, आईतवार १७:३२प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
समाचार२०८२ फाल्गुन १०, आईतवार १६:१७नेप्से परिसूचक २७ अङ्कले घट्यो
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन १०, आईतवार १४:३२विराज र सुपुस्पा फिचर्ड ‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक






