बागलुङका एउटै पालिकामा एक सय ११ क्षयरोगी

गलकोट (बागलुङ), ७ माघ । बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ ।
स्वास्थ्य कार्यालयले जिल्लाको बडिगाड गाउँपालिकामा सो सङ्ख्यामा क्षयरोगी फेला परेपछि उनीहरुको उपचार गर्न थालिएको जनाएको छ । कार्यालयका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले क्षयरोग निर्मूल पार्ने अभियानमा क्षयरोगको सम्भावना रहेको बडिगाडमा स्वास्थ्य शिविर गर्दा सो सङ्ख्यामा क्षयरोग देखिएको जनाउँदै उनीहरुलाई स्वास्थ्य कार्यालयको सम्पर्कमा राखेर उपचार थालिएको बताए ।
“कार्यालयले क्षयरोग शुन्यमा पार्ने अभियानअन्तर्गत खोजपड्ताल गरिरहेको थियो, जसमध्ये बडिगाडमा क्षयरोगी भेटिएपछि उपचारतर्फ लागेका छौँ”, घिमिरेले भने, “दुई हप्ताअघि गरेको शिविरमा ९८ जना फेला परेपछि हालसम्म धेरै स्थानमा गरेको परीक्षण र प्राप्त रिपोर्टका आधारमा बडिगाडभित्रै एक सय ११ जना क्षयरोगी भेटिएका छन्, उनीहरुमध्ये २६ जनामा सार्ने प्रकारको क्षयरोग भेटिएको हो ।”
उनका अनुसार लामो समयदेखि बडिगाडमा क्षयरोगी बढी भएको अनुमान गर्दै शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य कार्यालयले गरिरहेको परीक्षणमा पनि यहाँ १८ जना क्षयरोगका बिरामी भेटिएका थिए । त्यसपछि बडिगाड गाउँपालिकाको पहल तथा जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाको प्राविधिक सहयोगमा गरिएको क्षयरोग शिविरमा बढी क्षयरोगी भेटिएका हुन् ।
बडिगाडमा धेरै क्षयरोगी पहिचान हुँदा अन्यलाई सर्ने डर कम हुँने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए । “रोगको पहिचानमा समस्या भएपछि भित्रभित्रै फैलिएको रहेछ, रोगको निदान गर्नुभन्दा पहिला पहिचान आवश्यकता थियो, गाउँपालिकाले क्षयरोगी खोज्न छाड्दैन, क्षयरोग पहिचानपछि उपचार हुन्छ”, अध्यक्ष थापा अधिकारीले भने, “यो डरलाग्दो अवस्थाबाट हामीले उन्मुक्ति पाउनै पर्छ, पहिचान भएका सबैलाई उपचारमा पालिकालेसमेत सहयोग गर्छ, उपचारपछि अन्यलाई रोग नसर्दा क्षयरोग न्यूनीकरणमा ठूलो सहयोग हुन्छ ।”
उनले पालिकामा यति धेरै क्षयरोगी भेटिनु तत्कालका लागि राम्रो नभए पनि उक्त रोग अरुलाई सर्न नदिन रोग पहिचान गर्र्नु सकारात्मक रहेको बताए । पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढ्दै गएपछि धौलागिरि अस्पतालमै क्षयरोग परीक्षण, उपचार र उपचारको प्रभावकारिता थाहा पाउने ‘एक्स्पट एक्सडिआर’ मेसिनसमेत जडान गरिएको छ । उक्त उपकरणले क्षयरोग पत्ता लगाउने र उपचारको प्रभावकारितासमेत पत्ता लगाउने छ ।
उक्त उपकरण नहुँदा दोस्रो चरणको क्षयरोग परीक्षण गर्न राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर जानुपर्ने हुन्थ्यो । मेसिन जडानपछि धौलागिरि अस्पतालमा शङ्कास्पद बिरामीको नियमित परीक्षण भइरहेको छ । बागलुङमा यसअघि दुई सय ३५ क्षयरोगीले नियमित औषधि खाइरहेकामा बडिगाडका १११ थपिँदा ३४६ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्ले देखाएको छ । क्षयरोगीको पहिचान गर्नका लागि रोग पत्ता लगाउने उपकरण बागलुङको पश्चिम क्षेत्र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत जडान गरिएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ फाल्गुन ११, आईतवार १५:३५पोखरामा हालसम्मकै ठूलो कोटिहोम श्री गण्डकी कोटिहोम महायज्ञ हुदै
कला, विचार/मनोरञ्जन२०८१ माघ २४, बिहीबार २०:४७सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न